मरिण डाइभर्सनको सुरुङ १ महिनामै खनियो १.२ किलाेमिटर, विश्व रेकर्डमा नाम लेखाउन पहल – Nepal Press

मरिण डाइभर्सनको सुरुङ १ महिनामै खनियो १.२ किलाेमिटर, विश्व रेकर्डमा नाम लेखाउन पहल

काठमाडौं । नेपालमा राष्ट्रिय गौरवका आयोजनाहरुको काम ढिलो भएकोमा सबैतिर विरोध हुने गरेको छ । तर, सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्ने काम तीब्र गतिमा अगाडि बढेको छ ।

एक महिनामै १ हजार २ सय मिटर सुरुङ मार्ग खनेकाले विश्व रेकर्ड राख्ने तयारी गरिएको छ । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेकाले रेकर्डको लागि पहल थालिएको हो ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जेठमा मात्रै १.२ किलोमिटर सुरुङ मार्ग खनेको र विश्व रेकर्डमा नाम लेखाउन पहल गरेको बताए ।

सो आयोजनाको सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । सो कम्पनीले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

उनले भने, ‘हाम्रो भौगोलिक अवस्थामा पनि १ महिनामा १.२ किलोमिटर सुरुङ खन्ने काम भएको विषयमा चर्चा भएको छ । हामीले पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेको विषयलाई विश्व रेकर्डमा राख्न सकिन्छ कि भनेर प्रयास गरेका छौं । भौगोलिक अवस्थाअनुसार यो काम धेरै राम्रो हो । अन्य सजिलो ठाउँमा यो भन्दा पनि छिटो सुरुङ खन्ने काम भएका होलान् । तर, हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा एक महिनामै १.२ किलोमिटर सुरुङ खन्ने काम भएको छैन । त्यसैले पनि हामीले विश्व रेकर्डमा राख्ने प्रयास गरेका हौं ।’

सुनकोशी मरिण डाइभर्सनको काम सरकारले आर्थिक वर्ष २०७४/७५ मा सुरु गर्ने भनेको थियो । तर, आर्थिक वर्ष २०७६/७७ बाट मात्रै निर्माण सुरु भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गरेका थिए ।

आयोजनाको सुरुङ मार्गको लम्बाइ १३.३ किलोमिटर छ । जसमा हालसम्म ८ किलोमिटर सुरुङ मार्ग खन्ने काम भएको छ । करिब १ वर्षमा सुरुङ मार्गको सम्पूर्ण काम सकिने बरालले बताए ।

आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर खनिएको छ । यो मेसिनले सुरुङ खन्दा सहज भएको छ ।

आयोजनाको प्रारम्भिक कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ । गत आर्थिक वर्षसम्ममा १३ प्रतिशत भौतिक र आर्थिक प्रगतिको लक्ष्य लिइएकोमा भौतिक २१.४ र आर्थिक १९.२ प्रतिशत प्रगति भएको छ ।

गत आवमा ५ अर्ब ४१ करोड खर्च भएको छ । काम सुरु भएबाट हालसम्म ८ अर्ब ८६ करोड खर्च भएको आयोजना प्रमुख बरालले जानकारी दिए ।

उनले भने, ‘अहिले बजेट अभाव भएको छ । हामीले मन्त्रालय र सम्बन्धित निकायसँग बजेट माग गरेका छौं । ४ वर्ष काम सम्पन्न गर्ने समय रहेको छ । बजेट अभाव भएन भने समयमै काम सकिन्छ ।’

सुरुङ मार्ग निर्माणसँगै विद्युत उत्पादनको काम भइरहेको छ । हेडवर्क्स निर्माणको काम अघि बढेको छ ।

बागमती सिंचाइ आयोजनाबाट सिंचाइ भइरहेको रौतहट र सर्लाहीको ४५ हजार ६ सय हेक्टर र बारा, रौतहट, धनुषा र सर्लाहीको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिंचाइ पुर्‍याउने आयोजनाको उद्देश्य छ । सो आयोजनाबाट ३१.०७ मेगावाट विद्युतसमेत उत्पादन गर्ने उद्देश्य लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *