उद्योग वाणिज्य संघको चुनावमा दलहरूको चासो, नेपालगन्जमा आयो यस्तो नतिजा – Nepal Press

उद्योग वाणिज्य संघको चुनावमा दलहरूको चासो, नेपालगन्जमा आयो यस्तो नतिजा

रूपन्देही । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका टंकबहादुर धामी फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।

उनले साझा प्रजातान्त्रिकका ललित रौनियारलाई फराकिलो मतान्तरले पराजित गर्दै अधिकांश पदमा प्यानल विजयी बनाएका छन् ।

धामीले मत २ हजार ४ सय ५६ मत ल्याए भने रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे । अध्यक्ष सहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भए ।

उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी ओली,वाणिज्यमा हरिलाल न्यौपाने,महिला उपाध्यक्षमा मन्दिरा पाण्डे,महासचिवमा भीम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा उक्त प्यानलका मख्खन धामी निर्वाचित भए ।

महासचिवमा झिनो मतान्तरले रानाभाट विजय भएका थिए भने अर्का प्रतिस्पर्धी टंक शर्मा पक्षले मत परिणामप्रति असहमति प्रकट गरेको थियो ।
सदस्य पदमा पनि समावेशी प्यानलमा धेरै सदस्य निर्वाचित भए । समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समूहका तीन जना विजयी भएका छन् ।

१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकीकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समूहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।

सदस्यहरू तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सर्वाधिक एक हजार नौ सय ८० मत प्राप्त गरेका छन् । एक हजार आठ सय ८८ मत सहित डम्बरबहादुर चन्द दोस्रो, एक हजार आठ सय २० मतसहित तेस्रो, शिवप्रसाद एक हजार आठ सय ५ मत सहित चौथो, एक हजार सात सय २२ मतसहित तोमबहादुर पाँचौँ स्थानमा छन् ।

यसै गरी एक हजार सात सय १ मतसहित सुदन केसी छैठौं, एक हजार छ सय ३ मतसहित टिकामणि सातौँ, एक हजार पाँच सय ९६ मत प्राप्त गरी बुद्धिबहादुर आठौँ, एक हजार पाँच सय ६५ मतका साथ युवराज ढकाल नवौँ र दसौँमा रहेका सन्तोषकुमार पौडेलले एक हजार पाँच सय ३१ मत प्राप्त गरेका छन् ।

एसोसिएटतर्फ कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्कीले १ सय ११ र प्रदीप गुप्ताले ८८ मत पाएका छन् ।

सम्बद्ध सदस्यमा किशन गुरुङ्ग विजयी भएका छन् । त्यस्तै अर्को सदस्यमा विनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए ।

बराबर हुने सदस्यहरूले आधा–आधा कार्यकाल सम्हाल्ने गरेको नजिर संघमा रहेको छ । वाणिज्य संघमा दलहरूको बढी चासो भएकाले पनि यहाँको चुनावी नतिजा धेरै चासोको बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर