छात्रवृत्तिमा लोभिएर विद्यार्थी नेताहरुलाई फर्म र रकम बुझाएका ६३ जना परीक्षार्थीले दिन पाएनन् जाँच – Nepal Press

छात्रवृत्तिमा लोभिएर विद्यार्थी नेताहरुलाई फर्म र रकम बुझाएका ६३ जना परीक्षार्थीले दिन पाएनन् जाँच

काठमाडौं । नेपाल कमर्स क्याम्पस मीनभवनमा बीबीएस दोस्रो वर्ष अध्ययनरत ६३ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विद्यार्थी नेताहरुको भर परेर दोस्रो वर्षको परीक्षा फर्म क्याम्पसमा नबुझाएर विद्यार्थी नेताहरुको जिम्मा लगाउँदा उनीहरुको भविष्य अन्योल बनेको हो । उनीहरु गएको साउन २९ गतेबाट सञ्चालन भइरहेको वार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

गएको सोमबारबाट सुरु भएको बीबीएस दोस्रो वर्षको परीक्षामा उनीहरुले जाँच दिन पाएका छैनन् । उनीहरुको दुई वटा विषय अनिवार्य अंग्रेजी र अर्थशास्त्रको परीक्षा भइसकेको छ । तर, विद्यार्थीहरु भने अहिले पनि विद्यार्थी नेताहरुलाई फोन लगाएर आफ्नो प्रवेशपत्र मागिरहेका छन् । विद्यार्थी नेताहरु भने न फोन उठाउँछन् न त प्रवेशपत्र नै विद्यार्थीको हातमा थमाउँछन् ।

झनै विद्यार्थीहरुलाई आश्वासन दिँदै भन्छन्, ‘यस वर्ष यस्तै भयो, अर्को वर्ष बाँकी ब्याक पेपर दिनु । इयर ग्याप हुँदैन ।’

विद्यार्थीहरु इयर ग्याप नहुने झिनो आशामा अहिले पनि विद्यार्थी नेताहरुको कुरा पत्याइरहेका छन् । तर, उनीहरुको दुई वटा विषयको परीक्षा छुटिसक्यो । अब अरु विषयको पनि परीक्षा दिन नपाउने पक्कापक्की छ । यस हिसाबले हेर्दा विद्यार्थीहरुले अर्को वर्ष पनि दोस्रो वर्ष नै अध्ययन गर्नुपर्ने अवस्था देखिन्छ ।

छात्रवृत्तिको लोभमा विद्यार्थी नेताहरुलाई बुझाएका थिए परीक्षा फर्म

गत जेठमा त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरुमा बीबीएस दोस्रो वर्षको अन्तिम परीक्षाका लागि फर्म खुलाएको थियो । जुन फर्म भरेमात्रै विद्यार्थीहरुले परीक्षा दिन पाउने थिए । तर, क्याम्पस प्रशासनले बुझ्नुपर्ने फर्म क्याम्पसको गेटमै बसेर विद्यार्थी संगठनका नेताहरुले बुझे । उनीहरुले विद्यार्थीहरुलाई पचास प्रतिशत, तीस प्रतिशत छात्रवृत्ति दिलाउने भन्दै क्याम्पसको गेटबाटै धमाधम परीक्षा फर्म बाँडे ।

काँडाघारीका निकेश कालिकोटे पनि परीक्षा फर्म खुलेपछि फर्म भर्न क्याम्पस प्रशासन गए । उनलाई विद्यार्थी नेता प्रकाश रावलले छात्रवृत्ति मिलाइदिने भनेर फर्म भर्न लगाएका थिए । यद्दपि आफूले पैसा भने नदिएको र अहिले आफ्नाे समस्या समाधान हुने क्रममा रहेकाे कालिकाेटेले नेपाल प्रेसलाई बताए ।

यसबारे रावललाई सम्पर्क गर्दा आफूहरुले नभएर क्याम्पस प्रशासनले विद्यार्थीको फर्म छुटाइदिएको दाबी गरे । उनले भने, ‘त्यो क्याम्पसले छुटाइदिएको हो । विद्यार्थीले नेताको हातमा पैसा दिन्छ भन्ने छैन । यदि त्यस्तो गरेको छ भने नेताहरुले कारबाही खान्छन् ।’

उनले आफूले पैसा नलिएको भन्दै आफ्नाे संगठनका कसैले पैसा लिएको भए कारबाही हुने बताए ।

विद्यार्थी सृजन खड्काले पनि रावललाईै नै फर्म र साढे छ हजार पैसा बुझाएका थिए । खड्कालाई रावलले पचास प्रतिशत छात्रावृत्ति दिने भनेर भनेका थिए । तर, छात्रावृत्तिको लोभमा रावललाई फर्म बुझाएका खड्का भन्छन्, ‘अहिले उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन । हाम्रो त परीक्षा नै सकिन लाग्यो । के गर्ने होला, केही सोच्न सकेको छुइनँ ।’

विद्यार्थी नेताको भरमा परेर परीक्षा दिनबाट वञ्चित ६३ जना विद्यार्थीमध्ये अर्का पीडित हुन् सरोज बजगाईं । उनले अखिल क्रान्तिकारीका नेता सागर गौतमलाई छात्रवृत्तिकै आशमा फर्म बुझाएका थिए । उनले सात हजार रुपैयाँ गौतमलाई दिए । बाँकी छात्रवृत्तिमा मिलाइदिने सहमति भएको थियो । तर, उनले न छात्रवृत्ति पाए न त परीक्षा नै दिन पाए ।

बजगाईं भन्छन्, ‘उनीहरुले झूटो आश्वासन दिएर स्कलरसिप मिलाइदिन्छु भनेर आफूलाई कलेज प्रशासनमा पुग्न नदिएर बाहिरैबाट पैसा लिए । यस्ता ठगी गर्ने नेताहरुलाई कारबाही हुनुपर्‍यो । नेपाल कमर्स क्याम्पसको प्रशासन पनि फितलो रहेछ । विद्यार्थी नेताहरुको खल्ती भरिने गरी सयौं फर्महरु बाँड्ने यो कस्तो खालको प्रशासन हो ? उनीहरुलाई बेलैमा कारबाही होस् ।’

बजगाईंले सात हजार दिएको एक हप्तापछि गौतमले छात्रवृत्ति सकिएको बताएका थिए । त्यसपछि उनले ‘म आफैं भर्छु, पैसा फिर्ता दिनुस्’ भन्दा गौतम एक महिना सम्पर्कविहीन भएको बजगाईंको आरोप छ ।

उनी भन्छन्, ‘एक महिनापछि उहाँले फर्म भरिदिएको भनेर क्याम्पसमा बोलाउनुभयो । मैले फर्म भरेको बिल माग्दा घरमा छ भन्नुभयो । तर, अहिले आएर उहाँले घात गर्नुभयो ।’

अर्की पीडित प्रजिता पराजुलीले पनि गौतमलाई नै फर्म बुझाएकी थिइन् ।

पराजुली भन्छिन्, ‘मैले फर्म भर्न दिएको नौ हजार फिर्ता पनि मागेको थिएँ । तर, फोन गर्दा बाहिर छु मात्रै भनिरहनुभयो । पछि फर्म भरेर क्याम्पसमा बुझाइसकेको बताउनुभयो । गएको सोमबार परीक्षा थियो । उहाँले आइतबार प्रवेशपत्र ल्याइदिन्छु भन्नुभयो । तर, कलेजको लिस्टमै मेरो नाम थिएन । पछि फेरि उहाँले कलेजले परीक्षा नियन्त्रकलाई सोधेको र टीयु गएर प्रवेशपत्र ल्याइदिने बताउनुभयो । तर, आइतबारको बेलुका भयो, फोन उठाउनुभएन । भोलि बिहान सात बजेबाट एक्जाम थियो । आइतबार राति १२ बजे फोन गरेर टीयुको लापरबाही भएको बताउनुभयो । ‘भोलि एक्जाम नहोला जस्तो छ, ब्याक चाहिँ दिनपर्ने भयो, इयर लस चाहिँ हुँदैन’ भन्नुभयो । तैपनि भोलि एक्जाम दिन जानु भन्नुभयो । एम्बिसन कलेज इक्जाम सेन्टर हो पनि भन्नुभयो । तर, सिम्बोल नम्बर नभई एक्जाम दिन जाने कुरा भएन ।’

यस्तै एलिना सिवाकोटीले विद्यार्थी नेता दीपेन्द्र खत्रीलाई ११ हजार र फर्म बुझाएकी थिइन् । विशाल नेगीले पनि खत्रीलाई नै बुझाएकी थिइन् । भक्तसागर भुसालले निश्चल न्यौपानेलाई रकम र फर्म बुझाएका थिए । उनले आधा छात्रवृत्ति पाउने गरी बुझाएका थिए । तर, छात्रवृत्ति त पाएनन् नै, परीक्षा दिन पनि पाएनन् ।

छात्रवृत्तिमा विद्यार्थी संगठनहरुले मिलेमतो

सरकारी क्याम्पसहरुमा निम्न आय भएका, दुर्गमदेखि महिला, दलित, आदिवासी जनजातिलगायतका कोटामा छात्रवृत्ति हुन्छ । उक्त छात्रवृत्ति क्याम्पस प्रशासनले विद्यार्थी छनोट गरेर दिनुपर्ने हो । तर, उक्त छात्रवृत्तिमा विद्यार्थी नेताहरुको हालिमुहाली हुने गरेको पाइएको छ ।

हरेक क्याम्पसमा संगठनको आकार हेरेर, संगठनको प्रभाव हेरेर छात्रवृत्ति विद्यार्थी संगठनको पोल्टामा पर्ने गरेको नेपाल कमर्स क्याम्पसकै एक विद्यार्थी बताउँछन् ।

उनी भन्छन्, ‘विद्यार्थी संगठनले भोटका लागि र आफ्नो प्रभाव विस्तारका लागि क्याम्पसले छुट्याएको छात्रवृत्ति आफ्ना आसेपासेहरुलाई बाँड्छन् । यसमा क्याम्पस प्रशासन पनि मौन हुने गरेको छ ।’

ती विद्यार्थीका अनुसार विद्यार्थी संगठनका नेताहरुले विद्यार्थीहरुलाई क्याम्पस प्रशासनमा छिर्न नदिई बाहिरैबाट फर्म बाँड्छन् र छात्रवृत्तिको आश्वासन दिन्छन् । त्यही आश्वासनमा पर्दा यसपटक ६३ जना विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

विद्यार्थी नेताहरुले उक्त फर्म आफैंले बोकेर सकेसम्म विद्यार्थीबाट असुलिएको रकम पनि खाने तरिकाले काम गर्ने गरेको र यसपटक सबै चाँजोपाँजो नमिल्दा ६३ जना विद्यार्थीहरुले परीक्षा दिन नपाएको ती विद्यार्थीले बताए ।

उनले भने, ‘मैले त केसम्म सुनेको छु भने कतिपय नेताहरुले त नक्कली फर्म पनि विद्यार्थीलाई बाँड्छन् रे ! तर, उनीहरुलाई कारबाही कसले गर्ने ?’

नेविसंघ, अखिल, अखिल क्रान्तिकारीलगायत ठूला विद्यार्थी संगठनहरुको हरेक क्याम्पसहरुमा हालिमुहाली हुने गरेको ती विद्यार्थीको आरोप छ ।

हामीबाट गल्ती भएकै हो : गौतम

पहिला पनि यस्तो भइरहेको थियो । मैले उहाँहरुको फोन नउठाएको होइन । मैले पहिलोपटक यसरी विद्यार्थी साथीहरुको काम गरिदिएको थिएँ । म त उहाँहरुको काम हुन्छ भन्ने आशमै थिएँ । हामीले पहल पनि गरिरहेका थियौं ।

हामी टीयुमा पनि पुगेका थियौं । विद्यार्थी साथीहरुले थर्ड इयर पढ्न पाउनुहुन्छ । इयर चाहिँ लस भएको छैन । ब्याक चाहिँ दिनुपर्छ । तर, हामीबाट गलत भएकै हो । हामीलाई पनि यस्तो हुँदा एकदमै दुःख लागेको छ ।

हामीले फर्म भरिदिएको हो । थोरै अमाउन्टमा थर्ड इयरमा जाँदा अघिल्ला ब्याचहरुको भइरहेकै थियो । तर, यसपालि भएन । हामीले क्यास लिएर जम्मासमेत गरिदिएका थियौं । गल्ती भएकै हो । गल्ती त हाम्रै हो । उहाँहरुले हामीलाई विश्वास गर्नुभएको थियो ।’

यसैबीच अनेरास्ववियुले रावललाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।

आर्थिक अनियमितामा जोडिएका उजुरीहरु सप्रमाण संगठनको केन्द्रीय कार्यालयमा आएकाले असार २५ गते सम्पन्न सचिवालय बैठकले उनलाई जिम्मेवारीबाट हटाएको अध्यक्ष समिक बडालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *