गण्डकी प्रदेशमै पहिलोपटक गरियो ओपन हार्ट सर्जरी – Nepal Press

गण्डकी प्रदेशमै पहिलोपटक गरियो ओपन हार्ट सर्जरी

पोखरा । वरिष्ठ मुटुरोग विशेषज्ञ उप-प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा गण्डकी प्रदेशको पोखरामा पहिलोपटक ओपन हार्ट सर्जरी सफल भएको छ । पोखरा नागढुंगाको चरक मेमोरियल अस्पतालमा गत शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २०, भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हार्ट सर्जरी गरिएको अस्पतालले जनाएको छ ।

यो गण्डकी प्रदेशमै पहिलोपटक गरिएको सर्जरी हो । यसअघिसम्म सर्जरीका लागि काठमाडौं, चितवनमा जानुपर्ने बाध्यता थियो ।

२६ साउनमा सर्जरी गरिएका बिरामी गौतम आइतबार डिस्चार्जसमेत हुँदैछन् । डाक्टरहरुका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो ।

हात र घाँटीको नसा मुटुमा हालेर सर्जरी गरिएको डा. भट्टराईले जानकारी दिए । पोखरामै ओपन हार्ट सर्जरी सेवा सुरु हुँदा सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा भट्टराईले बताए ।

‘अन्य धेरै कुरामा पोखरा अगाडि भए पनि मेडिकल साइन्समा हामी पछाडि नै छौं । अर्थात चिकित्सातर्फ एकदमै कम विकास भएको छ । मुटुको ओपन हार्ट सर्जरी काठमाडौं, चितवनमा सुरु हुँदा पोखरामा हुन सकेको थिएन । अब पोखरामा पनि सुरु भएको छ । यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने ।

पहिलो सर्जरी भएकाले निशुल्क गरिएको अस्पतालका महानिर्देशक कपिल पोखरेलले जानकारी दिए । ओपन हार्ट सर्जरीका लागि अवस्था गरी खर्च लाग्ने चिकित्सकहरु बताउँछन् ।

सर्जरीका लागि सामान्यतया ५/६ लाख लाग्छ । यो अस्पतालमा पहिलो सर्जरी भएकाले यसको सबै खर्च अस्पतालले बेहोरेको जानकारी पोखरेलले दिए ।

डा भट्टराईले यो सेवालाई तदारुकताका साथ अगाडि बढाउनुपर्ने सुनाए । ‘पोखरा हामीले ओपन हार्ट सर्जरीको सुरुआत गरेका छौं । हामीले यसको जग बसालेका छौं । तदारुकताका साथ यसलाई अगाडि बढाउनुपर्छ’, उनले भने, ‘पोखराका लागि यो कोसेढुंगा भएको छ । नेपालका मुख्य सहरहरुमा लैजाऊँ भन्ने हिसाबले पोखरामा सुरु गरिएको हो ।’

सर्जरी सेवाको सेटअपका लागि अस्पतालले ३ करोड खर्च गरेको अस्पतालका एमडी कपिल पोखरेलले जानकारी दिए । ‘पहिलोपटक सर्जरीका लागि धेरै सामानहरु ल्याउनुप¥यो । हामीले ३ करोड खर्च गरेर सेटअप गरेका छौं’, उनले भने, ‘सामानहरु बाहिरबाट ल्याउनुपर्दा महँगो हुन पुग्यो ।’

ओपन हार्ट सर्जरीका लागि १ महिनाअघि सरकारबाट स्वीकृत लिएको पोखरेलले बताए । अस्पताल हार्ट ओपन सर्जरीका लागि तयार रहेको एमडि पोखरेलले सुनाए । उनले भने, ‘हामी सर्जरीका लागि तयार भएका छौं । अब आउने सर्जरीलाई सहज तरिकाले गर्छाैं भन्नेमा हामी विश्वस्त छौं ।’

डाक्टर भट्टराईको नेतृत्वमा अप्रेसन गरिँदा उनको टोलीमा डाक्टरहरु कृष्णप्रसाद बस्याल, अर्जुन गुरुङ र मणीन्द्र बस्नेत सामेल थिए । फेरिफेरि आगामी दिनमा कुनै बिरामीको पोखरामै ओपन हार्ट सर्जरी गर्नुपरे पनि डाक्टर भट्टराईलाई चरक अस्पतालले पोखरा डाक्ने भएको छ ।

अस्पतालका एमडी पोखरेलका अनुसार ओपन हार्ट सर्जरी भनेको बिरामीलाई तुरुन्ता तुरुन्तै गर्नुपर्ने होइन, योजना बनाएर गर्नुपर्ने भएकाले चिकित्सकहरुलाई पोखरा डाक्न सकिने सुनाए । डाक्टर भट्टराईले भने पोखरामै आवश्यक जनशक्ति पोखरामा विकसित हुँदै जाने विश्वास व्यक्त गरे ।

पोखरामै ओपन हार्ट सर्जरी सफल हुँदा विष्णुको श्रीमती रीता गौतमले खुसी व्यक्त गरिन् । ‘उहाँ(श्रीमान्) बिरामी भएपछि गण्डकी अस्पताल, मणिपाल लगे । त्यसपछि यहाँ(चरक) मा १ महिनाअघि ल्याएका हौं । अस्पतालको खर्च सबै अस्पतालले व्यहोरेको हो,’ उनले भनिन्, ‘काठमाडौं जानुपरेको भए धेरै खर्च लाथ्यो होला । यहाँ निशुल्क पनि भयो । अनि दुख पनि भएन ।’

शरीरको महत्वपूर्ण अंग भएकाले मुटुको अप्रेसनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य विधिबाट उपचार गरिन्छ । तर, मुटुको गम्भीर समस्या भएकाहरूलाई ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्छ । नेपालमा पहिलोपटक यो सर्जरी अस्ट्रेलियन समूहले वीर अस्पतालमा १९९८ मा सुरु गरेको हुन् ।

त्यस समयमा नेपालको पहिलो मुटुको शल्य चिकित्सक कार्डियो सर्जन दामोदर पोख्रेलले गरेका थिए । त्यसपछि टिचिङ अस्पतालमा १९९९ मा भगवान कोइरालाले सुरु गरेका थिए । हालसम्म काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, चितवन मेडिकल कलेज, विराटनगरको नोबेल शिक्षण अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको ओपन हार्ट सर्जरी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर