टाइगर प्यालेस दुई महिनामा पूर्णरुपमा सञ्चालनमा आउने, एक हजारले रोजगारी पाउने – Nepal Press

टाइगर प्यालेस दुई महिनामा पूर्णरुपमा सञ्चालनमा आउने, एक हजारले रोजगारी पाउने

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ समूहले खरिद गरेसँगै दुई महिनाभित्र पूर्णरुपले सञ्चालन गर्ने तयारी गरिएको छ । लामो समय लगानीकर्ता र जग्गाको स्वामित्वको विवादका कारण सञ्चालन अन्यौलमा रहेको टाइगर प्यालेसलाई दुई महिनामा पूर्णरुपमा सञ्चालन गरिने जनाइएको हो ।

यसअघि रिसोर्ट संचालन गरेको अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले २ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ मा अवस्थित टाइगर प्यालेस रिसोर्ट यसअघि अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो । अहिले नयाँ लगानी गर्ने विदेशमा बस्ने गैरआवासीय नेपालीहरुको समूह हो ।

रिसोर्ट सञ्चालनको योजनाबारे जानकारी दिँदै हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले दुई महिनाभित्र रिसोर्ट पूर्ण संचालन हुँदा १ हजार जनाले रोजगारी पाउने बताए । उनले व्यवस्थापन क्षेत्रमा सकेसम्म पुरानै जनशक्तिलाई प्रयोग गरिने र स्थानीयसँगको समन्वयमा थप योजना बनाउने जानकारी दिए । उनले रिसोर्टलाई थप ४ अर्ब लगानी गरी सञ्चालनमा ल्याउने तयारी भैरहेको बताए ।

कम्पनीमा गैरआवासीय नेपालीहरु भित्रिएपछि पहिलो पटक रिसोर्टभित्र देवीको पूजा गरेर स्थानीयको भावनात्मक सम्बन्ध जोड्ने प्रयास गरेको संचालकहरुको भनाइ छ । रिसोर्ट निर्माण हुनुअघि त्यस क्षेत्रमा एक देवीको मन्दिरसमेत भएको जानकारी गराउँदै अध्यक्ष सुवेदीले केही समयमा विधिपूर्वक मन्दिर प्रस्तिस्थापन गरी पूजा गरिने उल्लेख गरे । धार्मिक परम्परालाई समेत बचाई राख्नका लागि पनि देवीको मन्दिर प्रतिस्थापन गरिने उनले उल्लेख गरे ।

रिसोर्टमा गैरआवासीय नेपालीहरुको लगान गरिरहेको भएपनि नेपालमा रहेका कुनै पनि व्यक्तिको लगानी नरहने सुवेदीले बताए । कम्पनीमा हालसम्म गैरआवासीय नेपालीहरु सुवेदीसहित दिपक गौतम, कुल आचार्य, देब भुसाल र रामजी मरासिनी लगायतको लगानी रहेको छ । अन्य केही लगानीकर्ताहरुले पनि जोडिने आश्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

अष्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब पाँच अर्ब लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द हुने अवस्थामा पुगेको थियो ।

विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएका सबै शेयर खरिद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

यसैगरी, हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियाली कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको सञ्चालक दीपकदत्त गौतमले बताए ।

उनले भने, ‘अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ, विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।’

उक्त रिसोर्टले नेपाल सरकारलाई करोडौँ रकम राजस्वसमेत तिर्दै आएको र कोभिड महामारी तथा रिसोर्ट सञ्चालनका क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको पनि करोडौँ रकम राजस्व गुम्दै गएको थियो ।

रिसोर्टले नेपालका बैंकलाई तिर्नुपर्ने साँवा, व्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्टजस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागि सुखद नभएको सञ्चालक गौतमले बताए ।

यसैगरी रिसोर्टले सार्वजनिक जग्गा तथा नहर मिचेको विषयमा प्रस्ट पार्दै सञ्चालक गौतमले रिसोर्ट स्थापना हुनुपूर्व नै क्षतिपूर्ति स्वरुप १६ कट्ठा जग्गा रिसोर्टको तर्फबाट सट्टापट्टा गरी उपलब्ध गराइएको बताए । रिसोर्ट सञ्चालनसँगै गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण समेत निर्माण हुने उनले बताए ।

रिसोर्टको लगानीकर्ता अष्ट्रेलियाली कम्पनी आर्थिकरूपमा धरासायी भएको र टाइगर प्यालेस पनि बन्द हुने अवस्थामा पुगेको अवस्थामा एक करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको बताइएको छ ।

आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेर सञ्चारन गर्ने प्रयास गरिएको उनले बताए । उनले कानुनीरुपमा सम्पूर्ण प्रक्रिया पूरा गरी आफूहरुले रिसोर्टको शेयर खरिद गरेको जनाउँदै अदालतको आदेश, नेपाल सरकारको नियम र स्थानीयबासीको भावनाअनुसार रिसोर्ट संचालन गरिने बताए ।

रिसोर्टको पूर्व संचालकहरुले जग्गा खरिद गर्दा र रिसोर्ट निर्माण गर्दा सरकारी जग्गा मिचिएको विषयमा जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत तलसीपुर बुटवल इजलासमा मुद्दा विचाराधीन रहेको छ ।

अध्यक्ष सुबेदीले सट्टानभर्नाको सहमतिअनुसार रिसोर्टले ओगटेको क्षेत्रफल बराबरको जग्गा संरक्षण गरेर रिसोर्टको कम्पाउण्ड बाहिर राखिएको बताए । कानुनले नदिए सरकारी जग्गा उपभोग गरेको क्षेत्रफलको भाडा सरकारलाई तिर्न पनि आफूहरु तयार रहेको उनले बताए ।

रिसोर्टबाट कमाएर विदेश लैजाने आफूहरुको कुनै उद्देश्य नरहेको उल्लेख गर्दै अध्यक्ष सुबेदीले कमाई भएको सबै मुनाफा नेपालकै ब्यवसायमा लगानी गर्ने जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *