भारती सिलवालको भनाइ- अस्तु विसर्जन पारिवारिक विषय हो, उत्सव मनाउने कुरा होइन
रामपल्टनले प्रदीप गिरीको अस्तु चोरेको भारतीको आरोप
काठमाडौं । कांग्रेसका दिवंगत नेता प्रदीप गिरीकी पत्नी भारती सिलवालले तामझामसहित श्रीमान्को अस्तु विसर्जन लागिएकोमा रोष प्रकट गरेकी छन् । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ ले काठमाडौंदेखि काशीसम्मको यात्रा गरी अस्तु विसर्जन गर्ने कार्यक्रम राखेकोमा उनी असन्तुष्ट बनेकी हुन् ।
आफूलाई पूर्वजानकारी नदिइकन यो कार्यक्रम तय गरिएको दाबी सिलवालको छ । समितिका संयोजक रामपल्टन साहले २० दिनअघि सिलवाललाई भेटेर स्वीकृति लिएको नेपाल प्रेससित बताएका थिए । तर, सिलवालले यसको खण्डन गरिन् ।
‘हामीलाई तीन दिनअघि मात्रै थाहा भएको हो,’ उनले भनिन्, ‘हामीसँग एक वचन नसोधिकन सबै कार्यक्रम फिक्स्ड गरियो । म किन झूटो बोल्नु ?’
रामपल्टनले यसै साता मात्र आफूलाई भेटेको सिलवालले बताइन् ।
‘भेट्दा पनि उनले खुलस्त कुरा गरेन । यहाँबाट जल लगेर काशीमा चढाउने हो भन्छ, अस्तुको कुरै गर्दैन । तर, मलाई कार्यक्रमको तालिका आइसकेको थियो । अस्तु कहाँबाट आयो ? भन्दा कञ्चन झाले खोइ कहाँबाट पायो भन्छ । हामीलाई बहुला बनाउन खोजिएको हो ?’ सिलवालले आक्रोशित हुँदै भनिन् ।
प्रदीप गिरी सार्वजनिक व्यक्ति भएकाले उनको विषयमा कसैले लेख्दा, बोल्दा, प्रार्थना गर्दा, श्रद्धाञ्जली सभा गर्दा आफूहरु खुशी हुने भारतीको भनाइ छ । तर, अस्तु विसर्जन पारिवारिक विषय भएको उनले बताइन् ।
‘यो नितान्त पारिवारिक विषय हो, परिवारका सदस्यबाहेक जोकोहीले अस्तु विसर्जन गर्न सक्दैन । यहाँ त अस्तुमाथि पनि राजनीतिकरण गर्न खोजियो,’ सिलवालले भनिन् ।
यद्यपि, यसअघि गिरीको निधन भएको आठौं दिनमा रामपल्टनले नै पटनाको सिमरिया घाटमा लगेर एउटा अस्तु सेलाएका थिए । त्यसबेला भने आफूले स्वीकृति दिएको सिलवालले बताइन् ।
‘उहाँले आफ्नो खर्चमा गरेको भन्नुभएको छ, तर मैले नै तीन हजार रुपैयाँ दिएर पठाएको हुँ,’ उनले भनिन् ।
रामपल्टनले अस्तु चोरी गरेको आरोप भारतीको आशंका छ ।
‘मैले रामपल्टनलाई पाँचवटा अस्तु पाँचवटा कलशमा राख्न लगाएको थिएँ । उसले मलाई पाँचैवटा कलश हस्तान्तरण गरेको हो । त्यसमध्ये एउटा सिमरियामा विसर्जन भयो । दुईवटा बन्दीपुरमा स्थापना गरिएको छ । अब हामीसँग दुईवटा छ । उसँग अर्को अस्तु कसरी आयो ? या त उसँग भएको अस्तु प्रदीपजीको होइन, या उसले अस्तु चोरी गरेको हो । मलाई दिएको अस्तु प्रदीप जीको हो कि होइन भनेर भाँडो भित्र को हेर्न जान्छ ? डीएनए टेस्ट गर्ने कुरा पनि भएन ।’
बाँकी रहेको दुईवटा अस्तु छोरा सन्तोषले गयामा लगेर आफैं विसर्जन गर्ने भारतीले बताइन् ।
‘अस्तु विसर्जन त मृतकको चिरशान्तिको कामना गर्दै एकदमै शान्तरुपमा गर्ने कुरा हो । ढोल पिटेर, जात्रा र उत्सव मनाउने कुरा होइन । यदि पहिल्यै सल्लाह गरेको भए छोरा नै उनीहरुसँग हाँसिखुशी जाने थियो नि । तर, यिनीहरू कोही पनि होइनन्, हामी नै सर्वेसर्वा हौं भनेजसरी आफूखुशी गरे,’ उनले भनिन् ।
‘उनीहरूले यात्रा गरुन् न, हाम्रो त्यसमा आपत्ति होइन । कार्यक्रम गरेकोमा खुशी नै छौं । खाली अस्तु विसर्जनमा अब्जेक्सन छ । अरु जे गर्छन् गरुन् । गर्नु पनि पर्छ । उनीहरुले नगरे कसले गर्छ ?’ भारतीले थपिन् ।
यो पनि हेर्नुस् : प्रदीप गिरीको अस्तु विसर्जनमाथि विवाद, रामपल्टन भन्छन्- भाउजूले खै किन कुरा फेर्नुभयो