चीनले आफ्ना नागरिकलाई भ्रमण सिफारिस गरेको सूचीमा नेपाल, के लिन सकिन्छ फाइदा ? – Nepal Press

चीनले आफ्ना नागरिकलाई भ्रमण सिफारिस गरेको सूचीमा नेपाल, के लिन सकिन्छ फाइदा ?

पर्यटन बोर्ड सदस्य कृष्ण शाह भन्छन्- पूर्वमा पर्यटक बढाउनुपर्छ

बेइजिङ । चीनले सन् २०२३ मा आफ्ना नागरिकलाई घुम्न सिफारिस गरेका ६० देशमा नेपाल अटाएको छ । त्यो ६० को सूचीमा दक्षिण एसियाका तीन देशमा नेपाल परेको छ । नेपालसँगै श्रीलंका र माल्दिभ्स पनि उक्त सूचीमा परेका छन् ।

चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपाल समावेश भएको पुरानो ६० देशबाहेक थप ७८ देश परेका छन् । त्यो सूचीमा दक्षिण एसियाबाट भारत, बंगलादेश र पाकिस्तान पनि परेका छन् । पहिले ६० र अहिलेको ७८ गरेर १३८ देशलाई चीनले भ्रमण सूचीमा सिफारिस गरेको चीनको अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नयाँ सूची सार्वजनिक भएसँगै जापानी प्रधानमन्त्रीदेखि दक्षिण कोरिया तथा अस्ट्रेलियाका पर्यटनमन्त्रीहरुसम्मले स्वागत गरेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

चाइना डेलीले चीनको पर्यटन प्रतिष्ठानको आँकडा साभार गरेर सन् २०२३ को पहिलो ६ महिनामा ४ करोड ३७ हजार चिनियाँले देश बाहिर पर्यटकको रुपमा यात्रा गरेका छन् । उनीहरुको यात्राको प्रमुख गन्तव्यमा एसियाली मुलुकहरु परेका छन् । ९४ प्रतिशत चिनियाँहरुले एसियाली मुलुकहरुमा गन्तव्य बनाएको प्रतिष्ठानको आँकडाले देखाएको छ । जसमा थाइल्याण्ड, सिंगापुर, मलेसिया र भियतनाम प्रमुख गन्तव्यहरुमा परेका छन् । चीनको मेनल्याण्ड बाहिरका दुई क्षेत्र हङकङ र मकाउ पनि चिनियाँहरुले मन पराएको गन्तव्य बनेका छन् ।

सन् २०१९ को कोभिड महामारी अगाडि चीन विश्वको सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुक थियो । चिनियाँ राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् २०१९ मा १६ करोड ९० लाख चिनियाँहरुले विदेशमा यात्रा गरेर विश्वको सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुकमा चीन आएको थियो ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह विश्वको सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुकले नेपाल घुम्ने सूचीमा पार्नु सकारात्मक भएको बताउँछन् । नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहले अधिकतम चिनियाँ पर्यटकहरु ल्याएर कोभिडपछि थलिएको पर्यटन क्षेत्र चलायमान बनाउन सकिने तर्क गरे ।

‘पूर्वी नेपालका पहाडी जिल्लाहरु इलाम र खोटाङका विमानस्थलहरुमा एभिएसन स्कुलहरु खोल्न सकिन्छ । पूर्वमा मकालु र कञ्चनजंघा क्षेत्रबाहेकका पदमार्गको राम्रो प्रवर्द्धन हुन सकेको छैन’, उनले भने, ‘मुन्धुम ट्रेल, रेड पाण्डा ट्रेल, किराँत ट्रेल, क्रसबोर्डर ट्रेल र ग्रेट हिमालयन ट्रेललाई प्रवर्द्धन गर्न जुरुरी छ ।’

शाहले हिमाल आरोहणसम्बन्धी तालिम केन्द्रदेखि आरोहण अनुमतिको सरकारी इकाइ कार्यालय पूर्वमा खोल्न आवश्यक भएको बताए ।

चीनबाट मात्रै होइन, एसियाका समृद्ध मुलुकहरु जापान, सिंगापुर, कोरिया, मलेसियाबाट पनि पर्यटकहरु ल्याउन जोड गर्नुपर्ने उनको भनाइ छ । शाहले यी देशहरुबाट आउनेहरुले पूर्वका आदिवासी जनजातिका आफ्नै जस्तो रुपरंग देख्ने कतिपय गाइडबुकमै उल्लेख भएको बताए ।

‘यो कुरा ती देशका पर्यटकहरुलाई अतिरिक्त आकर्षण हुनसक्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *