दुई पुस्तकमा समिर नेपालका नोष्टाल्जियाहरू – Nepal Press
पुस्तक चर्चा

दुई पुस्तकमा समिर नेपालका नोष्टाल्जियाहरू

गत महिना पूर्वीय साहित्य आकाशमा दुई तारा उदाए- ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सिने यात्रा’ । एक कुशल राजनीतिज्ञ, मानव अधिकारवादी तथा कुशल संगठक समिर नेपालले यी दुई पुस्तकहरु उहाँकै दाजु मन्जुल नेपालको बाहुलीबाट विमोचन गराउनुभएको छ । बाल्यकालको पारिवारिक भोगाइ तथा यात्राका दौरानमा भोगेका अनुभवलाई यी दुई सिर्जनामा समेटिएको छ ।

एक पर्वते नेपाली समाजमा भएका तथा प्राय: भइरहने घटनाहरूको सँगालो हो, वर्षका बिहानीहरू, जहाँ लेखकका आफ्नै भोगाइ झल्किन्छ । कृतिकारले ९ फरक-फरक विषयमा आफ्ना विषयहरु उठान गर्नुभएको छ । बाल्यकाल, माध्यमिक शिक्षा, गाउँघरको जीवनमा सर्जकले भोजपुर र काठमाडौंको बसाइको बारेमा भोगेका तीता-मीठा अनुभवलाई पस्किएका छन् ।

एक आमाविहीन छोराले भोग्नुपरेको खानपानदेखि पठनपाठनसम्मको घटनाक्रमलाई अति रोचक र नदी बगेजस्तो भावमा अक्षरमा व्यक्त गर्नु लेखक नेपालको अर्को शक्ति हो, तथापि जीवनका तीता भोगाइलाई बालसुलभ मनोविज्ञानले के-कसरी लियो भन्ने कुरा वर्षका बिहानीहरूमा झुल्किन्छ ।

पुस्तकको अर्को पाटो लेखकको जागिरे जीवनको हो । जागिरे जीवनमा काम गर्दै जाँदा एकजना राई थरका व्यक्तिले दिएको सल्लाह र सुझाव नमानेको भए लेखक स्वयम् दूरदराजमा आज पढाइरहनुभएको हुन्थ्यो । तर, त्यसपछि काठमाडौं बसाइँ गर्दै अघिबढ्नु भएका लेखकले विवाह, बुबाको मृत्यु, अनौठो अनुभव र राजनीतिक जोड घटाउको तीतो र मीठो यथार्थ पनि पुस्तकमा समेट्नु भएको छ ।

रचनाकार समिर नेपालको अर्को कृति ‘नबिर्सिने यात्रा’ । पूर्वी नेपालदेखि पश्चिम दूर-दराजका भौगोलिक यात्राको सन्दर्भ उल्लेखित यस पुस्तकमा विभिन्न विषय समेटेर फरक-फरक शीर्षकमा नियात्रा झैँ रोचक ढंगमा व्याख्या गर्नुभएको छ । सामान्य घटनालाई रोचक तरिकाले प्रस्तुत गर्नु लेखकको अर्को खुबी हो ।

नबिर्सिने यात्रामा अलपत्र यात्रा, अमेरिका यात्रा, बाजुराली जनताजस्ता विषयलाई लेखकले आफ्ना यात्राक्रमका भोगेका विषयलाई प्रस्तुत गर्नुभएको छ । त्यसैगरी हत्याको छानबिनमा नेपाल प्रहरीको तत्कालीन अवस्था, तराईको सामाजिक अवस्था, धनी र गरिबबीचको भेदभाव तथा माओवादीको तत्कालीन युद्धलाई पनि पुस्तकमा उजागर गरिएको छ । अस्पतालमा भोगेको पीडा र राजनीतिमा लागेको दागको पीडा पुस्तकको अर्को रोचक पाटो हो ।

वर्षका बिहानीहरूमा लेखकले आफ्नो पारिवारिक अवस्थालाई स्पष्ट ढंगले प्रस्तुत गर्ने आँट गर्नुभएको छ । मनको कुरा नलुकाई आफ्नो बाल्यकालको कुरा पुस्तकमा उतार्नु मुश्किल नै हुन्छ तर यो परीक्षामा सर्जक नेपाल पास हुनुभएको छ ।

नबिर्सिने यात्रामा लेखकले नेपालको पहाड, मधेशको सामाजिक वस्तुस्थितिसँगै पहाड, मधेश र विदेश यात्रालाई सूक्ष्मरूपले प्रस्तुत गर्नु लेखकको अर्को क्षमता हो । सामाजिक मनोकांक्षा, सरकारको अंगहरूका शासन र कार्यशैलीलाई लेखकले निर्भिकरूपमा राख्नुभएको छ ।

आउँदा दिनमा अझ निखारिएको सिर्जनाको शुभेच्छासहित शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *