बिग मर्जरको ‘बादशाह’ ग्लोबल आईएमई- बाणिज्य बैंकहरूमा सबैभन्दा धनी – Nepal Press

बिग मर्जरको ‘बादशाह’ ग्लोबल आईएमई- बाणिज्य बैंकहरूमा सबैभन्दा धनी

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरूमा अहिले सबैभन्दा बढी कर तिर्ने बैंक ग्लोबल आईएमई बैंक बनेको छ । ग्लोबल आईएमईले गत आर्थिक वर्ष २०७९/८० मा कर मात्रै ५ अर्ब ४३ करोड ४४ लाख रूपैयाँ सरकारलाई बुझाएको छ । नाफासँगै सम्पत्ति बढाएको यस बैंकले सरकारलाई तिर्ने राजस्व पनि बढाएको हो ।

ग्लोबल आईएमई बैंक कूल पुँजी तथा चुक्ता पूँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक पनि हो । हाल यस बैंकको कूल पूँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष ७ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै बैंकहरूले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार सबै भन्दा धनी बैंक पनि ग्लोबल आईएमई नै देखिएको छ । २०८० असार मसान्तसम्म आइपुग्दा यस बैंकको सम्पत्ति ४५.७० प्रतिशतले बढेर ५ खर्ब २६ अर्ब पुगेको छ । जबकि २०७९ असार मसान्तमा बैंकको सम्पत्ति ३ खर्ब ६१ अर्ब थियो । एक वर्षमा यस बैंकले साढे १ खर्ब भन्दा बढीले सम्पति बढाएको छ । २० वटै वाणिज्य बैंकहरूको सम्पत्ति भने ६१ खर्ब ९२ अर्ब रूपैयाँ रहेको छ । सम्पूर्ण वाणिज्य बैंकहरुको सम्पत्ति भने गत वर्ष २७.६७ प्रतिशतले बढेको हो ।

बैंकमा भएको नगद तथा सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, डेरिभेटिभ उपकरण, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याति तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिका आधारमा बैंकको सम्पत्ति गणना हुन्छ । यो आधारलाई हेर्दा अहिले बाणिज्य बैंकहरुमा ग्लोबल आईएमई बैंक नै मुलुकको सबैभन्दा धनी बैंक दरिएको छ ।

अहिले बैंकको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । उनी बैंकको सञ्चालक समितिको अध्यक्ष हुन् । सीईओ (प्रमुख कार्यकारी अधिकृत) को जिम्मेवारीमा भने रत्नराज बज्रचार्य छन । बैंकमा ४ हजारभन्दा बढी कर्मचारी छन् ।

सबैका लागि बैंक भन्ने नारा लिएको ग्लोबल हरेक सूचकमा नम्बर एक बन्ने प्रतिपर्धामा छ ।

ग्लोबल आईएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको बैंक हो । बैंकका ३ सय ५९ शाखा कार्यालय, ३ सय ६२ एटिएम, ३ सय २२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन । मुलुक भित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गदै आएको छ । बैंकका बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालय रहेका छन । यसरी बैंकले एक हजार एक सय भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

बिग मर्जरको बादशाह ग्लोबल

नेपाल राष्ट्र बैंकले ठूला बैंकहरू मर्जर तथा एक्विजिसन गर्ने नीति लिँदा शुरूवात नै ग्लोबल आईएमईले गरेको थियो । मर्जरको नीतिले साना बैंक तथा वित्तीय संस्थामात्र गाभेर संख्या घटिरहँदा वाणिज्य बैंकहरु भने टसमस भएनन् । यसै कारण केन्द्रीय बैंकले विभिन्न प्रोत्साहन र सहुलियत दिँदै बिग मर्जरको अफर ल्यायो । त्यही बिग मर्जरको हिमायती बन्यो ग्लोबल आईएमई बैंक ।

ग्लोबल आईएमई बैंकले जनता बैंक नेपाललाई गाभेपछि नेपालमा वाणिज्य बैंकहरूबीच बिग मर्जर शुरु भएको हो । पछिल्लो पटक ग्लोबलले बैंक अफ काठमाडौंलाई गाभेको हो । हालसम्म २१ बैंक तथा वित्तीय संस्था गाभिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर