१२ हजार क्षमताको ट्यांकरमा १५ हजार १०९ लिटर डिजेल- ट्यांकर प्रहरी नियन्त्रणमा, निगम प्रमुख सम्पर्कविहीन – Nepal Press

१२ हजार क्षमताको ट्यांकरमा १५ हजार १०९ लिटर डिजेल- ट्यांकर प्रहरी नियन्त्रणमा, निगम प्रमुख सम्पर्कविहीन

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर नियन्त्रणमा लिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा निगमको डिपोबाट लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर नियन्त्रणमा लिइएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वले ट्यांकरलाई नियन्त्रण लिएको बताइएको छ ।

१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर थप इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । पक्राउ गरिएको ट्यांकर डाँडाकोनाक चौकीमा राखिएको र जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

थप अनुसन्धानका लागि अख्तियारमा पठाइएको उनले बताए । ‘हामीले घटनाको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका छौं । त्यतै अनुसन्धान हुन्छ’, उनले भने ।

निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चितरञ्जन दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लागेको छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेशन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफैं गर्ने गरेका थिए । बिहीबार पक्राउ गरिएको ट्यांकरको चलान, बिल र गेटपासान समेत दासले सही गरेर पठाएका थिए । बिहीबार बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले निगमका प्रदेश कार्यालय प्रमुख दास प्रशासनको सम्पर्कमा नभएको जानकारी दिए ।

‘घटना हेर्दा निगमका कर्मचारीको संलग्नताविना काम नभएको देखिन्छ, कर्मचारीको पनि संलग्नता छ, अनुसन्धान भइरहेको छ’, उनले भने, ‘कार्यालय प्रमुख प्रशासनको सम्पर्कमा हुनुहुन्न ।’

‘१२ हजार लिटर डिजेल हुुनुपर्ने ठाउँमा १५ हजार १०९ लिटर भेटिएको छ । प्रहरीले पक्राउ पुर्जी जारी गर्न जिल्ला प्रशासन कास्कीलाई फाइल पठाएको छ’, उनले भने ।

निगम गण्डकी प्रदेशका कार्यालयका सूचना अधिकारी श्रीधर लामिछानेले कार्यालय प्रमुख आफूहरुको सम्पर्कमा नरहेको प्रतिक्रिया दिए ।

‘टयांकर नियन्त्रणमा लिएको भन्ने मिडियाबाट थाहा पायौं, आज (शुक्रबार) बिहान प्रशासनका सरहरु आएर कागजपत्र लिएर जानुभो, नियमित कामहरु चलिरहेको छ’, उनले भने, ‘हिजो (बिहीबार)देखि कार्यालय प्रमुख हाम्रो सम्पर्कमा हुनुहुन्न ।’

ट्यांकरमा क्षमताभन्दा धेरै इन्धन लोड गर्नु जोखिमसमेत हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *