टेलिकमको १ जीबीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१ हजार एमबीपीएस) गति भएको एफटीटीएच इन्टरनेट सेवा सुरु गरेको छ ।
टेलकमले नयाँ इन्टरनेट सेवामा ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ गरी दुई प्याकेज सार्वजनिक गरेको हो ।
नयाँ प्याकेजमा डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछन् । प्रिमियम एफटीटीएच ५०० एमबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । साथै प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ ।
प्रिमियम एफटीटीएच १ जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ भने प्याकमा १ जीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।
कम्पनीका अनुसार दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटअप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी)मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ ।
यो सेवा हाल काठमाडौं उपत्यकामा मात्र उपलब्ध गराइएको छ ।