यश कुमारको प्रष्टोक्ति- म बालेनको विरोधमा होइन, नगर प्रहरी र सडक व्यापारीबीच प्रेम सम्भव छ – Nepal Press

यश कुमारको प्रष्टोक्ति- म बालेनको विरोधमा होइन, नगर प्रहरी र सडक व्यापारीबीच प्रेम सम्भव छ

काठमाडौं । यतिबेला गायक तथा नायक यशकुमारले भर्खरै सार्वजनिक गरेको ‘सुस्तरी’ बोलको गीत र भिडिओले बजार गर्माएको छ । समसामयिक विषय उठान गरिएको भिडिओलाई दर्शकले निकै रुचाएका छन् ।

सार्वजनिक भएको दुई दिनमै गीतले १ मिलियन भ्युज बटुल्न सफल भयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमा गीतका प्रशंसा गरेका थिए । सञ्चारमाध्यमहरूको सकारात्मक टिप्पणी र ओलीको स्टाटससँगै गीतले ह्वात्तै पिकअप लिएको हो ।

यशकुमारले आफ्नो च्यानलमा हालसम्म जम्मा २१ वटा भिडिओ अपलोड गरेका छन् । ३ वर्षअगाडि रिलिज भएको ‘तिम्रो मुटुमा’ बोलको गीत उनको च्यानलको सबैभन्दा बढी हेरिएको भिडिओ रहेको थियो । उक्त भिडिओलाई ३१ लाखपटक हेरिएको छ । रिलिजको दुई दिनमै ‘सुस्तरी सुस्तरी’ उनको च्यानलको धेरै हेरिने भिडिओको लिस्टको तेस्रो नम्बरमा उक्लिइसकेको छ । भिडिओको रफ्तार हेर्दा यो गीतबाट उनी पहिलोपटक करोड क्लबमा प्रवेश गर्न सक्छन् ।

‘सुस्तरी’ मा यशले नगरप्रहरी र सडक व्यापारीको प्रेमकथालाई बडो मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन् । भिडिओमा उनलाई अनु थापाले साथ दिएकी छिन् भने गायनमा अनु चौधरीले । यसै गीत र भिडिओबारे यश कुमारसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी-

– यो गीत र भिडिओको कन्सेप्ट कसरी आयो ?

मेरो कन्सेप्ट र लिरिक्स एकैचोटि तयार हुन्छ । यो मैले दुई वर्षअगाडि नै सोचेको गीत हो । अहिले आएर सबै काम सम्पन्न भयो ।

भिडिओको कन्सेप्ट भने समय सान्दर्भिक भएर हो । अहिले जताततै यस्तै माहोल छ । फोन समाएर यसो केही हेर्न खोज्यो उही रोनाधोना, लछारपछार पारेको भिडिओ मात्र देखिने । साह्रै मनमा पर्‍यो । मेरो मन पोल्यो । बिलौनाबाहेक केही छैन । त्यही भएर, अब चाहीँ भएन, यसलाई यो शैलीमा लाँदा ठीक हुन्छ भनेर यो भिडिओ निर्माण गरेँ ।

– समय सान्दर्भिक भिडिओ छ । भिडिओले दिने मूल सन्देशबारे के भन्नुहुन्छ?

भिडिओमा रोएको, कराएको, खोसाखोस र झगडा गरेको दृष्यहरू धेरै देखाइएको छ । मैले झैझगडाको बीच पनि माया सम्भव छ है भनेर देखाउने प्रयास गरेको छु । भिडिओमा देखाइएको सडक व्यापारीको सामान खोस्न जाने व्यक्ति र खोसिने व्यक्ति एउटै हुन् । प्रहरीको पोशाक लगाईञ्जेल उ एउटा जिम्मेवारीमा बाँधिएको हुन्छ, त्यसैले खोस्न बाध्य हुन्छ । तर, जब राति घर पुगेर त्यो पोशाक खोल्छ, त्यो नगर प्रहरी पनि मकैवाली जस्तै हुन्छ । त्यसैले जिम्मेवारीमा बाँधिएको एउटा नगर प्रहरी र आफ्नो घर चलाउन सरकारी नियमविपरीत काम गरिरहेको वा भनौं बाध्यताले लखेटिएको एउटा पीडितबीच माया बस्यो भने के हुन सक्छ भनेर पर्दामा उतार्न खोजेको छु ।

हुन त अहिलेको अवस्थामा नगर प्रहरी र सडक व्यापारी दुश्मनजस्तो भएका छन् । पटक्कै ग्रह नमिल्ने । तर, उनीहरूबीच माया पनि सम्भव छ भन्ने भिडिओमार्फत देखाउन खोजेको छु । आफैं हेर्नुहोस् न, आफूले माया गरेको मान्छेको अवस्था हेर्न नसकेर एउटा प्रेमी आफ्नो पेशासम्म छाडेर परदेश जाने पहल गरिरहेको छ । अर्कोतिर, एउटी मकैवालीले प्रेमको निम्ति आफ्नो व्यापारको शैली परिवर्तन गर्न तयार हुन्छे ।

भिडिओमा प्रस्तुत गरिएको मुटु नै कमाउने खालको घटनाहरूलाई मायाले जित्नुपर्छ भन्ने कुरा हो । मैले भत्काउनेतिर मात्र होइन, सपार्नतर्फ पनि लाग्नुपर्छ र माया भए जे पनि सम्भव छ भन्ने आशय दिन खोजेको छु । मायाले दुश्मन नै भएपनि एउटै सुत्रमा ल्याउन सकिन्छ भन्ने बुझाउन खोजेको छु । त्यही हो ।

– भत्काउनेतिर मात्र होइन, सपार्नतर्फ पनि लाग्नुपर्छ भन्नुभयो । तपाईंलाई बालेनको कामप्रति असन्तुष्टि हो ?

त्यस्तो होइन नि । मैले त मेरो भिडिओमा अन्त्यमा बालेनजीलाई नै हिरो बनाएको छु ।

‘मसँग बिहे गर्ने हो भने यसरी दोबाटोमा मकै बेच्न पाउँदैनस’ भन्नु नै उहाँको काममा समर्थन जनाउनु हो । असन्तुष्टि केही छैन । मात्र मायाले गरे जे पनि सम्भव छ भन्न मात्र खोजेको हो ।

– यो विषय उठाउँदा चर्चा दोब्बर हुन्छ भनेर त होइन ?

त्यो पनि होइन । हरेक गीतमा एउटा कन्सेप्ट हुन्छ, चाहे त्यो राष्ट्रिय गीत होस्, मायाप्रेमको गीत होस् या धोका दिएकै किन नहोस् । सर्जकलाई एउटा विषय चाहिन्छ नै ।

मैले यश कुमार को हो भनेर मेरो काममार्फत पहिला नै दर्शकहरूलाई चिनाइसकेको छु । त्यसैले चर्चा कमाउन कुनै उपाय लगाउनु जरुरी नै छैन । मैले मात्र मेरो गीत अनि भिडिओलाई जीवन्त बनाउन खोजेको हो ।

मैले सीधै गएर बालेनजी वा सरकारलाई यसो नगर भन्न सक्दिनँ । म कुनै राजनीतिज्ञलाई गएर अह्राउन सक्दिनँ । म कलाकार हुँ, त्यसैले कलामार्फत केही सन्देश दिन भने पक्कै सक्छु । मैले यो कन्सेप्टमा भिडिओ नबनाएको भए पनि कोही न कोहीले त यो विषय पक्कै उठाउनुहुन्थ्यो । मैले अगाडि उठाएँ, त्यतिमात्र हो ।

– भिडिओको कथा वास्तविक घटनामै आधारित हो कि ?

एउटा सफल भिडिओ निर्माण गर्न कलाकारमात्र नभएर हरेक चिजमा ध्यान दिनुपर्ने हुन्छ । हाँसो, खुसीदेखि लिएर सबै भावहरूको समिश्रण बनाउन सके मेहेनतले रंग ल्याउँछ । त्यसैले मैले बीचमा जति झैझगडा भएपनि अन्तमा ह्यापी ईन्डिङ गरेको छु । ३ घण्टाको चलचित्रले दिने सन्देश ८ मिनेटमा अटाएको छ । एक किसिमको चलचित्र नै बनाएको छु ।

सबै मसलाहरू चट्ट मिलाएर मीठो चटपटे बनाएको छु । खाँदा पनि मिठो भएर जिब्रो ट्वाक्क पड्कियोस् भन्ने भावले रचना गरेको छु । कसैको आँखा नबिझाउने अनि मन नपोल्ने तवरले भिडिओ निर्माण गरेको छु ।

मैले बालेनजी र नगरप्रहरीहरूले सडक व्यापारीहरूलाई उठाइरहँदा उहाँहरूले के कस्तो डाइलग बोल्नु भयो भनेर हेरेको पनि छैन । मसँग पात्र तयार थिए । गीत अनि कथा तयार थियो । त्यसैले केही नसोची कन्सेप्ट बनाएर भिडिओ तयार गरिहालेँ ।

– अनुजीको अभिनयको निकै प्रशंसा भइरहेको छ । उहाँको बारेमा के भन्न चाहनुहुन्छ ?

उहाँ थिएटर आर्टिस्ट हो । उहाँले थुप्रै नाटकहरूमा खेल्नुभएको छ । खासमा उहाँसँग मैलै २०१८ मै चलचित्र ‘छिरिङ’ मा सहकार्य गर्न खोजेको थिएँ । तर, उहाँको पढाईको कारण त्यो सम्भव हुन सकेन । भाग्यवश अहिले संयोग जुर्‍यो ।

उहाँ एकदमै राम्रो अभिनय गर्ने कलाकार हो । साँच्चै भन्ने हो भने उहाँले यस क्षेत्रमा आउन ढिला गर्नुभयो । उहाँ हाम्रो कला क्षेत्रले नदेखेको अनि ओझेलमा परेको कलाकार हो । नदेखेको पनि हैन । देखेर पनि नचिनेको कलाकार हो । सबैको नजरमा पर्नु पर्ने र कला क्षेत्रलाई चाहिने कलाकार हो । उहाँको काम र अभिनयले मलाई प्लस भएको छ । मेरो त्रुटि र कमजोर भएको अभिनयमा उहाँले ज्यान हाल्दिनुभएको छ ।

– भिडिओमा नगरप्रहरीलाई झापड हानेको दृष्य पहिलै भाइरल भएको थियो । धेरैले त्यतिबेला यसलाई वास्तविक घटना पनि ठानेका थिए । त्यसले कस्तो असर गर्‍यो ?

हो, नगरप्रहरीलाई झापड हानेको र एयरपोर्टको दृष्य पहिलै भाइरल भयो । सायद त्यो बेलाको माहोल पनि त्यस्तै त्यस्तै भएर होला । त्यसैले धेरैले रियल नै ठान्नुभएछ । हुन पनि रियल नै झापड हान्नुभएको थियो । त्यही भएर देख्नेलाई त्यस्तो लाग्यो होला ।

छायांकनको दौरानमा कसैले खिचेर हाल्दिनुभएको रहेछ । (हाँस्दै) हुन पनि अहिले सबैजना क्यामराम्यानै क्यामराम्यान हुनुहुन्छ । तर, केही भएन । कहिलेकाहीँ हुन्छ यस्तो ।

सडकबाट सडक व्यापारीहरूलाई उठाइरहँदा धेरैले आफ्नो जिम्मेवारी निभाइरहेको नगरप्रहरीलाई किन हात हालेको होला भनेर प्रश्न उठाउनुभयो । यस विषयमा मलाई के लाग्छ भने नि, एउटा अभाव अनि बाध्यतामा जेलिएको मान्छेको सहारा खोस्न आउँदा उसले आफ्नो बचाउ अवश्य नै गर्छ । आफ्नो घर जलाउन खोज्दा को चुप लागेर बस्छ र ? बचाउमा मान्छेले जे पनि गर्छ । त्यही घटनालाई देखाउन खोजेको छु ।

– पछिल्लो समय यस्ता सन्देशमुलक सांगीतिक भिडिओहरू प्रकाश सपुतजीले धेरै निकालिरहनुभएको छ । उहाँको कपी गर्न खोज्नुभएको हो कि ?

त्यस्तो हो र ? मलाई त लाग्दैन । मैले अगाडि गरेका सबै गीतहरू हेर्नुहोला, सबैमा कुनै न कुनै सन्देश दिन खोजेको छु । उहाँको अर्कै किसिमको छ । मलाई अहिलेसम्म कसैले न मुद्दा उठाउनुभएको छ न कसैले आरोप नै लगाउनुभएको छ ।

उहाँले ‘गलबन्दी’ निकाल्नुभएको समयमा चोरीको आरोप लाग्यो । शम्भु राईजीले चोरीको आरोप लगाउनुभएको थियो । दोस्रो पटक ‘पीर’ गीतलाई लिएर पार्टीले मुद्धा हाल्यो । तेस्रो पटक होटल व्यवसायीले मुद्धा हाले । सायद आपत्तिजनक कन्टेन्टहरू भएर होला । तर मैले त्यस्तो खालको केही गरेको छैन । मैले छोएको पानी चल्दैन, बाटो मुनीको फूल, लगायतका मेरा सबै भिडियोले केही न केही सन्देश बोकेकै छ ।

मैले ‘हिजो अर्कैसँग देखेँ’ को कन्टेन्ट २० वर्ष अगाडि नै उठाएको हो नि । त्यसैले अहिले आएर मैले प्रकाश भाइको कपी गर्नुपर्छ जस्तो लाग्दैन । उसले उठाएका कुनै विषयहरूबाट प्रेरणा मिल्नु अलग कुरा होला, तर कपी नै गर्ने भनाईलाई चाहीँ म मान्दिनँ । मलाई बिझाएका कुरा मैले मेरो कलामार्फत पहिला पनि पस्किएको हो र सधैँ पस्किरहनेछु ।

– अरु पनि केही नयाँ सिर्जना आउँदैछ कि ?

आउँदैछ । छिट्टै फेरि अर्को प्रोजेक्ट ल्याउँदैछु । त्यसमा पनि दर्शकले केही विशेष पाउनुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *