राष्ट्रनिर्माताको सालिकमाथि राजनीति: पृथ्वी चोकमा बारम्बार बितण्डा – Nepal Press

राष्ट्रनिर्माताको सालिकमाथि राजनीति: पृथ्वी चोकमा बारम्बार बितण्डा

बुधबार एक समूहले हटाएको पृथ्वीनारायण शाहको प्रतिमा विहीबार पुन:स्थापित

पोखरा । सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले बुधबार झिक्यो ।

बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै फेरि पृथ्वीको प्रतिमा पुन:स्थापना गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको प्रतिमा चोरी भएको आरोपसमेत लगाएको थियो । जिल्ला प्रशासनको स्वीकृतपछि पृथ्वीनारायण शाहको प्रतिमा राखिएको राप्रपा पोखरा महानगर कमिटी अध्यक्ष महेश्वर आचार्यले बताए । सालिक हटाउन खोजे द्वन्द्व निम्तिने उनको चेतावनी छ ।

पृथ्वी चोकमा लखन थापाको सालिक राखिएयता यो ठाउँमा ‘सालिक राजनीति’ हुँदै आएको छ । उहाँ पहिले पृथ्वीनारायण शाहको सालिक थियो । त्यसैले ठाउँको नाम पनि पृथ्वी चोक रहन गयो । पछि उक्त सालिक हटाएर लखन थापाको सालिक राखिएको छ ।

राप्रपा नेता आचार्य भन्छन्, ‘सालिक हटाइदिएपछि हामीले पृथ्वीनाराण शाहको प्रतिमा भए पनि रहनुपर्छ भनेर हामीले राखेकाे । पृथ्वी चोकको नाम नै उहाँको नामबाट राखिएको छ । अहिले पनि सबैतिर पृथ्वी चोकले परिचित छ । भइरहेको सालिकलाई हटाउन खोजिन्छ भने द्वन्द्व निम्तिन्छ ।’

एउटा विधि, प्रक्रियाबाट नगई एउटा पक्षले मूर्ति हटाउनु गलत भएको अध्यक्ष आचार्यले उल्लेख गरे । ‘चोकको जामलाई हटाउन सालिक हटाउने भन्ने थियो । तर, एउटा विधि प्रक्रियाबाट नगई कसैको दबाबमा हटाउनु गलत हो । पृथ्वीनारायण शाहको सालिक सम्मानसाथ राख्नुपर्छ ।’

आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्मबहादुर गुरुङ भने र्‍यालीमा सहभागीले प्रतिमा निकालेको स्वीकार गरे । उक्त प्रतिमा महानगरलाई बुझाइएको उनले बताए ।

‘हाम्रो र्‍यालीका सहभागी साथीहरुले निकालिसकेपछि थाहा भो । मैले थाहा पाएपछि महानगरलाई बुझाउन लगाएँ’, उनले भने ।

पृथ्वी चोकमा २०६२/६३ को जनआन्दोलनअघि पृथ्वीनारायण शाहको सालिक थियो । २०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन विद्रोही माओवादीले राजा पृथ्वीनारायणको सालिक उखेलिदिए । त्यसपछि १ वर्षसम्म पृथ्वीचोकमा कुनै सालिक रहेन । एक वर्षपछि सोही ठाउँमा सहिद लखन थापाको सालिक ठड्याइएको थियाे । तत्कालीन समयमा माओवादीबाट प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले सहिद थापाको सालिक २०६९ फागुन १ गते अनावरण गरेका थिए ।

प्रथम सहिद थापाको सालिक बनेपछि भने यो चोकको नाम नै गडबड भएको छ । जनजाति आन्दोलनमा सक्रियहरु यसलाई लखन चोकको नामले सम्बोधन गर्छन् भने अरूले पृथ्वी चोक नै भन्छन् । स्थानीय पसलमध्ये बहुसंख्यकका नामपाटी (साइनबोर्ड) हरुमा पृथ्वी चोक नै उल्लेख छ भने केहीले लखन चोक लेखेका छन् । बस र ट्याक्सीमध्ये कतिले पृथ्वी चोक लेख्छन् त कुनैले लखन चोक लेखेका छन् । कतिपयले पृथ्वी चोक र लखन चोक दुवै लेखेका छन् ।

२०७४ असोज ९ गते गते पोखरा महानगरपालिकाले लखन थापाको सालिकमा डोजर चलाएको थियो । महानगरले चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको थियो । तर, सालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विभिन्न जनजाति समुदाय विरोध जनाएपछि भत्काएको २४ घन्टाभित्रै सहिद थापाकै सालिक राख्ने सहमति भएको थियो ।

क्षेत्री समाजले सालिक राख्ने महानगरको सहमतिको विरोध गरेको थियो । पुनः महानगर पृथ्वी चोकमा कुनै पनि सालिक नराख्ने सहमतिमा पुग्यो । तर, २०७५ फागुन १ गते राति मगर समुदायको नेतृत्वमा पुनः लखन थापाको सालिक उभ्याइयो । महानगरपालिकाले शहरका सबै ठाउँका सालिक सराङ्कोट ग्यारजातीको विभूति पार्कमा लगेर राख्ने योजना पनि बनाएको थियो । केही सालिक पार्कमा लगिएको पनि छ । तर, पृथ्वी चोकमा सालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय प्रतिष्ठाको विषय बन्न थालेको छ ।

शान्ति सुरक्षा बिग्रन दिँदैनौं : प्रजिअ घिमिरे

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सालिकहरुलाई व्यवस्थापन गर्ने विषयमा सहमति भएको बताए ।

‘हिजो केही समयदेखि पोखराको पृथ्वी चोकमा भएका सालिकको विषयमा विवाद भएको भन्ने छ । त्यो विषयमा पनि विगतमा भएको सहमतिले पनि समेट्छ भन्ने लाग्छ’, उनले भने, ‘सालिक व्यवस्थापनको मुख्य रुपमा पोखरा महानगरपालिकाको हो र यसलाई व्यवस्थापन गर्ने विषयमा जिप्रका पनि सहायक भूमिकामा तयार छ ।’

शान्ति सुरक्षा बिग्रन नदिने प्रजिअ घिमिरेले उल्लेख गरे । ‘सालिक विवादकै कारण पोखराको शान्ति, सुरक्षा र सद्भाव बिग्रनु हुँदैन भन्ने कुरामा हामी सचेत छौैं । शान्ति सुरक्षा बिग्रन हामी दिँदैनौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर