पश्चिम नवलपरासीमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षकसहित ११ जना घाइते – Nepal Press

पश्चिम नवलपरासीमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षकसहित ११ जना घाइते

रुपन्देही । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

त्रिभुवन माविले त्रिभुवन क्याम्पसमा कक्षा ११ र १२ को दिवा कक्षा सञ्चालनका लागि कक्षा कोठा माग गरेपछि विवाद सुरु भएको हो । दिउँसो कक्षा कोठा उपलब्ध गराउन नसक्ने क्याम्पस प्रशासनको अडानपछि बुधबार प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा त्रिभुवन क्याम्पसमा लगाइएको ताला केही जनप्रतिनिधिको रोहवरमा नगर प्रहरीले तोडेको थियो ।

बिहीबार त्यसैको विरोधमा त्रिभुवन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु गाउँपालिकामा तालाबन्दी गर्न गएपछि प्रहरीसँग झडप भएको हो ।
झडपका क्रममा प्रहरी र विद्यार्थी गरी ११ जना घाइते भएका छन् । स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

झडपमा प्रहरी निरीक्षकसहित ७ जना प्रहरीसमेत घाइते छन् । घाइते विद्यार्थीबारे प्रहरीले यकिन नगरे पनि बेलाटारी क्याम्पसका प्रमुख मनोजधर द्विवेदीले चार जना विद्यार्थी घाइते भएको बताए ।

विद्यार्थीले ढुंगामुढा गर्दै पार्किङमा रहेका सवारीसाधनमा तोडफोड गर्न थालेपछि अश्रु ग्यास प्रहार गर्नुपरेको प्रहरीको दाबी छ । सो क्रममा पार्किङमा रहेको एउटा कारको सीसा फुटेको छ ।

त्रिभुवन माविले नयाँ भवन निर्माणको चरणमा रहेकाले केही समयका लागि दिउँसो कक्षा सञ्चालन गर्न दिन क्याम्पससँग आग्रह गरे पनि क्याम्पसले क्यूएए प्राप्तिको प्रक्रियामा रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुरुप कक्षा कोठा उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

शैक्षिक स्थलमा भएको यो विवाद अहिले पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको प्रतिष्ठाको लडाइँ बनेको छ ।

दुवैको आह्वानमा छुट्टाछुट्टै अभिभावक भेला गर्दै समर्थन जुटाउने कोसिस भएको थियो । त्रिभुवन मावि र त्रिभुवन क्याम्पस प्रतापपुर ९ बेलाटारीमा एकै स्थानमा छन् । गाउँपालिकाले उक्त भवन त्रिभुवन माविको स्वामित्वमा रहेको दाबी गर्दै क्याम्पसले कक्षा कोठा सञ्चालन गर्न दिन्न भन्नु तर्कसंगत नहुने दाबी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *