बर्खामा भजनीबासीको नियति : प्रत्येक वर्ष हुन्छ ठूलो क्षति – Nepal Press

बर्खामा भजनीबासीको नियति : प्रत्येक वर्ष हुन्छ ठूलो क्षति

कैलाली । सोमबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न छ । यहाँ सबैभन्दा धेरै वडा नम्बर ३ का गाउँहरू प्रभावित छन् ।

कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, ८ वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरूमा पानी भरिएको छ । करिब एक हजारको संख्यामा रहेका यहाँका नागरिकहरू प्रभावित भएका छन् ।

उनीहरुमध्ये अधिकांश हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बस्न बाध्य भएको भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले जानकारी दिए ।

भजनी वडा नम्बर ३ मा मात्रै होइन ८, ५ र ७ का नदी किनारका बस्तीहरूमा पनि अहिले पानी भरिएका छन् । उनीहरु पनि अहिले समस्यामा रहेको मेयर चौधरीले जानकारी दिए ।

उता मोहना, कन्द्रा, काँढा र पथरैया नदीले स्थानीयलाई प्रत्येक वर्ष दुःख दिँदै आइरहेको छ । ‘पालिकाको आधा भन्दा धेरै भूगोल बाढीको प्रकोपमा छ’ मेयर चौधरीले भने ‘यो अहिलेको मात्रै समस्या होइन प्रत्येक बर्ष यहि नियति नागरिकहरूले झेल्न बाध्य छन् ।’

सोमबारदेखिको झरी अझै रोकिएको छैन । नदीमा पानीको सतह कति बेला बढ्ने कति बेला घट्ने गरिरहेको छ । केही स्थानीय अझै पनि घरमै असुरक्षित बसिरहेका छन् ।

उनीहरुको उद्धारमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लागि रहेका छन् । उनीहरूलाई सुरक्षा कर्मीले नजिकैको सुरक्षित स्थलमा राखिरहेको छ ।

‘ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौँ,’ स्थानीय जोगुराम चौधरीले भने, ‘हामी त जोगियौँ तर, घरमा कुनै पनि सामान ल्याउन सकेनौँ ।’ यहाँका स्थानीयलाई साउन भदौ र असोज तीन महिना यहाँ बस्न निकै सकस हुन्छ । उनीहरूलाई कति बेला झरी पर्छ र विस्थापित हुनु पर्छ भन्ने पिरले सताइ रहन्छ ।

‘हामीलाई तीन महिना धेरै समस्या हुन्छ’, विपदराम चौधरीले भने, ‘जेनतेन हामी बाच्यौँ तर, लत्ताकपडा र अन्नबाली जोगाउन सक्दैनौँ ।’

कनैयापुरकी जोगवनी चौधरीले आफूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर सडकमा ल्याए पनि घरमा रहेका लत्ता कपडा बाढीले बगाएको भन्दै बिलौना गरिन् । उनी जस्ता कयौँ व्यक्तिहरूले बुधबार आफू जोगिए पनि सम्पत्ति जोगाउन नसकेको भन्दै गुनासो र पीडा पोखिरहेका थिए ।

विपद् क्षेत्रमा अनुगमन

बुधबार सभामुख भीम भण्डारी सहित मन्त्री र प्रदेश सभा सदस्यहरूले यहाँको बिपद् क्षेत्रको अनुगमन गरेका छन् । भजनीको बिभिन्न क्षेत्रमा पुगेको टोलीलाई स्थानीयले आफूहरूका लागि दिगो व्यवस्थापन गर्न आग्रह गरिरहेका थिए ।

यसअघि पनि अनुगमन गर्ने तर व्यवस्थापन नहुने समस्याले आजित भएको भन्दै आगामी दिनमा त्यस्तो नगर्न समेत स्थानीयले माग गरे ।

सभामुख भण्डारी सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सांसदहरू ललिता सुनार, खेमा विष्ट, इन्दिरा गिरि, डा. तारा जोशी लगायतले प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।

निरीक्षण पछि सभामुख भण्डारीले तत्काल उद्धारमा खटिन सबै निकायलाई निर्देशन दिएका थिए । दिगो व्यवस्थापनको योजना ल्याउन पनि सरकारसँग समन्वय गर्ने सभामुख भण्डारीले बताए ।

तस्बिरहरू

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *