सहसचिव र उपसचिवमा रिक्त पदको विवरण भदौ १० गतेभित्र पठाउन परिपत्र – Nepal Press

सहसचिव र उपसचिवमा रिक्त पदको विवरण भदौ १० गतेभित्र पठाउन परिपत्र

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवको रिक्त पदको विवरण भदौ १० गतेभित्र पठाइसक्न विभिन्न निकायलाई परिपत्र गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग र सचिवालय तथा निकायलाई परिपत्र गरेको हो ।

मन्त्रालयले पद रिक्त भएको कारणसम्बन्धी प्रमाणित कागजात निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ३ बमोजिम चालू आर्थिक वर्षमा अवकाश तथा बढुवाबाट रिक्त हुने पदको समेत गणना गरी माग फारम पठाउँदा त्यसको पुष्ट्याइका आधार प्रमाणित गर्ने सम्पूर्ण कागजात पेश गर्न परिपत्रमा भनेको छ ।

परिपत्रअनुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) रिक्त पदको विवरण सम्बन्धित निकायको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)बाट सेवा, समूह र उपसमूहअनुसार छुट्टाछुट्टै पानामा प्रमाणित गराइ पठाउनुपर्ने छ ।

परिपत्रमा भनिएको छ, ‘लोकसेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका (प्राविधिक) र अप्राविधिक रिक्त पदको पदपूर्ति गर्ने प्रयोजनका लागि त्यस मन्त्रालय र आयोग, सचिवालय, निकाय र अन्तर्गत रिक्त राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी तोकिएको ढाँचामा नेपाल सरकारको स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअनुरुप रिक्त पद र चालू आर्थिक वर्षमा रिक्त हुन आउने पद राष्ट्रिय किताबखानामा रहेको विवरणसँग रूजु गराई पछिसम्म फरक नपर्ने गरी आफ्नो सेवा, समूह, उपसमूहका अन्य निकायमा रहेका दरबन्दीमा पदपूर्ति तथा रिक्तको अवस्थासमेत एकीन गरी एकीकृत विवरणसहितको माग आकृति फारम भरी २०८० भदौ १० गतेभित्र अनिवार्य रुपमा उपलब्ध गराइ दिनुहुन अनुरोध छ ।’

साथै माग आकृति तयारीसम्बन्धी कार्यविधि, २०७७ को व्यवस्थालाई दृष्टिगत गरी निर्धारित समयमै माग आकृति फारम पठाउन पनि मन्त्रालयले स्मरण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *