विभेदमा पारिएका समुदायको हक अधिकार स्थापित गर्न प्रदेशसभा प्रतिबद्ध छ : सभामुख घर्ती – Nepal Press

विभेदमा पारिएका समुदायको हक अधिकार स्थापित गर्न प्रदेशसभा प्रतिबद्ध छ : सभामुख घर्ती

रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विभेदमा पारिएका समुदायको उत्थान र हक अधिकार स्थापित गर्न नीति र कानुन निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् ।

२९ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिँदै सभामुख घर्तीमगरले माओवादी जनयुद्ध तथा जनआन्दोलन, क्रान्ति र संघर्षमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले आन्दोलनबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता जस्ता महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूलाई संस्थागत विकास गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता रहेको सन्देशमा उल्लेख गरेका छन् ।

उनले समुदायबीच आपसी सम्बन्ध र भ्रातृत्वको विकास गर्न दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एउटा समुदायले अर्को समुदायलाई सम्मान गर्ने, अस्तित्व स्वीकार गर्ने र आत्मसम्मान गर्ने वातावरण सृजना गरी एकताबद्ध हुन आवश्यक रहेको र एकले अर्का समुदायमा असन्तुष्टि पैदा हुने कार्यबाट सबै सतर्क बन्नु जरुरी रहेको समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

आफ्नो अधिकारको लागि संगठित भई आवाज उठाउँदै आएका आदिवासी जनजाति समुदायको सशक्तीकरण गर्न र आर्थिक रूपमा समेत यो समुदायलाई सशक्त बनाउँदै राज्य सञ्चालनमा पहुँच वृद्धि गर्न आदिवासी युवाहरूको सक्रियता र सशक्तीकरणमा जोड दिनु पर्ने आवश्यकता उनले औँल्याएका छन् ।

उनले आदिवासी जनजातिका अगुवाहरूले सोही अनुसारको नीति अवलम्बन गरी सिंगो आदिवासी जनजातिको अभियानलाई सफल बनाउन तथा आदिवासी समुदायको बृहत्तर हितको लागि युवा पङ्क्तिलाई अगाडि बढाउन पनि यो दिवसले प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर