सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक १८ घण्टादेखि अवरुद्ध, खुल्न अझै केही दिन लाग्ने ! (भिडिओ)

कैलाली । सोमबार रातिदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने सडक अझै सुचारु हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका- ४ स्थित बुढितोलाको भावर टोलमा गएको पहिरोका कारण अवरुद्ध सडक अझै सुरु हुन नसकेको हो ।
भीमदत्त राजमार्गमा अहिले पनि पहिरो हटाउने कार्य जारी छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । अहिले उक्त क्षेत्रमा सडक डिभिजन कार्यालयले पहिरो हटाउने प्रयास गरिरहेको छ । त्यस उता करिब ३ सय मिटर सडक भासिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सब इन्जिनियर नरेश भट्टले पहिरो हटाउने काम जारी रहेको जानकारी दिए । उनले पूर्ण रुपमा सडक सुचारु गर्न अझै केही दिन लाग्न सक्ने बताए ।
हिजो रातिदेखि सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आएका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । धनगढीबाट छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् । केही व्यक्तिहरू हिँडेरै गन्तव्यमा पुगिरहेका छन् भने केही अझै अलपत्र छन् ।
पहिरोका कारण यहाँका ९ घरमा क्षति पुगेको छ । उनीहरु अहिले आफन्तको घरमा बसिरहेका छन् । गएराति करिब १ बजे आफूहरू विस्थापित भएको स्थानीय लक्ष्मी राईले बताइन् ।
‘हामी सुतेकै थियौं, एक्कासि रुखहरू लडेको आवाज आयो । हामी भागेर बच्यौं’, उनले भनिन्, ‘केहीबेर ढिलो गरेको भए हाम्रो पनि ज्यान जाने रहेछ ।’
यहाँ लक्ष्मीसहित टङ्क राई, वीरबहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे, ईश्वर घिमिरे, दिनेश आलेमगरको घर क्षति भएको छ । अहिले पनि झरी परिरहेको हुँदा अझै क्षति हुन सक्ने भन्दै उनीहरु त्रासमा छन् ।