रोल्पा बस दुर्घटना अपडेटः चारजनाको मृत्यु, १८ जना घाइते – Nepal Press

रोल्पा बस दुर्घटना अपडेटः चारजनाको मृत्यु, १८ जना घाइते

रूपन्देही । रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो । १८ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा माडी गाउँपालिका-४ रोल्पाकी हस्ता डाँगी, सोही ठाउँका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर विक र माडी गाउँपालिका-२ रोल्पाका प्रकाश बाँठा छन् ।

बस रोल्पाको त्रिवेणी गाउँपालिका ७ टिला नजिक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दिउँसो १ बजे दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पठाइएको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ । घाइतेहरूलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ ।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा परेको थियो । प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *