कहाँ छ दलित र गैरदलित भेटिने ठाउँ ? – Nepal Press

कहाँ छ दलित र गैरदलित भेटिने ठाउँ ?

शीर्षकमै तपाईंलाई लाग्नसक्छ, यस्तो पनि प्रश्न हुन्छ ! सजिलै भन्नुहुनेछ, दलित, गैरदलित वा जुनसुकै वर्ग लिंगका मानिस भेटिने एकै ठाउँ त छ नि- समाज । पक्कै त्यो ठाउँ समाज नै हो । जहाँ दलित र गैरदलित भेटिन्छन् । सतही हिसाबले हेर्दा जवाफ ठीक छ ।

जतिबेला मानव समाजमा सभ्यताको विकास भइसकेको थिएन, त्यो समयदेखि मानिस समूहमा बस्दै आएका हुन् । ४०-५० जनाको समूह जसले घुमन्ते फिरन्ते जीवन बिताउँथ्यो । त्यही भेटिन्थे त्यस समाजका सदस्यहरु । अहिले पनि जुनसुकै वर्ग, जात, लिंगका मानिस हुन्, भेटिने स्थान त त्यही समाज नै हो ।

एकपटक समाज र यहाँ भेटिने मानिसहरुका वर्गबीचको अन्तरक्रियालाई एकपाखे होइन बहुआयामिक दृष्टिले सोचिहेरौं त ! भेटिनुको शाब्दिक अर्थ भेट हुनु, भेट गरिनु भनेर शब्दकोशले व्याख्या गरेको छ ।

शाब्दिक अर्थलाई सामाजिक दृष्टिकोणबाट हेर्दा हामी कसरी कहाँ भेटिन्छौं ? देखादेख हुनु वा बाटातिर ठोक्किनुले मानिसहरुबीचको भेटलाई सार्थक मान्ने कि नमान्ने ? खोज्दै जाँदा हराएको वस्तु भेटिए जस्तो मात्रै पनि हो त भेटिनु ?

दुई हप्ता अघिसम्म यही प्रश्न सोधिँदो हो त म पनि यिनै प्रश्नोत्तरमा पक्कै रुमल्लिने थिएँ । भेट्नुको समाजशास्त्र खोज्नेतर्फ मेरो दृष्टिले नसोच्दो पनि थियो होला । दुई साताअघिको शनिबार अहिलेका नागरिक आन्दोलनका अगुवा प्राध्यापक डा. सञ्जीवकुमार उप्रेतीले सुनाएका एक अनुभवपछि दलित र गैरदलित भेटिने ठाउँको सामाजिक अन्तर्यको खोजी गर्नुपर्ने निष्कर्षमा पुगेको छु ।

चितवनमा चित्तौन कचेहेरीका आयोजकले लेखन थाल्नुअघि सामाजिक विषयमा कसरी चिन्तन गर्ने भन्नेबारे कार्यशाला आयोजना गरेको थियो । सोही कार्यशालाका सहजकर्ता उप्रेतीले नागरिक आन्दोलनमा सहभागी हुने निर्णय र स्वयंको चेतनास्तरमा परिवर्तन आएका घटनाहरुबारे केही अनुभूति साझा गरेका थिए ।

मानिसको सामाजिकीकरण प्रक्रिया अघि बढ्ने प्रमुख थलो परिवार हो । उसले अनुभूत गर्ने सुखद वा दुःखद भोगाइका सामाजिक लिगेसी परिवारबाट नै सुरु हुन्छ । परिवारपछि समुदाय र तिनै समुदायमा देखिने र नदेखिनेगरी स्थापित सामाजिक संस्थाहरुले उसको हुर्काइमा प्रभाव पार्ने हो ।

प्रसंग थियो- जातीय विभेदको । उनले हामीसँग सारमा यसरी अनुभूति बाँडेका थिए- जातीय विभेद अन्त्य गर्ने बलियो माध्यममध्ये एक विवाह हो । त्यसैले छोरीको विवाह दलित केटासँग होस् भन्ने चाहना मेरो थियो । उमेर पुगेका छोरीलाई आफैंले केटा खोजिदिएर यससँग विवाह गर भन्ने कुरा आएन । तर, उनीहरुलाई भेटाइदिन पाए एकअर्कासँग परिचित हुन्थे, सम्बन्ध आत्मीय हुन्थ्यो र विवाहको योजना बनाउन सक्थे भन्ने लागिरह्यो । मैले दलित केटासँग सामाजिक सञ्जाल वा कुनै माध्यमबाट भेटाइदिन केही साथीहरुमार्फत पनि सहयोग पनि लिएँ । तर, मेरो प्रयत्न सफल हुन सकेन । कम्तीमा छोरीले पहिलेदेखि दलित साथी बनाउन पाएकी भए भेट गराइदिन समस्या नहुँदो हो ।

उनले आफ्नो अनुभूतिसँगै बाल्यकालमा डाक्टर बुबासँगै पूर्वी पहाडको एउटा गाउँमा बस्न जाँदा दलित बालिका राम्री लागेर उनको पछि लाग्दै घर पुगेको र उनीहरुले पानी खान नदिएको अनुभूति पनि बाँडेका थिए ।

उनले सुनाइरहँदा म भने आफ्नै छोराले हरेक दिनजसो सुनाउने विद्यालय अनुभव सम्झिरहेको थिएँ । पूर्वप्राथमिक तहमा पढ्ने ६ वर्षको उसले एक दिन घर आएर भनेको थियो, मामु मैले बेस्ट फ्रेण्ड बनाए नि ! उसको मिल्ने साथी विक थरको थियो । मलाई उसले थर सुनाएकै दिन फरक खाले आनन्दको अनुभूति भएको थियो । तर, उसले भेटेको विक थरको साथीसँग आत्मीयतालाई सामाजिक दृष्टिले हेर्ने चेत भने खुलेको थिएन । हिजोआज हरेकजसो दिन उसले आफ्नो साथीसँग जिस्किएको, होमवर्क लेख्न सघाएको र कहिलेकाहीं झगडा गरेको कुराकानी गरिरहन्छ ।

मानिसको सामाजिकीकरण प्रक्रिया अघि बढ्ने प्रमुख थलो परिवार हो । उसले अनुभूत गर्ने सुखद वा दुःखद भोगाइका सामाजिक लिगेसी परिवारबाट नै सुरु हुन्छ । परिवारपछि समुदाय र तिनै समुदायमा देखिने र नदेखिनेगरी स्थापित सामाजिक संस्थाहरुले उसको हुर्काइमा प्रभाव पार्ने हो । त्यहीबाट सिकाइका प्रक्रिया अघि बढ्ने हो ।

नेपालका सामाजिक मुद्दाहरुमा बहस गर्ने, सडकमा नै झरेर आन्दोलन गर्ने सञ्जीव उप्रेतीले किन भेटेनन् छोरीको विवाहको लागि दलित समुदायका केटा । अझ भनौं, छोरीलाई दलित युवक प्रेमी बनाइदिने र उनले चाहेमा विवाहसमेत गरिदिने उनको योजना किन सफल हुन सकेन ?

यो विषयलाई हेर्ने दृष्टिकोण व्यक्तिको हिसाबले होइन, नेपाली समाजको सामाजिक अर्थ-राजनीतिसँग जोडिएको विषय हो जस्तो मलाई लाग्छ । भारतका दलित लेखक डा.सुरज येंगडेसँग केही समयअघि चितवनमा भएको अन्तक्रियामा मैले प्रश्न गरेको थिएँ, ‘दलित हुनु र गरिब हुनुबीच केही अन्तरसम्बन्ध छ ?’

समान शिक्षा आर्जन गर्न पाउनुपर्ने विद्यालयमा एउटै समाजको तर, फरक वर्गका मानिस पुग्नै पाउँदैन भने उसले कसरी समाजलाई बुझ्न सक्छ वा आफूले भोग्ने र भोग्दै आएका अनुभूतिलाई परिवर्तन गर्नुपर्छ भन्ने सचेतना विकास कसरी गर्नसक्छ ?

जवाफमा उनले आफ्नै विगतमा आकाशबाट वर्षामा पानी पर्न थालेपछि बुबाआमाले छानोमुनि रात कटाउँदै बिताएका कैयौं रात सम्झिएका थिए । अझ सम्झिएका थिए, बुबाको मृत्युपछि जेठो छोरा हुनुका नाताले आफूले आमासँगै मिलेर बुबा झैं छानोका प्वालबाट चुहिएका पानीका धाराहरु रातभर अनिदो रहेर घरभित्र पस्नबाट जोगाएको क्षण ।

उनले त्यसैलाई आधार बनाएर भनेका थिए, सामाजिक संरचनामा आर्थिक स्तरका आधारमा दलनमा रहेका वर्गहरु नै कालान्तरमा पुगेर दलित भए । अनि उनीहरु सामाजिक स्तरीकरणको मापनमा जातीय, वर्गीय सबै रुपले समाजको पिँधमा रहिरहे ।

एउटा डाक्टरको सन्तान र रातभर चुहिएको छानोबाट आफूलाई जोगाउन अनिदो रात बिताएर बिहान बनाएको व्यक्ति भेटिने ठाउँ एकै होलान् त ?

मानिसको परिवारपछिको दोस्रो सिक्ने थलो विद्यालय हो । त्यहाँ समाजका सबैखाले समुदायको सहभागिता हुन्छ, हुनुपर्छ । हाम्रो सामाजिक संरचनाको सामाजिक परिवेश बुझ्न चितवन जिल्लाको एउटा सानो तथ्यांक हेरौं ।

चितवन शिक्षामा एकदमै राम्रो मानिएकोमध्ये एक जिल्ला हो । जिल्लाको शैक्षिकदर पनि उच्च छ । २०७९ को जिल्ला शिक्षा समन्वय समितिको तथ्यांकअनुसार यहाँका सामुदायिक विद्यालयमा एक लाख ७०० विद्यार्थी पढ्छन् । संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी संख्या ८३ हजार २८९ जना छन् ।

यो तथ्याङ्कलाई समितिले अलि मसिनो गरी पनि हेरेको छ । जसअन्तर्गत सामुदायिक विद्यालयमा पढ्ने दलित विद्यार्थीको संख्या १५ हजार १५१ जना छन् । संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी ५ हजार ४८६ जना छन् । यस संख्यालाई प्रतिशतमा लैजाँदा सामुदायिक विद्यालय पढ्ने कुल विद्यार्थीमध्ये १५.०५ प्रतिशत र संस्थागत विद्यालयमा पढ्ने ६.५८ प्रतिशत दलितको संख्या हुने रहेछ ।

यस तथ्यांकलाई अध्ययन गर्न सामाजिक अर्थ-राजनीतिको अवधारणालाई अलिकति मौलिक रुपले विश्लेषण गर्दा अझ उपयुक्त होला । हाम्रो अर्थ व्यवस्था र सरकारी नीतिले नै निजी भनेको नाफामूलक शिक्षण संस्था, जसले शुल्क चर्को लिएर शिक्षाको सेवा दिनसक्छ भन्ने यथार्थ स्वीकार गरेको छ । सामुदायिक विद्यालय भन्नेबित्तिकै कम आय भएका, पढ्न चर्को शुल्क तिर्न नसक्ने मानिसका रोजाइको ठाउँ भन्ने स्थापित भइसकेको छ ।

निजी विद्यालयमा पढ्ने दलित विद्यार्थीको संख्या दोब्बर कम हुनुको समाजशास्त्र के होला ? हामी बुझ्न सहजै सक्छौं । अब कारण खोजी गरौं त, दलितहरुसँग गैरदलित कहाँ भेटिन्छौं ?

टोलका खेल्ने चौरहरुमा दलित बालबालिकासँग अर्को समुदायका बालबालिका अँगालो हालेर उफ्रिन सक्छ वा सक्दैन ? उसलाई चोट लाग्दा आफ्नो सर्टको फेरो च्यातेर अरु जातका साथीले घाउ बाँधिदिन सक्छन् ?

समान शिक्षा आर्जन गर्न पाउनुपर्ने विद्यालयमा एउटै समाजको तर, फरक वर्गका मानिस पुग्नै पाउँदैन भने उसले कसरी समाजलाई बुझ्न सक्छ वा आफूले भोग्ने र भोग्दै आएका अनुभूतिलाई परिवर्तन गर्नुपर्छ भन्ने सचेतना विकास कसरी गर्नसक्छ ?

नेपालको जनगणनाको २०७८ सालमा तथ्यांक जातिको थरको आधारमा लिइएकाले ठ्याक्कै दलितको संख्या यति भन्ने यकिन नभए पनि राष्ट्रिय दलित आयोगले १३.९ प्रतिशत हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । सिंगो राज्यको जनसंख्यामा करिब १४ प्रतिशत हिस्सा ओगट्ने मानिसहरुका लागि समान रुपमा भेटिने थलोहरुको विकास हामीले किन गर्न सकेनौं ?

हुन त हाम्रो राज्य एकदमै अग्रगामी छ । २०२० सालदेखि नै कानून बनाएर मान्छे-मान्छेबीच हुने छुवाछूतको अन्त्य गरिसकेको छ । हामी कागजले मानिसहरुबीच जातका आधारमा गरेको विभेद अन्त्य गरेको ४०औं वर्षमा हिँडिरहेका छौं । २०२० सालमा जन्मिएको मानिस प्रौढ हुने उमेरमा गइसक्यो । तर, सामाजिक परिवर्तन तथ्यहरुमा किन हुन सकेन ?

हामीले पाउने सामाजिक व्यवस्थाका तथ्यगत वर्तमान अवस्थाले भन्छ, जबसम्म कुनै एक समुदायका मानिसलाई आफूले गरिरहेको असमान व्यवहारको बोध अर्को समुदायको व्यक्तिले गर्न सक्दैन तबसम्म कानून अभिलेखमा सुरक्षितमात्रै रहन्छ, कार्यान्वयनमा आउँदैन । समाज परिवर्तनको श्रृङ्खला कागजी अभिलेखहरुको वर्षौंको इतिहासले होइन मानिसको सोचाइमा आएको परवर्तनले मात्रै गर्नसक्छ ।

व्यवहार परिवर्तनको लागि समान अनुभूत गर्नसक्ने, एकअर्काका दुःखाइहरु महसुस गर्ने थलोहरु निर्माण गर्न किन हामी चुकिरहेका छौं ? एउटै समाजमा एक वर्गलाई माथि हुँ भन्ने महसुस हुने र अर्को वर्गलाई दमित बनाउने सामाजिक संस्थाहरुको विकासमा राज्यका नीतिहरुले किन सहयोग गरिरहेका छन् ?

त्यही छलफलमा भारतीय लेखक डा. येंगडेले कसरी जातीय विभेद हटाउने भन्ने प्रश्नमा भनेका थिए- हामीले छलफल गर्ने ठाउँ पाउनुपर्छ । जहाँ आत्मविश्वासका साथ आफ्ना कुराहरु राख्न सकियोस् । यस विषयमा को संवेदनशील छन् भन्ने कुरा उसलाई पनि अरु कसैले मूल्यांकन गरिरहेको होस् ।

पक्कै पनि एकअर्काबीच अनुभूति बाँड्ने ठाउँ बाल्यकालदेखि नै निर्माण हुनुपर्छ । टोलका खेल्ने चौरहरुमा दलित बालबालिकासँग अर्को समुदायका बालबालिका अँगालो हालेर उफ्रिन सक्छ वा सक्दैन ? उसलाई चोट लाग्दा आफ्नो सर्टको फेरो च्यातेर अरु जातका साथीले घाउ बाँधिदिन सक्छन् ? जहाँ आफ्ना बाल्यकालीन अनुभूतिहरु एक अर्काको साझा हुन्छ ।

विद्यालय, जहाँ उनीहरु हुर्किंदै गर्दा उनीहरु एकअर्काबीच समानुभूतिपूर्ण व्यवहार गर्न सक्छन्, नजिक हुन सक्छन्, झगडा गर्न सक्छन् र प्रेम गर्न सक्छन् । अन्तमा एकअर्कालाई अपनाउन उनीहरु सहज अनुभूति गर्छन् । हो, त्यही थलो हो परिवर्तनको, समानताको अनि समतापूर्ण भेटको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *