मनकामना अस्पतालसँग स्वास्थ्यले माग्यो गर्भवती मृत्यु घटनाको पूरा विवरण – Nepal Press

मनकामना अस्पतालसँग स्वास्थ्यले माग्यो गर्भवती मृत्यु घटनाको पूरा विवरण

चितवन । १६ हप्ताको गर्भवतीको गर्भपतन गराउँदा मृत्यु भएको विषयमा स्वास्थ्य कार्यालय चितवनले भरतपुरको मनकामना अस्पतालसँग लिखित सोधपुछ गरेको छ ।

शुक्रबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटनाको पूरा विवरण लेखी पठाउन पत्र काटेको हो । कार्यालयका सुरक्षित गर्भपतन फोकल पर्सन जनस्वास्थ्य नर्स अधिकृत नन्दकली चापागाईका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आजै पठाउन अस्पताललाई भनिएको छ ।

मनकामना अस्पताल प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शय्याको सञ्चालन स्वीकृत लिएको अस्पताल हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनमा २३ वटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतनको लागि सूचीकृत छ । तर, मनकामना अस्पतालको सूचीकृत अनुमति अभिलेख चितवनमा छैन ।

भरतपुर महानगरपालिका वडा नं. २६ की ३५ वर्षीया नविना महतोको शनिबार गर्भपतनको क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए ।

घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले २७ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति दिएपछि आफन्तले शनिबार शव बुझेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *