मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापा – Nepal Press

मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापा

विराटनगर । मासिक ६० हजारभन्दा बढी तलब दिने भन्दै नेटवर्किङ मार्केटिङमा लगाउने इटहरीस्थित एकेएम ग्रुप अफ कम्पनीमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ ।

सामाजिक सञ्जालहरुमा आर्कषक तलब सुविधा देखाउने कम्पनीले पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवायुवतीहरुलाई लक्षित गरेर विज्ञापन गर्ने गरेको र माकेटिङमा सामान बेच्न पठाउने गरेको पाइएको छ ।

कर्मचारीहरुलाई ६० हजारसम्म तलब भन्दै गरेको विज्ञापन छ्यापछ्याप्ती देखिएपछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

‘पछिल्लो समय ठगीका नयाँ नयाँ शैली देखापरेका छन्’, उनले भने, ‘सर्वसाधारण जुनसुकै बहानामा ठगिइन सक्ने भएकाले कार्यालयमै गएर छापा मारेका हौं ।’

छापा मार्दा ग्रुपले सामान बेच्न सर्वसाधारणमा झूटो विज्ञापन गरेको पाइएको मेयर पौडेलले बताए ।

यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्टमै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सर्तकता अपनाउन उनले आग्रह गरे ।

ठूलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिशनको लागि कर्मचारीहरुले विज्ञापन गरेको स्वीकार गर्दै आगामी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए । सर्वसाधारणलाई झुक्याउने काम तत्काल रोक्न आगामी दिनमा यस्ता विज्ञापन गरे कारबाही गरिने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *