मनोरञ्जन क्षेत्रका श्रमिक महिलालाई अधिकार र सुरक्षाबारे पोखरामा प्रशिक्षक प्रशिक्षण – Nepal Press

मनोरञ्जन क्षेत्रका श्रमिक महिलालाई अधिकार र सुरक्षाबारे पोखरामा प्रशिक्षक प्रशिक्षण

पोखरा । मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूलाई उनीहरूको अधिकार, सुरक्षा र वकालतका बारेमा सचेत गराउन पोखरामा पाँच दिनको प्रशिक्षण दिइएको छ ।

शक्ति समूह र महिलाको निम्ति महिला मञ्चको साझेदारीमा सञ्चालित युएनडीइएफ परियोजना अन्तर्गत २५ जना श्रमिक महिलालाई प्रशिक्षण दिइएको हो ।

मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरूको श्रम अधिकार, महिला हिंसा विरुद्धको अधिकार, सामाजिक सुरक्षाको अधिकार लगायत कार्यथलोमा हुने यौनजन्य हिंसाविरुद्धको अधिकार सुनिश्चित गर्ने उद्देश्यले सो प्रशिक्षण दिइएको शक्ति समूहले जनाएको छ ।

साउन १६ देखि २० गते आयोजित प्रशिक्षक प्रशिक्षण तालिम शक्ति समूहले समन्वय गरेको हो ।

मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसाविरुद्ध आफ्नो अधिकार सुनिश्चित गर्नका लागि वकालत र पैरवी गर्न सक्षम बनाउने उद्देश्य रहेको शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बताइन् ।

मनोरञ्जन क्षेत्रमा मर्यादित रूपमा कार्य गर्नका लागि प्रोत्साहित गर्दै अन्य श्रमिकहरूलाई समेत सचेत गर्न सक्ने बनाउने उद्देश्यले २५ जनालाई प्रशिक्षक तालिम दिइएको हो ।

तालिममा मनोरञ्जन क्षेत्र अन्तर्गत डान्स बार, मसाज पार्लर, दोहोरी र कल्चरल होटलमा कार्य गर्ने २५ जना श्रमिक महिलाहरूको सहभागी रहेको थियो ।

तालिमको सञ्चालन परियोजना संयोजक सुशिला खकुरेलले गरेकी थिइन् भने तालिमको प्रशिक्षक सोनालाल चौधरी थिए ।

तालिमका सहभागीहरूलाई शक्ति समूहको संस्थापक एवं अध्यक्ष चरीमाया तामाङले प्रमाणपत्र वितरण गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *