बाबुराम विश्वकर्माको ‘भूराजनीतिको भार’ सार्वजनिक – Nepal Press

बाबुराम विश्वकर्माको ‘भूराजनीतिको भार’ सार्वजनिक

काठमाडौं । पत्रकार एवं लेखक बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार’ सार्वजनिक भएको छ ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारी तथा लेखक विश्वकर्माले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचनपछि पूर्व प्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन रु भन्दै प्रश्न गरे। पहिले नै अद्यावधिक गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति अहिले पनि परम्परागत रूपमा चलेको उनको भनाइ छ।

मुलुक सधैं दरिद्र भइराख्ने हो भने अन्तर्राष्ट्रिय क्रीडास्थल बन्न सक्ने र विदेशी चलखेल बढ्न सक्ने उनले बताए ।

नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका आयाम केलाउन पुस्तक प्रभावकारी रहेको उनको भनाइ थियो ।

कांग्रेस नेता रिजालले झुटा राष्ट्रवादको बिल्लाले कहीँ नपुर्‍याउने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनै पर्ने धारणा राखेका छन् । परराष्ट्र विज्ञ डा. इन्द्र अधिकारीले चार वर्षयताको घटनालाई पुस्तकले मिहिन रूपमा वर्णन गरेको बताइन् ।

चीनबाट हाम्रोतर्फ भएका अतिक्रमणबारे सरकारले अध्ययन गरे पनि त्यसलाई सार्वजनिक नगरी राख्दा नागरिकले भू अवस्थाबारे यथार्थ जानकारी पाउन नसकेको उनले बताइन् ।

पत्रकार अर्यालले नेपालको राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको बताए । नयाँ विश्व परिस्थितिमा भूराजनीति सबैले बुझ्नुपर्ने भन्दै उनले पुस्तकले विमर्शको बाटो खोलेको बताए ।

लेखक विश्वकर्माले तीन वर्षअघि सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेकै परिणाम यो पुस्तक आएको बताए । ‘भूराजनीतिको भार’ विमोचन कार्यक्रममा लेखक, बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ, सञ्चारकर्मीलगायत सबैको बाक्लो उपस्थिति रहेको थियो ।

दुई दशकभन्दा लामो समय खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो । १३ अध्यायमा समेटिएको पुस्तक एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डो प्यासिफिक लगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रित छ। सो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर