सिद्धार्थ बैंकको निक्षेप ३२ अर्बले बढेर सवा २ खर्ब नाघ्यो – Nepal Press

सिद्धार्थ बैंकको निक्षेप ३२ अर्बले बढेर सवा २ खर्ब नाघ्यो

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ९.९१ प्रतिशतले बढेको हो ।

यस अवधिमा खुद ब्याज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको छ । खुद नाफासँगै प्रतिशेयर आम्दानी २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । यो भनेको सिद्धार्थ बैंकको एक कित्ता शेयर बराबर २.०४ रुपैयाँ बढी आम्दानी भएको हो ।

बैंकको प्रतिशेयर नेटवर्थ भने १८०.७३ रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ । यो बैंकले ब्याजबाट गरेको आम्दानी हो । यससँगै सञ्चालन नाफा ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ ।

कम्पनीको रिजर्भ कोष १० अर्ब बढी छ । खराब कर्जा भने अघिल्लो वर्ष केही बढेको छ । अघिल्लो वर्ष १.०७ प्रतिशत रहेको खराब कर्जा अहिले २.०१ प्रतिशत पुगेको छ ।

बैंकको खुद व्यापारिक आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ । यसअन्तर्गत मुख्यतया विदेशी विनिमयसम्बन्धी आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ । गत आर्थिक वर्षको ११ महिनामा देशको आयातमा १६ प्रतिशतले कमी आउँदा बैंकको विदेशी विनिमयसम्बन्धी आम्दानीमा प्रभाव पारेको बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पूँजी १४ अर्व ८ करोड रहेको छ भने बैंकको इक्विटी २५ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष निक्षेपमा ३२ अर्ब १० करोड रुपैयाँले वृद्धि गरी २ खर्ब २३ अर्ब ६५ करोड पुर्‍याएको छ ।

बैंकको कर्जा २.२८ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्व २१ करोड पुगेको छ । बैंकले आफ्नो १ सय ९६ शाखा संजाल प्रभावकारी ढंगले परिचालन गर्न सकेकै कारण बैंकको वित्तिय विवरण सन्तुलित भएको जनाएको छ । बैंकले कर्जा नोक्सानी व्यवस्था वापत इम्पेयरमेन्ट चार्ज अन्तर्गत १ अर्व १२ करोड रुपैयाँ यस वर्ष मात्रै खर्च लेखांकन गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रहे तापनि यस वर्षको नाफावाट १ अर्व ४६ करोड ऋणपत्रको लागि पूंजि फिर्ता जगेडा कोषमा विनियोजन गरेको छ । फलस्वरुप प्रकासित वित्तीय विवरणमा ५.६५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिए तापनि सो कोषमा छुट्टाइएको रकमलाई समायोजन गर्दा बैंकको वास्तविक वितरणयोग्य नाफा १६ प्रतिशत रहेको देखिन्छ ।

बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) बाट वैदेशिक ऋण बापत र ५ करोड ५० लाख अमेरिकी डलर प्राप्त गरेको छ जुन आइएफसीले नेपालमा प्रदान गरेको रकममध्ये हाल सम्मकै उच्च हो ।

हालै मात्र नेपाल चार्टर्ड एकाउन्टेन्टस संघद्धारा बैंकलाई लगातार दोस्रो पटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानीत गरेको छ । यसको साथै दक्षिण एसियाली एकाउन्टेन्टस् संघले आयोजना गर्ने दक्षिण एसियाली राष्ट्रहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रतिस्पर्धाको लागि छनौट भई नेपालको तर्फबाट प्रतिनिधित्व पनि गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर