क्यान अध्यक्षको स्वीकारोक्ति: सन्दीपलाई टीममा नफर्काएको भए नेपालको ओडीआई नजोगिन सक्थ्यो – Nepal Press
नेपाल टक

क्यान अध्यक्षको स्वीकारोक्ति: सन्दीपलाई टीममा नफर्काएको भए नेपालको ओडीआई नजोगिन सक्थ्यो

‘पारस खड्का म्यानेजमेन्टमा आउनुपर्छ, तर एकैपटक अध्यक्ष बन्न खोज्नु हतार हुन्छ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) जिल्लादेखि केन्द्रसम्म नयाँ नेतृत्वको छनोटको प्रक्रियामा अघि बढेको छ । जिल्ला तहका अधिवेशनहरु यसै महिना हुनेछन् भने भदौमा प्रदेश र असोज ५ र ६ गते केन्द्रीय अधिवेशन गर्ने तालिका छ ।

क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोस्रो कार्यकालका लागि निर्वाचित हुने दाउमा छन् । उनले आफ्नो तयारी अघि बढाइसकेका छन् । क्यानको विधानअनुसार एक व्यक्ति दुई कार्यकाल अध्यक्ष हुन सक्छन् ।

चन्दको चार वर्षे कार्यकाल त्यति सन्तोषजनक भएन । उनी स्वयम् पनि आफ्नो कार्यकालसँग त्यति सन्तुष्ट छैनन् । कोभिडका कारण दुई वर्ष केही काम गर्न नपाएको हुँदा पूर्ण कार्यकालको महसुस पनि उनले गर्न सकेनन् । त्यसैले यो कार्यकालका अधुरा योजनाहरुलाई अर्को कार्यकालमा पूर्णता दिने उनको मनसाय छ ।

नेपाली कांग्रेसमा आवद्ध भए पनि चन्द मूलतः क्रिकेट व्यवस्थापनमा नै भिजेका व्यक्ति हुन् । उनले विभिन्न तहमा रहेर नेपाली क्रिकेटलाई टेवा दिएको तीन दशक भइसकेको छ । दुई दशक त उनी क्रिकेट बोर्डमै बसेका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा चन्दले आगामी अधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने स्पष्ट संकेत गरे । यद्यपि, उनले औपचारिक घोषणा गरिसकेका छैनन् ।

क्यानको निर्वाचन र नेपाली क्रिकेटका समसामयिक विषयमा चतुरबहादुर चन्दसँग गरिएको कुराकानीः

– के तपाईं फेरि क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने योजनामा हुनुहुन्छ ?

अहिले केही भनिहाल्न सक्दिनँ । जिल्ला, क्षेत्रको चुनावसम्म धेरै चहलपहल नगरौं कि भन्ने छ ।

– निर्वाचनमा भिड्नुपर्ने भएपछि माहोल त बनाइराख्नुपर्ने होला नि ?

अहिले जिल्लाहरुको अधिवेशन भइरहेको छ, प्रदेशको बाँकी छ । म समयमै घोषणा गर्छु । साथीभाइहरुले पनि घच्घच्याइरहनुभएको छ ।

– आफ्नो चार वर्षको कार्यकाल कत्तिको सन्तोषजनक मान्नुहुन्छ ?

मैले चार वर्षको कार्यकालमा राम्ररी काम गर्न पाइनँ । दुई वर्ष त कोभिडले खायो । दुई वर्षमा केही कामहरु भएका छन् । विवादका बीच पनि अलिकति काम गर्न सकियो भन्ने लाग्छ । विवाद त धेरै नै भए । कतिपय आन्तरिक, कतिपय बाह्य विवाद भए । मैले खुला रुपमा काम गर्ने वातावरण नै पाएको छैन ।

– काम गर्न चाहिँ कसले रोक्यो त ?

मैले भनिहालें, दुई वर्ष त कोभिडमै बित्यो । केही पनि गतिविधि हुन सकेन । नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा नै क्रिकेट ठप्प भयो ।

– तपाईंको कार्यकालका मुख्य उपलब्धि के हुन् ?

अहिले नेपाली क्रिकेटको स्तर समग्रमा माथि उठेको छ । यसमा खेलाडीहरुको मेहनत त छँदैछ, बोर्डको भूमिकालाई पनि नजरअन्दाज गर्न मिल्दैन । बोर्डले लिएका केही बोल्ड डिसिजनले क्रिकेटमा सकारात्मक प्रभाव परेको छ । प्रमुख प्रशिक्षक ल्याउने कुरा होला, सन्दीपलाई खेलाउने कुरा होला । नेपाल टी-२० सफल बनाउन गरिएको मेहनतका कुरा होलान् ।

– नेपाल टी-२० त भद्रगोलै भयो नि ! त्यसलाई कसरी उपलब्धि मान्ने ?

बीचैमा रोकिएको भए अझै भद्रगोल हुन्थ्यो । हाम्रा केही कमीकमजोरी भए होलान्, त्यो आफ्नो ठाउँमा छ । तर, प्रतियोगिता त जसरी पनि सम्पन्न गरियो नि ! नेपालका खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरका विदेशी खेलाडीहरुसँग खेल्न पाए । यसले पनि उनीहरुको स्तर वृद्धिमा सघाउ पुग्यो होला ।

– नेपाल टी-२० हुनुपूर्व तीनवटा फ्रेन्चाइज टुर्नामेन्ट निजी क्षेत्रबाट भइरहेका थिए । उनीहरुले राम्रा राम्रा विदेशी खेलाडीहरु ल्याएका थिए । स्वदेशका युवा खेलाडीहरुलाई पनि अवसर मिलेको थियो । त्यो त गुम्यो नि ?

त्यस्तो होइन । फ्रेन्चाइज प्रतियोगिताहरु दुईवटा भएकै थिएनन् । एउटा ईपीएल गर्ने भनेको थियो । हामीले भनेअनुसार गर्न मानेनन् । त्यो पनि पछिल्लो समय एउटा सहमतिमा गइरहेका छौं ।

– नेपाल टी-२० त अब नहुने होला । अब पहिले जस्तो फ्रेन्चाइज टुर्नामेन्टहरु निजी क्षेत्रबाट आयोजना गर्न दिइन्छ ?

नेपाल टी-२० रोकिँदैन, क्यान आफैंले गर्छ । हामीलाई पनि सबै आइडिया भइसक्यो । सुरु गर्दा अलिकति तलमाथि त भइ नै हाल्छ । वान डे प्रतियोगिताको विषयमा पनि छलफल भइरहेको छ । हामी घरेलु क्रिकेटलाई बलियो बनाउने पक्षमा छौं ।

– नेपाली क्रिकेट माथि उठ्यो भन्ने आधारहरु चाहिँ के के छन् ?

नेपाली टीमले एसिया कप खेल्दैछ चाँडै । विश्वकपको ग्लोबल क्वालिफायर पनि खेल्यो । यो ऐतिहासिक उपलब्धि हो भन्ने लाग्छ । हाम्रो एकदिवसीय स्टाटस नै गुम्ने खतरा उत्पन्न भएको थियो । त्यो पनि जोगाउन सफल भयौं । यो पनि महत्वपूर्ण सफलता हो । यसैगरी अन्डर १९ विश्वकप क्रिकेटमा पनि क्वालिफाइ भएका छौं ।

– यी त खेलाडी र टीमले हासिल गरेका सफलताहरु न भए । व्यवस्थापनले जस खोज्न मिल्छ र ?

टीमलाई राम्रो वातावरण नबनाएको भए, राम्रो प्रशिक्षक र प्रशिक्षणको व्यवस्था नमिलाएको भए, सन्दीपको विषयमा बोल्ड डिसिजन नलिएको भए, टीमलाई यत्तिकै घरमा राखेर क्वालिफाइ हुन्थ्यो र ?

१३ वटा म्याच नेपाल टी-२० मा खेलाडीहरुले खेल्न पाएका छन् । राम्रा राम्रा विदेशी खेलाडीहरुसँग ड्रेसिङ रुम शेयर गर्न पाएका छन् । यो बोर्डकै कारणले सम्भव भएको होइन र ? नेपाल टी-२० बाट पूरै सन्तुष्टि नभए पनि अर्धसन्तुष्टि लिने ठाउँ अवश्य छ ।

– सन्दीपको प्रसंगमा कुरा गर्दा उनलाई टीममा फर्काउन क्यानले बलियो अडान लियो । त्यसबेला निकै कन्ट्रोभर्सी पनि भएको थियो । अहिले फर्केर हेर्दा कस्तो लाग्छ ?

क्रिकेट संघको अध्यक्षका हिसाबले म सधैं नेपाली क्रिकेट माथि जाओस् भन्ने नै चाहन्छु । नेपाली टीम माथि उठ्यो भने अल्टिमेटली बोर्डको नाम पनि जोडिने हो । भएकोलाई पनि जोगाउन सकेनौं, भएकालाई पनि ध्वस्त पा¥यौं भने बोर्डमा बसिरहनुको औचित्य थिएन । त्यसैले कुनै पनि खेलाडीलाई मर्का पर्दा अभिभावकीय भूमिका बोर्डले निभाउनुपर्छ । यो मेरो व्यक्तिगतभन्दा पनि बोर्डले गरेको निर्णय हो ।

– सन्दीपलाई तत्काल नफर्काएको भए नेपाली टीम आजको अवस्थामा हुन्थ्यो वा हुन्नथ्यो होला ?

त्यो त सबैलाई थाहै छ । सन्दीप नभएको भए सायद हामी ओडीआई स्टाटस गुमाउन सक्थ्यौं । किनभने हामीले लिग- २ का २४ खेलमा ८ खेलमात्र जितेका थियौं । हामीले बाँकी खेलमध्ये अधिकांश जित्नैपर्ने दबाब थियो । पछाडिका १३ मध्ये १२ खेलमा जीत हात पार्‍यौं । प्रत्येक जीतमा सन्दीपले राम्रो योगदान दिएका छन् । यो कुरालाई सबैले स्वीकारेका छन् र स्वीकार्नैपर्छ ।

एसिया कपमा क्वालिफाइ गर्न पनि उसको ठूलो भूमिका छ । प्लेयर अफ द टुर्नामेन्ट नै भएको हो । सन्दीपको उपस्थितिले नेपाली क्रिकेटलाई धेरै फरक पारेको छ । कानूनका कुराहरु चाहिँ कानूनी रुपमा नै टुंगिनेछन्, त्यसमा धेरै बोल्न परेन ।

– तपाईं अब अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा कहिले गर्नुहुन्छ ?

अहिले जिल्ला र प्रदेशको अधिवेशन गर्दैछौं । प्रदेशको भदौ २० गतेभित्र सक्ने भनिएको छ । १६ गतेसम्म सकिन्छ कि भनेर सोच्या छौं । त्यसपछि सबैसँग सल्लाह गरेर गर्नुपर्ला । समयमै गर्छु । साथीहरुले पनि उठ्नलाई सल्लाह दिइरहेका छन् ।

– अघिल्ल्लो कार्यकालमा यो काम गर्न सकिएन भन्ने के रह्यो ?

पूर्वाधारमा कुनै फड्को मार्न सकिएन । अहिले सरकारलाई जसरी दबाब परेको छ, सुरुदेखि त्यस्तो दबाब परेको भए सायद पूर्वाधारको काम पनि हुन सक्थ्यो । सरकारलाई हामीले जिम्मेवार बनाउन नसकेकै हो । निजी क्षेत्रलाई पनि हामीले पूर्वाधारमा जोड्न सकेनौं । अहिलेसम्म पनि देशमा गतिलो रंगशाला छैन । अब चाहिँ सरकार र राजनीतिक दलहरुलाई रंगशाला चाहिन्छ भन्ने बोध भएको छ ।

– चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला अगाडि बढेर पनि स्रोत अभावका कारण रोकिएको छ । यसलाई पूर्णतामा लैजान क्यानले पनि केही भूमिका खेल्न सक्थ्यो होला नि ?

हो, त्यो एउटा राम्रो सोचले सुरु गरिएको थियो । तर, कोभिडका कारणले समस्या उत्पन्न भयो । अनि, प्रोजेक्ट पनि धेरै ठूलो भयो । अहिले नै चितवनमा २५-३० हजार क्षमताको रंगशाला आवश्यक थिएन । ५ हजारको बनाएको भए सम्भव हुन सक्थ्यो । भिजन ठीक थियो । तर, प्लानिङमा अलिकति कमीकमजोरी भयो भन्ने लाग्छ ।

– तपाईं कांग्रेस पार्टीमा पनि आवद्ध हुनुहुन्छ । जिल्ला सभापति पनि हुनुभएको थियो । राजनीतिको साटो किन क्रिकेटमै रमाइरहनुभएको छ ?

राजनीतिमा म पछि जोडिएको हो । सुरुदेखि क्रिकेटमै छु । ३० वर्षदेखि क्रिकेट विकासमा समर्पित भएर लागेको छु । सुदूरपश्चिम जिल्लामा क्रिकेट संघको संस्थापक अध्यक्ष हुँ । बैतडीको पनि संस्थापक अध्यक्ष हुँ । बैतडीलाई क्रिकेटमा उत्कृष्ट जिल्ला बनायाैं । सुदूरपश्चिमलाई हरेक उमेर समूह र महिलामा समेत उत्कृष्ट बनायौं । राजनीति त पछिल्लो कुरा हो । २० वर्षदेखि त लगातार क्यानको बोर्डमा नै छु । आईसीसीले समेत मलाई लङ टाइम सर्भिस अवार्ड दिएको छ । नेपालमा मलगायत ६ जनालाई यो अवार्ड दिइएको छ । चार जना त बितिसक्नुभयो ।

– अर्को कार्यकालका लागि उम्मेदवारी दिँदै गर्दा तपाईंका योजना के के छन् ?

सन् २०२७ मा महिला वर्ल्डकप नेपालमा गर्ने भनेर आईसीसीले निर्णय गरेको छ । त्यसका लागि अहिलेदेखि नै पूर्वाधारको तयारी गर्नुपर्छ । साथै हामीले पनि महिला विश्वकप खेल्नुपर्छ । हामी सीधै खेल्न पाउँदैनौं । एउटा टार्गेट त्यो हो ।

चार वर्षभित्र टेस्ट क्रिकेटको आधारशीला बनाएर सन् २०२७ देखि २०३० सम्ममा टेस्ट प्लेइङ कन्ट्री बनाउने लक्ष्य छ ।

टी-२० वर्ल्डकपको टार्गेट पनि छ । साथै ओडीआईको पनि विश्वकप खेल्नेछौं । अहिले १० वटामात्रै टीम भएर हामी मर्कामा परेका हौं । अर्कोपटक १४ वटा टीम हुने भएकाले हामी छनोट हुन सक्छौं ।

जसरी पनि नेपाली टीमलाई माथि पुर्‍याउने हो । खेलाडीको एक्सपोजर र रिक्वायरमेन्टहरुमा ध्यान दिनुपर्ने छ । वर्षभरमा २२० दिन खेलाडीहरुले घरेलु प्रतियोगिता खेल्ने वातावरण बनाउँछौं ।

– नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का पनि क्रिकेट संघमा आउन खोजिरहनुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?

सुरु गर्दा राम्रै हुन्छ भन्ने हो । नेपाली क्रिकेटको उत्कृष्ट व्यक्ति खेलको म्यानेजमेन्टभित्र आउन चाहन्छ भने सुरु गर्दा त्यसलाई मैले अन्यथा लिने कुरा छैन ।

– धेरै क्रिकेट समर्थकहरु उहाँलाई केन्द्रीय अध्यक्ष नै भएको हेर्न चाहन्छन् । उहाँले भोलि अध्यक्षमा दावेदारी प्रस्तुत गर्नुभयो भने तपाईं छाड्न तयार हुनुहुन्छ ?

यो विषयमा केही कुरा भएको छैन । उहाँले केन्द्रीय अध्यक्षका लागि अहिल्यै हतार गर्नु उपयुक्त हुन्छ जस्तो लाग्दैन । बोर्डमा नै आउने हो भने एक खालको वातावरण बनाएर सबैको साझा व्यक्तित्व भएर आउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर