भागबन्डाको कुरुप अभ्यास- मुक्त कमैया उपसभामुख कोइलीदेवीलाई के अभियोगमा हटाउला गठबन्धनले ? – Nepal Press

भागबन्डाको कुरुप अभ्यास- मुक्त कमैया उपसभामुख कोइलीदेवीलाई के अभियोगमा हटाउला गठबन्धनले ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको गाँठो फुकाउन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न गएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरूलाई प्रचण्डले उपसभामुख हटाएर भएपनि भागबन्डा मिलाउन सकिने उपाय देखाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय दाबी गरिरहेका बेला १ मन्त्री र १ राज्यमन्त्री सहित २ सभापतिमा सहमति भएको छ । तर, प्रधानमन्त्री स्वयम्‌ले सहमतिका लागि प्रदेश उपसभामुखसमेत हटाउन सकिने बताएका थिए । यस विषयमा सोमबार सिंहदरबारमा मात्र नभई मंगलबार शीर्ष नेताबीच बालुवाटारमा पनि छलफल भयो । सुदूरपश्चिम प्रदेशमा उपसभामुख एमालेकी कोइलीदेवी चौधरी छिन् । अहिले एमाले प्रतिपक्ष रहेको भन्दै शीर्ष नेताहरूले बालुवाटारमा उक्त पद पनि नागरिक उन्मुक्तिलाई दिन सकिने छलफल भएको थियो ।

‘उपसभामुख पनि नागरिक उन्मुक्तिलाई दिने गरी छलफल भएको हो तर, उपसभामुखलाई हटाउने प्रक्रिया लामो हुन सक्ने भन्दै तत्काल १ मन्त्री १ राज्यमन्त्री र २ समिति सभापति दिने गरी सहमति भएको छ’, बालुवाटार बैठकका सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।

त्यो छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी थिए ।

बैठकमा सहभागी नागरिक उन्मुक्तिका संरक्षक चौधरीले उपसभामुखसहित १ मन्त्री र १ राज्यमन्त्री र २ समिति सभापतिमा सहमति भएको बताए ।

उपसभामुखमाथि कस्तो अभियोग लाग्दा ?

संविधानको १८२ मा सभामुख तथा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ ।

प्रदेशसभाको सदस्य नरहेमा, राजीनामा दिएमा वा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइबाट पारित भएमा सभामुख वा उपसभामुख रिक्त हुने छन् । सुदूरपश्चिम प्रदेशमा बहालवाला उपसभामुख हटाउन सत्तागठबन्धनले तेस्रो विकल्प रोज्न सक्ने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशसभा नियमावली परिच्छेद २१ को धारा १८२ मा पनि सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गर्ने व्यवस्था छ ।

‘कुनै पनि सदस्यलाई सभामुख वा उपसभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यको समर्थन प्राप्त गरी तत्‌सम्बन्धी प्रस्ताव पेश गर्न सक्ने छ’ उपदफा १ मा भनिएको छ ‘त्यस्तो प्रस्ताव पेश गर्ने सूचना सचिवलाई दिनुपर्ने छ । ’

अव सत्ता गठबन्धनले भागबन्डाको लागि उपसभामुखलाई हटाउन पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गराउनु पर्ने हुन्छ । तर, उपसभामुख कोइलीदेवी चौधरीविरुद्ध उक्त प्रस्ताव दर्ता गर्दा फेरि विवाद हुने देखिन्छ ।

‘राजनैतिक भागबन्डाकै लागि उपसभामुख हटाउने कुरा गलत हो’ कांग्रेस सांसद प्रकाश बमले भने, ‘केन्द्रमा भएको सहमति अनुसार हामीले हटाउने प्रयास त गर्नुपर्ला तर, यसरी हटाउने कुरा गलत हो । यसले राम्रो गर्दैन । म यो कुराको पक्षमा छैन ।’

माओवादी प्रमुख सचेतक मानबहादुर धामीले केन्द्रमा यस विषयमा सहमति भएपनि प्रदेशमा छलफल नभएको जानकारी दिए ।

‘भागबन्डाकै लागि उपसभामुखलाई हटाउने भन्ने कुरा त राम्रो होइन तर, हामीसँग यस विषयमा छलफल भएको छैन’, उनले भने ।

सत्ता पक्षका कतिपय सांसदहरू सत्ता भागबन्डाको आधार उपसभामुख पदलाई नबनाइन हुने बताइरहेका बेला प्रतिपक्षी दल नेकपा एमालेले पनि यस विषयमा खरो विरोध जनाइरहेको छ ।

‘उपसभामुख हटाउने कुरा विधि र विधानविपरीत हो , उहाँमाथि कुनै अभियोग नभई कसरी हटाउन मिल्छ ?’ एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले भने, ‘संसदीय ज्ञान नभएका र सत्ता भागबन्डा नै प्रमुख मान्नेहरूले गरेको छलफल होला । हामी त्यसको विरोध गर्छौं ।’

को हुन् उपसभामुख चौधरी ?

कैलालीको धनगढी उपमहानगरपालिका १६ जलघुस्राकी कोइली देवी चौधरी मुक्त कमैया प

रिवार हुँदै उपसभामुखको जिम्मेवारीमा पुगेकी हुन् । उनका बुबा सुकलाल डंगौरा थारु र आमा लक्ष्मी डंगौरा थारु जन्मजात कमैया थिए ।

दाङको देउखुरीबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकाको देखतभुलीमा आउँदा पनि उनको परिवार दुई छाककै लागि जमिनदार कहाँ कमैया बस्यो ।

उनको पीडा कमैया जीवनमा मात्रै सीमित रहेन । उनी १३ वर्षकै हुँदा उनको विवाह कैलालीको साबिक उर्मा गाविसको जलघुस्राका बुद्धिराम चौधरीसँग भयो । स्वध्यायनमा रुची राख्ने उनी लुथरन विश्व फेडेरेसनसँग आबद्ध भइन् । बढ्दै गएको सामाजिक चेतनासँगै चौधरी राजनीतिमा आइन् ।

२०५४ सालमा नेकपा एमाले साधारण सदस्यता लिएकी उनी एमालेबाटै उर्मा गाविसको महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । एमालेको समानुपातिक सांसद हुँदै माघ ४ गते चौधरी उपसभामुखमा निर्वाचित भएकी हुन् ।


प्रतिक्रिया

One thought on “भागबन्डाको कुरुप अभ्यास- मुक्त कमैया उपसभामुख कोइलीदेवीलाई के अभियोगमा हटाउला गठबन्धनले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर