फिर्केखोलामा सिमांकनपछि मापदण्ड लागू हुन्छ, अतिक्रमित संरचना हटाइन्छ : मेयर आचार्य – Nepal Press

फिर्केखोलामा सिमांकनपछि मापदण्ड लागू हुन्छ, अतिक्रमित संरचना हटाइन्छ : मेयर आचार्य

पोखरा । पोखराको फिर्के खोलाको चर्चा चलिराखेको छ । साउन ३ गतेदेखि खोलाको सिमांकन गर्न सुरु गरेको सर्वेक्षक वासुदेव पौडेल नेतृत्वको सर्वेक्षण टोलीले हालसम्म ५ किलोमिटर सिमांकन गरिसकेको छ ।

५ किलोमिटरको सिमांकनमा खोलाको दायाँबायाँ करिब ३ सय चिन्ह तथा पोलहरु गाडिएको सर्वेक्षक पौडेलले जानकारी दिए । फिर्के खोलाको सिमांकन कार्य गाईघाटदेखि वडा नं ४ सम्म आइपुगेको छ ।

फिर्के खोलाको प्राकृतिक बहावमा सृजित अवरोध समाधान सहित फिर्के खोलाको संरक्षण, संवर्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सिमांकन कार्य सुरु गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । बाँकी सिमांकनको काम एक सातामा सम्पन्न गरिने सर्वेक्षक टोलीको भनाइ छ ।

पहिलो चरणमा प्राविधिक सर्वेक्षण र नाप जाँच गरी खोलाको प्राकृतिक सिमाना यकिन गरिने मेयर आचार्यले सुनाए । उनले दोस्रो चरणमा स्थानीय सरकारले तोकेको मापदण्ड लागु गर्ने कार्य हुने बताए । ‘मापदण्डअनुसार फिर्केको अतिक्रमण गरेर बनाइएका संरचना हटाइने छ । दिगो पर्यटन विकास परियोजना अनुसारको पूर्वाधार निर्माण गरिनेछ,’ मेयर आचार्यले भने ।

सिमाङ्कनमा खटिएका प्राविधिकहरूले कतिपय स्थानमा भौगोलिक कठिनाइ, कतिपय स्थानमा अत्यधिक फोहोर र सर्प लगायत लामखुट्टेहरूको सामना गर्नुपरेको सर्वेक्षण टोलीका संयोजक पौडेलले बताए । सिमांकन टोलीमा १८ जना प्राविधिकसहित नगर प्रहरी र सहयोगी समेत गरी ४० जना परिचालन गरिएको छ ।

फिर्के खोला पोखरा बजार हुँदै फेवाताल पुगेर टुंगिन्छ । यही खोलाले बीच बाटोमा सजिलै बग्न पाएको छैन । फिर्के खोला चौतर्फी अतिक्रमणको चपेटामा छ । केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने उक्त खोला अहिले अचाक्ली दूषित छ । खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो देखिन्छ । खोलामाथि नै घरहरु ठडिएका छन् । खोला कतै ४ मिटरमा खुम्चिएको छ त कहीं ४० मिटरसम्म फैलिन पाएको छ ।

निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित फिर्के रेखांकन समितिले खोला मिचेर १९२ संरचना बनेको देखाएको थियो । त्यसअघि पनि खोलाको पटक पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर