सिंहदरबारमा संवैधानिक परिषद बैठक, विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस हुँदै – Nepal Press

सिंहदरबारमा संवैधानिक परिषद बैठक, विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस हुँदै

काठमाडौं । संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।

उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन । बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुँदैछन् ।

यसअघि बैठक बोलाउन दबाब दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए । आजको बैठकमा नयाँ प्रधानन्यायाधिश सिफारिस गर्नेबारे छलफल हुनेछ ।

धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ ।

हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुन् ।

तर, संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीश रहेका छन् ।

श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *