हेटौंडामा सडक फराकिलो नगरे सामूहिक आत्मदाह गर्ने एक परिवारको चेतावनी – Nepal Press

हेटौंडामा सडक फराकिलो नगरे सामूहिक आत्मदाह गर्ने एक परिवारको चेतावनी

हेटौंडा । हेटौंडाको मुख्य सडक २५ मिटर फराकिलो पार्ने विषय थप पेचिलो बनेको छ । दुई सातादेखि सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा धर्नामा रहेको हेटौंडा- ८ को एक परिवारले सडक विस्तार गर्ने काम अघि नबढाए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएको छ ।

उनीहरुले हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामालाई ज्ञापन पत्र बुझाउँदै सडक फराकिलो नपारिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

लामो समयदेखि सडक फराकिलो पार्ने कार्य रोकिँदै आएकोमा उनीहरुले यो पटक पनि फराकिलो पार्ने काममा अवरोध गरिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

पूर्व पश्चिम राजमार्गका कारण हेटौंडा बजार क्षेत्रको सडकमा दुर्घटना बढ्दै गएको र बजारको स्वरुप बिग्रिएको भन्दै उनीहरुले सडक विस्तार रोक्न बाधक नबन्न उपमहानगरसँग माग गरेका छन् ।

हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्न महानगर पछि हट्न नहुने माग राख्दै साउन १ गतेदेखि ७३ वर्षीय मानबहादुर तामाङसहित उनका ३४ वर्षीय छोरा राजीव सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा अनसन बस्दै आएका छन् ।

उनीहरुले मेयर लामालाई सडक विस्तारको पक्षमा रहन माग गरेका छन् । धर्ना बसेका बाबुछोराको साथमा हेटौंडा- ८ का रामकृष्ण अघिकारी र रामचन्द्र तामाङ पनि सहभागी थिए ।

एसियन हाईवेको रुपमा रहेको राजमार्ग विस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौंडा पछि परेको भन्दै उनीहरुले सडक विस्तार नरोक्न माग गर्दै आएका छन् । अनसनमा बस्नुको अरु कुनै स्वार्थ नभएको भन्दै उनीहरुले हेटौंडालाई सुन्दर बनाउनेतर्फ आफूहरुको ध्यान रहेको बताए । आफूहरुको उद्देश्यमा साथ दिन उनीहरुले मेयर लामालाई आग्रह गर्दै आएका छन् ।

सडक डिभिजन कार्यालयमा मार्फत सडकका घरटहरा हटाउन जारी भएको सूचनाको समय १५ गते आज सकिने अवधिसम्म अनसन बस्ने र १६ गतेबाट काम सुरु नभए आमरण बस्ने ज्ञापनपत्रमा उल्लेख छ । अहिलेको अवस्थामा पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय हटेमा कुनै पनि बेला सामूहिक आत्मदाह गर्नबाट पछि नहट्ने पत्रमा उल्लेख छ ।

डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा- १५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्ती पुलसम्मको दायाँबायाँ सडक २५-२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।

यसअघि पनि सडक डिभिजनले पटक पटक सूचना प्रकाशित गरे पनि सडक फराकिलो पार्न सकेको छैन । विनामुआब्जा सडक फराकिलो पार्न नदिन यहाँका घरधनी तथा व्यवसायी आन्दोलनमा छन् । उनीहरुको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर