५ दिनपछि पोखरामा उठ्न थाल्यो फोहोर, कहाँ फाल्ने छैन अझै टुंगो – Nepal Press

५ दिनपछि पोखरामा उठ्न थाल्यो फोहोर, कहाँ फाल्ने छैन अझै टुंगो

पोखरा । पोखरामा ५ दिनपछि फोहोर उठ्न थालेको छ । गत बुधवारदेखि नउठेको फोहोर आइतबार बिहानदेखि उठ्न थालेको छ ।

बजारका सडक छेउमा थुप्रिएको फोहोर वर्षातले तितरबितर गरेको थियो । सामाजिक सञ्जालमा चर्को विरोधपछि आइतबारदेखि फोहोर उठ्न थालेको हो ।

तर, फोहोर कहाँ फाल्ने भन्ने टुंगो लागिसकेको छैन । कहाँ फाल्ने भन्ने टुंगो नलाग्दासम्म फोहोर गाडीमै राखिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाकी सरसफाइ शाखा प्रमुख कल्पना बरालले फोहोर फाल्ने विकल्पका लागि छलफल भइरहेको बताइन् ।

‘आइतबारदेखि थुप्रिएको फोहोर उठाउन थालेका छौँ । फोहोर फाल्ने गरी छलफल गरिरहेका छौँ । टुंगो नलाग्दासम्म फोहोर गाडीमै राख्छौँ,’ उनले भने ।

अस्थायी ल्याण्डफिलका रूपमा महानगरपालिका वडा नम्बर ३२ को लामेआहाललाई बनाउने गरी छलफलमा रहेको सरसफाइ शाखा प्रमुख बरालले सुनाइन् ।

महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै लामेआहालमा स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए । लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ ।

स्थानीयवासीले ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नु परेको भन्दै फोहोर ल्याउन अवरोध गरेका थिए ।

पोखरा महानगरपालिका ३२ का रबिन केसीसहित ३ जनाले पोखरा महानगरपालिकाविरुद्ध महानगरपालिका भित्रबाट उठाएर फोहोर लामेआहालमा फल्नुपर्ने किन ? भन्दै बिहीबार मुद्दा दर्ता गराएका छन् । उच्च अदालत पोखराले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *