विदेशीलाई सघाउँदै आरोहण सिकेका पासाङ दावा- ९ पटक चुमे सगरमाथा शिखर – Nepal Press

विदेशीलाई सघाउँदै आरोहण सिकेका पासाङ दावा- ९ पटक चुमे सगरमाथा शिखर

काठमाडौं । सोलुखुम्बुका ३७ वर्षीय पासाङ दावा शेर्पाले ९ पटक सगरमाथा शिखर चुमिसकेका छन् । २२ वर्षको उमेरदेखि सगरमाथा क्षेत्रमा आरोहण सहयोगीका रूपमा काम गरेका उनी अहिले लगातार आरोहण गरिरहेका छन् ।

पहिला उनी विदेशीलाई हिमाल चढ्न सघाउँथे । ‘क्लाइम्बिङ गाइड’ का रूपमा काम गर्न थालेको वर्ष दिनपछि सन् २००९ मा शेर्पा आफैं पहिलोपल्ट सगरमाथा चुचुरोमा पुगेका हुन् ।

उनी भन्छन्, ‘शिखरमा पुग्ने प्रयास १२ पल्ट गरेको थिएँ तर पल्ट सफल भएँ।’

आरोहीका जीवनदाता

हिमाल आरोहणमात्र नभई उनले आरोहणका क्रममा अरूको जीवनरक्षकको भूमिकासमेत निर्वाह गर्दै आएका छन् । सन् २०१९ मा अन्तिमपटक सगरमाथा चढेका उनले २ दिनलगत्तै ८ हजार ७ सय मिटरबाट भारतीय आरोही महिलाको शव निकालेर काठमाडौं ल्याएका थिए । उनले केहीपटक विदेशी आरोहीलाई बचाए । भारतका एक आरोहीलाई मृत्युको मुखबाट खोसेर जीवनदाता बने ।

सन् २०१२ मा उनीसहितको टीम शिखरको छेउमै पुगेर फर्किनुपर्‍यो । अरूको अक्सिजन मास्क बिग्रिएपछि बचाउन आफ्नो मास्क दिए ।

‘८ हजार ६ सय मिटरमा पुगेपछि हाम्रो टीमका भारतीय आरोहीको अक्सिजन मास्क बिग्रियो । उनी तड्पिन थालेपछि मैले आफ्नो मास्क दिएँ र हामी त्यहीँबाट फर्कियौँ, मलाई सास फेर्न असाध्यै गाह्रो भएको थियो । तर, मैले मास्क दिएकाले ती भारतीयलाई जीवितै फर्काउन सफल भयौं । खुसी लाग्यो’, पासाङ दावाले अनुभव सुनाए ।

उनले देशको कूटनीतिमा समेत सघाउ पुग्ने गरी आरोहणका माध्यमले सन्देश प्रवाह गर्ने प्रयास गर्दै आएका छन् । सन् २०२२ मा पासाङले अमेरिकाकै अग्लो माउन्ट देनालीको चुचुरोमा नेपाल र अमेरिकाको झन्डा फहराए । दुई देशबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनले माउन्ट देनाली शिखरमा दुई देशको झन्डा फहराएका थिए ।

उनी भन्छन्, ‘सम्बन्ध अझ गाढा र मित्रतापूर्ण रहोस् भनेर झन्डा फहराएका हौं ।’ दुवै देशका नागरिक सम्मिलित आरोहण दलले एकता र मित्रताको सन्देश प्रवाह गरेको उनले बताए । अमेरिकी आरोही मार्क परेला र नेपालका आरोही कर्मा तेन्जिङको नेतृत्वको दलमा पासाङ दावासहित सात नेपाली थिए । उक्त टीमलाई ‘नेपालमैत्री दल’ नाम दिइएको थियो ।

पासाङको हिमाल यात्रा

सन् २००९ मा पहिलोपल्ट हिमाल चढेका उनले पछिल्लोपल्ट सन् २०१९ मा सगरमाथाको सफल आरोहण गरे । २०१० मा २ पल्ट, २०११, २०१३, २०१४, २०१६ र २०१८ मा उनले सगरमाथा शिखर टेकेका थिए । पासाङले सन् २०२१ मा दसौंपल्ट सगरमाथाको चुचुरोमा टेक्ने प्रयास गरेका थिए । तर, कोभिड लागेर फर्कनुपर्‍यो ।

शरद (अक्टोबर) मा हिमाल चढ्नु असाध्यै कठिन एवं जोखिमपूर्ण मानिन्छ । सन् २००० पछि कसैले अक्टोबरमा हिमाल चढ्ने आँट गरेको थिएन । तर, शेर्पासहितको टोलीले १५ अक्टोबर २०१० मा सगरमाथाको सफल आरोहण गरेको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार २९ असोजमा अमेरिकी आरोही एरिक लार्सन नेतृत्वको आरोहण दलले सगरमाथा शिखरमा पाइला टेकेको थियो । उक्त टोलीमा पासाङ दावासहित सोलुखुम्बुका दावागेल्जेन शेर्पा, दोलखाका छिरिङ दोर्जे शेर्पा, खोटाङका निमादोर्जे तामाङ र सङ्खुवासभाका पासाङतेम्बा शेर्पा थिए । त्यसयता पनि कसैले अक्टोबरमा हिमाल चढ्न नसकेको पासाङ दावाले बताए ।

अक्टोबर २०२२ मा संयुक्त इमिरेट्स् अरबको आर्मी टोलीसहित उनले मनास्लु हिमालको शिखर टेक्ने प्रयास गरेका थिए । तर, क्याम्प २ सम्म पुगेपछि समस्या भएर फर्किएको उनले सुनाए ।

आफूसँग अन्य आरोहीलाई समेत सगरमाथाको सफल आरोहणमा सघाएकोमा उनलाई नेपाल, अमेरिकासहित विभिन्न देश र संघसंस्थाले सम्मान तथा कदर गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *