झापाको शहिद नेत्रलाल पार्क : सञ्चालनमा नआउँदा करोडौं लगानी, भयो बालुवामा पानी – Nepal Press

झापाको शहिद नेत्रलाल पार्क : सञ्चालनमा नआउँदा करोडौं लगानी, भयो बालुवामा पानी

के भन्छन् सरोकारवालाहरू ?

बिर्तामोड । झापाको बिर्तामोड-७ मा अवस्थित शहिद नेत्रलाल पार्क नेपाल सरकारको सय गन्तव्यमध्येको एक पर्यटकीय गन्तव्य हो । सय गन्तव्यमा सूचीकृत भएपछि नेत्रलाल पार्कले करोडौं रुपैयाँ प्राप्त गर्न सफल भयो । तर, पार्कमा गरिएको करोडौं लगानी अहिले बालुवामा पानी सरह भएको छ ।

बिर्तामोडस्थित गरामनीबाट पूर्वोत्तर (२.५ किमि) भागमा रहेको नेत्रलाल पार्क सुन्दर निचाझोडा सामुदायिक वनभित्र निर्माण गरिएको छ । सय गन्तव्यको सूचीमा परेपछि पार्कले नयाँ स्वरुप हासिल गरेको थियो । तर, पार्कमा करोडौं लगानी गरेर निर्माण गरिएका संरचना अहिले झाडीले ढाकेको छ, पुरेको छ । संरचना निर्माणपछि सञ्चालन नै नभई पार्क वेवारिसे अवस्थामा पुगेको हो ।

नेत्रलाल पार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । सँगै, स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको छ । पोखरी पातपतिङगरले पुरिन लागेको छ भने स्वीमिङ पुल प्रयोगविहीन बनेको छ । स्वीमिङ पुल र बालबालिका खेल्ने संरचनाहरु बिग्रिसकेका छन् भने डाइनोसर प्रयोग गर्नै नमिल्ने गरी बिग्रिसकेको छ ।

आर्थिक वर्ष ०७५/७६ को बजेट व्यक्तव्यको बुँदा नं. ११४ मा नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख थियो । सो बमोजिम मन्त्रिपरिषदले झापाको शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन र अर्जुनधारा पर्यटकीय गन्तव्यलाई सय गन्तव्यमा अटाएको थियो ।

तत्कालीन एमाले नेता नरेश खरेलको अध्यक्षतामा पार्क निर्माण गरिएको हो । खरेलका राजनीतिक सहयात्री शहिद नेत्रलाल घिमिरेको स्मृतिमा निर्माण गरिएको पार्क अहिलेसम्म सञ्चालन हुन सकेको छैन । सो समितिको उपाध्यक्षमा माओवादीका नेता सीपी कडरिया र सचिवमा खरेलका भतिज टिका खरेल रहेका थिए ।

स्वीमिङमा मात्रै ५० लाख लगानी : टिका खरेल, सचिव

पार्क निर्माण समितिका अन्तिम सचिव टिका खरेलले नत्रेलाल पार्कमा २ करोड बढी लगानी भइसकेको जानकारी दिए । उनले आन्तरिक पर्यटनका लागि असाध्यै अनुकूल स्थल भएपनि सञ्चालन हुन नसकेको बताए । तीनजना अध्यक्षसँग बसेर सचिवको काम गरेका खरेलले पार्कमा पिकनिक स्थल, चिल्ड्रेन पार्क, स्वीमिङ, चेन्जिङ रुम र शितल घरहरु निर्माण सम्पन्न गरिएको जानकारी दिए । अहिले धेरै संरचनाहरुको सामान नै चोरी भइसकेको छ ।

सचिव खरेलका अनुसार तत्कालीन एमाले नेता नरेश खरेलले निर्वाचन क्षेत्र विकास कोषबाट दिएको पहिलो पाँच लाखबाट काम सुरु गरिएको बताए । त्यसपछि संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकार, झापाका सांसदहरुले पार्क निर्माणमा बजेट उपलब्ध गराएका थिए । झापा २ को सांसद रहँदा सुधीर शिवाकोटीको संयोजकत्वमा तत्कालीन सांसद मोहन टुडु, नरेश खरेल, सीपी मैनाली, मनकुमार गौतम लगायतले पार्कमा एकमुष्ट ८ लाख लगानी गरेका थिए ।

संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकारबाट ५०/५० लाख, नगरपालिकाबाट २५ लाख, सांसदहरु, पर्यटन कार्यालयहरुबाट २ करोड बढी लगानी गरिसकेको सचिव खरेलको भनाई छ । उनले राजनीतिक द्वन्द्वका कारण नेत्रलाल पार्क अघि नबढेको जिकिर गरे । उनका अनुसार ७५ प्रतिशत काम सकिएको छ । सञ्चालन गर्न पहल गरे सञ्चालन गर्न सकिन्छ ।

नेत्रलाल पार्कमा स्वीमिङ र चेन्जिङ रुम ५० लाख, डाइनोसर र बालबालिका खेल्ने दुई थान सामग्रीमा मात्रै २५ लाख गरेर ७५ लाख लगानी भएको उनको भनाई छ । बिर्तामोड नगरपालिकाले प्रवेशद्वार, टिकट काउन्टर र केही टहरा निर्माणमा २५ लाख खर्च गरिसकेको सचिव टिका खरेलले जानकारी दिए । उनले अन्य बजेट पोखरी निर्माण, बोट खरिदसँगै विभिन्न संरचना निर्माणमा खर्च भएको बताए ।

राज्यको ठूलो लगानी खेह्र गयो : पहिलो अध्यक्ष

उक्त पार्कको पहिलो अध्यक्ष हुन्, खडानन्द निरौला । उनले आफ्नो कार्यकालको बेला पोखरी खन्ने काम गरे । पोखरी खन्ने, पोखरीको बीच भागमा बगैंचा निर्माणका लागि ढुङ्गाको बेरा लगाए ।

आफ्नो कार्यकालको काम सम्झैदै निरौलाले भने, ‘मैले बजेट अभावले पोखरी पनि पूरा खन्न सकिनँ ।’ करिब १५ लाखको बजेटबाट कामको थालनी गरेको उनको भनाई छ । पार्कले पछिल्लो पटक उच्च तहको नेतृत्व पाएपनि सञ्चालन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले भने, ‘करोडौं लगानी गरेर पनि सञ्चालन नहँुदा राज्यको ठूलो लगानी खेह्र गएको छ ।’

पार्क सञ्चालन हुनुपर्छ : वडाध्यक्ष खरेल

बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले कुनै पनि हालतमा नेत्रलाल पार्क सञ्चालन हुनुपर्ने बताउँछन् । राज्यको करोडौं लगानी गरेर बेवारिसे बनाउन नहुने उनको तर्क छ । वडाध्यक्ष खरेल पनि पार्क निर्माण समितिका सदस्य हुन् ।

उनले भने, ‘हामी भित्तामा फोटो झुण्ड्याउने सदस्यमा मात्र बन्न सक्यौं । बजेट आएको मात्रै थाहा छ, कहाँ के मा कसरी खर्च गरियो अहिलेसम्म थाहा छैन ।’ वडाध्यक्ष खरेलले पार्क निर्माणको सबै हरहिसाव सार्वजनिक गरेर वन वा स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने बताएका छन् । ‘बिर्तामोड नगरपालिकाभित्रको पर्यटकीय गन्तव्य झाडीले पुरिएको छ भन्नुपर्दा दुख लाग्छ’, वडाध्यक्ष खरेलले भने ।

नेताले पार्क सञ्चालन गर्न सकेनन् : प्याकुरेल

सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलका अनुसार पर्यटकीय स्थल बनाउन ८/१० वर्ष अघिदेखि पहल प्रयत्न भएको थियो । प्रदेश सांसद एकराज कार्की वन समितिको अध्यक्ष हुँदै पर्यटकीय स्थल निर्माणका लागि पोखरी निर्माण लगायतको काम थालिएको थियो । पछि झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलको कार्यकालमा अलि धेरै काम भएको बुझाई छ ।

खरेलको कार्यकालमा पार्क निर्माणका लागि पटक-पटक बजेट प्राप्त भएको थियो । श्रीमती सांसद भएको बेला पार्क निर्माण समितिको अध्यक्ष नरेश खरेल बनेका थिए । वनका अध्यक्ष प्याकुरेलले एमालेको नेतृत्वमा पार्क निर्माण कार्य थालिएको जानकारी दिए । उनले पार्कमा प्रदेश र संघीय सरकारले लगानी गरेको बताए । बिर्तामोड नगरपालिकाले पनि २५ लाख लगानी गरिसकेको छ । गत आ.व. मा अन्तिम पटक प्रदेशले घेराबाराका लागि २० लाख उपलब्ध गराएको बुझिएको छ ।

वन समितिका अध्यक्ष प्याकुरेलले निर्माण समितिमा रहेका माथिल्लो तहका नेताहरुले पार्क सञ्चालनमा ख्याल नगरेको गुनासो गरे । पार्क समितिसँगै स्थानीय तहले पनि सञ्चालनका लागि चासो दिनुपर्ने उनको माग छ । ३२ हेक्टरमा फैलिएको पार्कमा हालसम्म करिव अढाई करोड लगानी भइसकेको प्याकुरेलको भनाई छ । वन समितिले रेखदेख बाहेक पार्कको अन्य केहि काम गर्न नसकेको उनले स्वीकार गरेका छन् ।

मुख्य समस्या जंगली हात्ती : सांसद् कार्की

कोशी प्रदेशका सांसद एकराज कार्कीले जंगली हात्तीको समस्याका कारण पार्कलाई सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उनले पार्क सञ्चालन नहुनुको मुख्य कारण नै हात्ती भएको दाबी गरे ।

उक्त पार्क निर्माण भएको सामुदायिक वनको १८ वर्ष नेतृत्व गरेका कार्कीले हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङको निर्माण र सरसफाईको काम गरे सञ्चालन गर्न सहज हुने बताए । हालसम्म २ करोड लगानी भइसकेको पार्कमा अहिले पनि घेराबाराको काम चलिरहेको सांसद कार्कीको भनाई छ । २० हेक्टरमा घेराबाराको काम भएको र अन्य ठाउँ घेराबारा गर्न बाँकी रहेको बताएका छन् ।

पार्क निर्माण गर्नुभन्दा पहिले हात्ती महिनामा एक/दुई पटक मात्रै आउथ्यो । अहिले दिनहुँ आउने गरेका छन्, कार्कीले भने, ‘हात्ती नियन्त्रण नभएसम्म पार्क सञ्चालन गर्न गाह्रो छ ।’ हात्ती आउँछ भन्ने जानकारी हुँदाहुँदै किन करोडौं लगानी गर्नुभयो भन्ने जिज्ञासामा उनले थपे- पहिले अहिले जस्तो धेरै हात्ती आउदैन थिए ।

पार्क सञ्चालनमा नरेश खरेल र एकराज कार्की बीचको द्वन्द्धले अवरोध भएको धेरैको बुझाई छ । यसबारे कार्की भन्छन्, ‘हामीबीच द्वन्द्ध छैन । हाम्रो द्वन्द्धले पार्कमा समस्या आएको होइन ।’ तर, कार्कीले नरेश खरेललाई निर्माण समितिको अध्यक्षमा नबस्न भने सुझाव दिएका थिए ।

नेता नै समितिको अध्यक्ष बन्नु हुदैन, पछि समस्या आएमा समाधान गर्ने व्यक्ति चाहिन्छ भन्दा खरेलले अस्वीकार गरेर अध्यक्ष बसेका थिए । श्रीमती प्रतिनिधिसभाको माननीय, श्रीमान निर्माण समितिको अध्यक्ष अलि मिल्दोजुल्दो नभएको भन्दै कार्कीले अध्यक्ष नबन्न आग्रह गरेको कुरा सत्य भएको स्वीकार गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *