स्थानीय न्यायिक निरुपणको कथामा निर्माण भएको छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक – Nepal Press

स्थानीय न्यायिक निरुपणको कथामा निर्माण भएको छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ ।

विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट्युब) मार्फत सार्वजनिक गरिएको हो । पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथामा समेटिएको छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेको आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा मह जोडीसँगै वसुन्धरा भुसाल, रवि डंगोल, प्रदीप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, पद बहालीका समयमा आफूले स्थानीय विवाद निरूपणका लागि मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गर्ने यसका लागि महिला सञ्जाल गठन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यो निर्णय कार्यान्वयनमा गएर नतिजा आउन थालेकोमा गर्व महसुस भएको धारणा राखिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले स्थानीय तहमा न्यायिक समितिबाट समाधान भएका विवादको संख्याले अदालतमा चाप कम भएको बताए ।

कार्यक्रममा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई उपप्रमुख डंगोलले कदर पत्र र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुकुल प्रदान गरेका थिए । सुकुल, महानगरपालिकाले मौलिक सामग्री उत्पादन गर्न तालिम दिएका प्रशिक्षार्थीले बुनेका हुन् । तालिम दिएका प्रशिक्षार्थीलाई उद्यमशील बनाउन महानगर आफैँले प्रवर्धन गरिरहेको हो ।

मेलमिलाप हुनसक्ने व्यक्ति वादी भएर दायर भएको, अन्य देवानी, २५ लाख रुपैयाँसम्म बिगो भएको घर बहाल तथा घर बहाल सुविधा, १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद न्यायिक समितिबाट समाधान गरिन्छ । नाबालक छोराछोरी र पति पत्नीलाई इज्जत आदमअनुसार खान बस्न तथा शिक्षा दीक्षा नदिएको, पाका व्यक्तिलाई खान लाउन नदिएको जस्ता विवाद धेरै देखिन्छन् । यी विवाद समाधान गर्ने विधि मेलमिलाप र निर्णय प्रक्रिया हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर