संसदीय दलमा गगनले फेरि देउवालाई चुनौती दिने, बैठकमा भने- गाह्रो छ, तर प्रयास गर्छु (भिडिओ) – Nepal Press

संसदीय दलमा गगनले फेरि देउवालाई चुनौती दिने, बैठकमा भने- गाह्रो छ, तर प्रयास गर्छु (भिडिओ)

‘साथीहरु किन आत्तिनु भएको ? मैले पार्टी फुटाउने होइन नेता फेर्ने भनेको हो’

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेतामा फेरि भिड्ने संकेत गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उनले संसदीय दलको चुनाव लड्न आफूलाई पार्टी विधान र संसदको नियमले नरोक्ने बताए ।

थापाले नेतृत्व परिवर्तन असहज बनाइएकाले नेपालका पुराना दलहरु संकटमा पर्दै गएको निष्कर्ष सुनाए । उनले भने, ‘पुराना दल जमेको पोखरीजस्तो भए, ४/५ नेताहरुले म्युजिकल चेयरजस्तो आलोपालो गरिरहेका छन् । यो बदल्नुपर्छ भन्ने म ठान्छु ।’

थापाको थप भनाइ

पार्टी सभापतिज्यूप्रति मेरो असिम श्रद्धा छ । एक्लै भेट्दा म सभापतिज्यूसँग कसरी कुरा गर्छु मलाई थाहा छ । उहाँ मेरो पितासरह हो । तर, नेतृत्व परिवर्तनको विषयले नेपालको राजनीतिमा प्रवेश पाउनै पर्छ । यसका निम्ति मेरो प्रयास निरन्तररुपमा हुन्छ । त्यही भएर कांग्रेस संसदीय दलको नेता बदल्ने प्रयास गरेँ । सकिन । परिणाम त मैले मान्नैपर्छ । तर, यो प्रयास मैले फेरि गर्नै मिल्दैन त ?

बकाइदा मिल्छ । पार्टीको विधानले, संसदको नियमले मिल्छ । आवश्यकता छैन त ? आवश्यकता छ भन्ने म ठान्छु । सम्भव छैन त ? म निष्काम कर्ममा विश्वास गर्छु । कर्म गर फलको चिन्ता नगर भन्ने सिद्धान्तमा हिँड्छु । मलाई थाहा छ गाह्रो छ । संसदको मत पाउन गाह्रो कुरा हो । लाखौं मतदाताको बीचमा भोटिङ हुने होइन । तर गाह्रो काम छ भनेर छाड्नुहुन्छ त ? छोड्नुहुँदैन । सभापतिज्यूले एक–दुई महिनापछि म ५ पटक भइसकेँ छैटौंपटक किन हुने, को हुने हो अगाडि आओ, भन्दिनुहुन्छ कि । भन्नुभयो भने राम्रो नै हुन्छ । मै हुनुपर्छ भन्ने होइन । जो भए पनि मैले साथ दिने हो । त्यो बेलामा कोही अगाडि नबढ्दा म अगाडि सर्ने हो । साथीहरु किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको होइन । मैले नेता फेर्ने भनेको हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर