विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी धन्दा- दुई पक्राउ, तीनजना फरार – Nepal Press

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी धन्दा- दुई पक्राउ, तीनजना फरार

काठमाडौं । विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने दुईजना पक्राउ परेका छन् । उक्त ठगीमा संलग्न तीनजना फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन छन् । त्यस्तै दीपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ ।

उनीहरूले गत ज्येष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचरलगायतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृतसमेत गरी विभिन्न सामान ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार घनश्यामले आफू प्रमुख रहेर केही महिनाअघि बुढानीलकण्ठमा मासिक एक लाख ८० हजार रूपैयाँ भाडा तिर्ने गरी गत जेठ १ गते घरमा कार्यालय राखेका थिए ।

उनले आफूलाई नेपाल सरकारको उपसचिवका रूपमा त्यस कार्यालयमा चिनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कटुवालले कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरलगायत सामग्रीका लागि जेठ ६ गते राजधानी राष्ट्रिय दैनिकमा ६ करोड ५० लाख रूपैयाँ बराबरको बोलपत्र आह्वानसम्बन्धी विज्ञापनसमेत गरेको पाइएको छ। तर, सप्लाइकर्तालाई कटुवालले सामानको भुक्तानी नगरेपछि ठगीधन्दा बाहिरिएको थियो ।

उनले शंखर अर्याल भन्ने व्यक्तीसँग स्कार्पियो भाडामा लिएको र ६ लाख १२ हजार ५ सय रूपैयाँ नगद पनि ठगेको, हरिप्रसाद अर्यालसँग ४८ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरी ८ लाख ३६ हजार ९ सय रूपैयाँको सामान लगेर भुक्तानी नगरेको, नवराज पाण्डेसँग ८५ हजार रूपैयाँ बराबरको सामान लगेर भुक्तानी नगरेको, दीपेन्द्र धरेलसँग १५ लाख ६० हजार ३ सय ४ रुपैयाँ बराबरको सामान लगेर भुक्तानी नगरेको, गणेश शाहसँग बोलपत्रको धरौटीबापत ११ लाख २७ हजार ९ सय ५० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

कटवालको कार्यालयबाट नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप र लेटरप्याडलगायत सामग्री बरामद भएको छ । कटवलाले आफ्नो कार्यालयमा शाखा अधिकृतदेखि प्राविधिक इन्जिनियर र जनसम्पर्क अधिकृतसम्म पद दिएर कर्मचारी राखेका थिए ।

प्रहरीका अनुसार कटवाल केही महिनाअघि मात्र बैंकिङ कसुर र ठगी मुद्दामा ३ वर्ष जेल बसेर छुटेका थिए । प्रहरीले कटवालबाहेक ४० वर्षीय लीलाबहादुर भोलोनलाई पनि पक्राउ गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर