कानूनको मर्यादा नराख्नेलाई ‘तोरी’ भनेको हुँ, सहिद हुन तयार छु: संगीतकार सुरेश अधिकारी – Nepal Press
नेपाल टक

कानूनको मर्यादा नराख्नेलाई ‘तोरी’ भनेको हुँ, सहिद हुन तयार छु: संगीतकार सुरेश अधिकारी

काठमाडौं । रोयल्टी समाज र निजी रेडियोहरुबीच टकराव उत्कर्षमा पुगेको छ । रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले लेखेको एउटा स्टाटसलाई आधार बनाएर निजी रेडियोको तीनवटा संस्थाले उनका सबै गीतहरु रेडियोमा प्रतिवन्धित घोषणा गरेपछि विवाद चुलिएको हो ।

संगीतकर्मीहरुलाई उनीहरुको सिर्जनाको मूल्य अर्थात् रोयल्टी सुनिश्चित गर्ने उद्देश्यले संगीत रोयल्टी संकलन समाजको गठन गरिएको थियो । २०६४ सालमा गठन भएको रोयल्टी समाजले २०७० बाट रोयल्टी संकलन सुरु गरेको थियो । तर, रोयल्टीको विषयलाई लिएर प्रसारक संस्थाहरुसँग समाजको हमेसा वादविवाद देखिँदै आएको छ ।

समाजमा तेस्रो कार्यकाल बिताइरहेका अध्यक्ष अधिकारी अहिले निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुसँग आगो भएका छन् । रोयल्टी नतिरेका रेडियो सञ्चालकहरुले सरकारलाई समाजको औचित्यमाथि नै प्रश्न उठाएको भन्दै उनी आक्रोशित बनेका हुन् । उनले फेसबुकमा रेडियो सञ्चालकहविरुद्ध कडा स्टाटस लेखेका थिए । उनको भाषाशैली अमर्यादित रहेको भन्दै स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठनहरुले अधिकारीका सबै गीतमा प्रतिबन्धको घोषणा गरेका हुन् । यसै विवादलाई लिएर संगीतकार सुरेश अधिकारीसँग गरिएको कुराकानी ?

– रोयल्टी समाज र रेडियो सञ्चालकहरुबीच अहिले उब्जेको नयाँ विवाद के हो ?

नयाँ विवाद होइन, पुरानै हो । सञ्चार मन्त्रालयले एउटा के कार्यविधि राखेको छ भने रोयल्टी तिरेको क्लियरेन्स नभइकन एफएम रेडियोको लाइसेन्स नवीकरण हुँदैन । २०७२ मा कार्ययोजना बनेर २०७४/७५ बाटै यो नियम लागू भएको हो । यो नियम बनिसकेपछि हामीले रेडियोलाई मर्का नपर्ने गरी एकदमै न्यूनतम शुल्क तोकेर फ्रिक्वेन्सीबमोजिम सम्झौता पनि गरेका छौं । तर, सबै रेडियोहरुले यो सम्झौताको पालनामा इमानदारी देखाएका छैनन् । जब नवीकरण गर्ने बेला (असार मसान्त) आउँछ, उनीहरु एउटा-एउटा बहाना बनाएर मन्त्रालयलाई प्रेसर दिन्छन् । कहिले लकडाउनको बहाना बनाउँछन्, कहिले आर्थिक संकट पर्‍यो भन्छन् । लकडाउनमा त हामीले छुट दिएका पनि हौं ।

यसपालि चाहिँ उहाँहरुले ल्याएको बहाना गम्भीर थियो । उहाँहरुले मन्त्रालयमा गएर लिखित रुपमा नै ‘रोयल्टी संकलन समाज’ भन्ने एनजीओमा हामी रोयल्टी तिर्दैनौं भन्नुभएछ । मन्त्रालयमै तिर्न पाउनुपर्छ भन्ने उहाँहरुको माग रहेछ । विश्वभरि बौद्धिक सम्पत्तिको हकमा मापदण्ड तोक्ने कानूनी निकाय हुन्छ । नेपालमा त्यो भनेको हाम्रो संस्था हो । हामीले सबै संस्थाहरुसँग रोयल्टी उठाउन वारेसनामा नै लिएका हुन्छौं । हामी कुनै एनजीओ होइनौं । त्यसैले उहाँहरुको त्यो माग आपत्तिजनक छ ।

– सीधै सरकारलाई बुझाउँदा पनि के आपत्ति भयो त ?

रोयल्टी समाज सरकारले नै गठन गरेको त हो नि ! प्रतिलिपि अधिकार ऐनको दफा ३९ अनुसार यसको गठन भएको हो । एनजीओका रुपमा सीडीओ कार्यालयमा दर्ता गरेर बसेका होइनौं । रोयल्टी कति लिने भन्ने मापदण्ड तोक्ने निकाय यही हो । यो यो उद्देश्य देखाएर संस्था खोलेको होइन कि कानूनले तोकेको उद्देश्य पूरा गर्न हो । त्यसैले उहाँहरुले जुन कुरा गर्नुभयो, त्यो अत्यन्तै नालायक, अत्यन्तै लज्जास्पद र निन्दनीय छ । विश्वव्यापी स्रष्टाहरुको हक अधिकारको व्यवस्थापन र नेपालको वर्तमान कानूनी प्रावधानलाई नै उहाँहरुले चुनौती दिने कुरा गर्नुभयो ।

– उहाँहरुले त्यस्तो माग राखेको तपाईंहरुलाई कसले जानकारी दिएको छ ?

नेतृत्वकर्तामध्येको एकजनाले नै लिखित रुपमा दिएको छु भन्नुभएको छ । त्यसपछि त मलाई रिस उठेको हो नि ! हामीले सबै बहानाहरु सहिदिएका थियौं । तर, यो बहाना चाहिँ अति नै चुतियागिरी भयो ।

– तपाईंको फेसबुक स्टाटस एकदमै अमर्यादित भयो भन्ने उहाँहरुको गुनासो छ नि ?

मैले कुनै पनि व्यक्तिको नाम नतोकिकन भनेको थिएँ । रिसको आवेगमा मैले भनेको हो । तर, भन्नु नहुने कुरा भनेको छैन । कसैको व्यक्तिगत आलोचना, लाञ्छना र प्रतिष्ठामाथि आँच आउने कुरा केही पनि गरेको छैन ।

– तर, पनि तपाईं जस्तो जिम्मेवार ओहदामा बसेकाले शिष्ट भाषा प्रयोग गर्नुपर्थेन र ?

जो जो रोयल्टी तिर्न आनाकानी गर्छन् र स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाइरहेका छन्, उनीहरुलाई मैले ‘लुटेरा’ भनेको छु । कानूनको मर्यादा नगर्नेलाई ‘तोरी’ भनेको छु । जसले तपाईंको श्रीसम्पत्ति लुटिरहेका छन्, तपाईंको अधिकार पनि तपाईंसँग छैन भनेर चुनौती दिइरहेका छन्, उनीहरुलाई के तपाईं मिराबाइको भजन सुनाउनुहुन्छ त ?

– विवाद समाधानका लागि रोयल्टी समाजले संवादको पहल गरेको छैन ?

हाम्रो अरु कुनै काम छैन ? एउटा त राज्यले गर्न नसक्ने काम गरिरहेका छौं । न हामीले राज्यबाट अनुदान पाउँछौं, न कुनै प्राविधिक सहयोग, न कोहीले हामीलाई कठै भन्न आएको छ न त कसैले तिमीहरुको दुःख के छ भनेर सोधेको छ । उल्टो कानूनी प्रावधानलाई पनि चुनौती दिएका छन् । अनि सधैं एउटै काममा मात्रै अल्झिरहने हो हामी ?

– तपाईंको सबै गीतमा रेडियोहरुले प्रतिबन्ध लगाइदिएका छन् । यसबाट व्यक्तिगत रुपमा त तपाईंलाई निकै क्षति पुग्ने भयो नि ?

व्यक्तिगत क्षति त व्यहोर्न तयार भएरै आएको हो म । मलाई भौतिक रुपमा नै मार्दा पनि सहने मान्छे हो । सहिद नै बन्न आएको हुँ । उहाँहरुले एउटा स्रष्टाको मुख थुन्ने जंगली घोषणा गर्नुभएको छ । यसबाट पर्ने असर उहाँहरुले फिल गर्न सक्ने भए त स्रष्टाहरुको अधिकारको सुरक्षा पनि गर्ने बुद्धि आउँथ्यो होला नि त उहाँहरुलाई ।

उहाँहरुको निर्णय हेर्नुस् न । एउटा अपराधी, ज्यानमाराको पनि सिर्जनामाथि कतै अंकुश हुँदैन । कुनै पनि सिर्जनाले सामाजिक विद्वेष, हिंसा फैलाउन सक्छ, कसैप्रति लाञ्छना लगाएको छ भने त्यो कृतिमाथि प्रतिवन्ध लगाउन सकिन्छ । तर, भएभरको कृति ब्यान्ड गर्ने भन्ने कति ठूलो अपराध हो ? उनीहरु कुन लेभलका अपराधी हुन् भन्ने उहाँहरुको कदमबाटै थाहा हुन्छ ।

– यसविरुद्ध अदालत जाने सोच्नुभएको छ कि ?

म किन जाने ? म स्रष्टाहरुको न्यायको लागि लडिरहेको छु । स्रष्टाहरुको सामूहिक हितका लागि म मेरो व्यक्तिगत हित त्यागेर आएको हुँ । म मेरो व्यक्तिगत काममा लाग्दै लाग्दिनँ । उहाँहरुले आफ्नो अनुहार उदांगो बनाउनुभएको छ । उहाँहरुले मेरो के बिगार्नुहुन्छ ? जलिसकेको मान्छेलाई खरानी बनाउनेभन्दा बढी के गर्नुहुन्छ ?

– अब संवादबाटै समाधान खोज्ने प्रयास गर्नुहुन्न ?

संवाद हुन्छ । तर, न्यूनतम मान्यता के हो भने हामी कानूनलाई मान्छौं भनेर आउनुपर्‍यो । हामी स्रष्टाको पक्षमा रहेका प्रतिलिपि अधिकारसम्बन्धी सबै प्रावधानहरु मान्छौं, कुनै पनि कानूनभन्दा माथि हामी छैनौं, सभ्य समाजको अंग हौं भनेर आउनुपर्‍यो, त्यसपछि वार्ता हुन्छ ।


प्रतिक्रिया

One thought on “कानूनको मर्यादा नराख्नेलाई ‘तोरी’ भनेको हुँ, सहिद हुन तयार छु: संगीतकार सुरेश अधिकारी

  1. “भन्ने शव्द ठिक छ अरूको सम्पत्ति कि नचालाउ कि चलाय पछि ज्याला दिनुपर्छ नदिनेलाई यो भनाइ ठिक हो ” जो रोयल्टी तिर्न आनाकानी गर्छन् र स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाइरहेका छन्, उनीहरुलाई मैले ‘लुटेरा’ भनेको छु । कानूनको मर्यादा नगर्नेलाई ‘तोरी’ भनेको छु । जसले तपाईंको श्रीसम्पत्ति लुटिरहेका छन्, तपाईंको अधिकार पनि तपाईंसँग छैन भनेर चुनौती दिइरहेका छन्, उनीहरुलाई के तपाईं मिराबाइको भजन सुनाउनुहुन्छ त ? समर्थन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर