सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित – Nepal Press

सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन– गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो ।

सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।

उक्त अवार्ड काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरेका थिए ।

यस अवार्डले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले बताएको छ ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १ सय ९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), १ सय २३ शाखारहित बैंकिङ्ग सेवा र २ सय २० एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्त्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरू सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ ।

‘सम्बन्ध सधैँ भरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर