जुनु दिव्य रानाका दुई कविता – Nepal Press

जुनु दिव्य रानाका दुई कविता

काठमाडौं । हङकङमा रहेकी जुनु दिव्य राना लामो समयदेखि कविता लेखनमा सक्रिय छिन् । उनका विभिन्न साहित्यिक पत्रपत्रिका र वेबसाइटमा फुटकर कविताहरु प्रकाशित छन् ।

उनको ‘रातो नदी’ कविता संग्रह प्रकाशोन्मुख छ । उनै रानाका दुई कविता:

तिम्री आमा

तिम्रो कोमल पाउहरु चुमेर
तिम्रो हत्केला आँसुले पखाल्ने मेरो सपना
निश्चल कलिलो लवजको स्पन्दनले
छाती निचोरिएर हृदयको समुन्द्रमा छचल्किन्छ ।

म एक जननी
ममताको पुकार छचल्किएको
मैले कसलाई देखाऊँ
यो मस्तिष्क नमस्तक बन्छ
आत्मा उद्वेलित हुन्छ ।

म तिम्रो आमा
नजन्मिएको तिमी मेरो रगत हौ
मलाई तिम्रो जन्म कल्पनाले पगाल्छ
गर्भ सुखको कल्पनाले पोल्छ
रातले झस्काउँछ
तब तिमीलाई छातीमा समेट्छु
र मातृत्वको धारा कल्पनामै पिलाउँछु ।

म अद्भूत र भाग्यशाली हुन्छु
जब तिमीलाई काखमा समेटेर
तिम्रो कलिलो स्पर्श महसुस गर्छु
तब अनेक सकस भुल्छु
अनिद्रा र भोक भुल्छु ।

मेरो आत्मामा तिमी जन्मिसकेका छौ
र मेरो प्राणसँगै बाँच्न सुरु गरिसकेका छौ ।

०००

याद र जून

हर साँझ गोधुली आउँदैन
हर रात जून उदाउँदैन ।
हर साँझ रमाउँदैन
हर रात निदाउँदैन ।

तर, तिम्रो याद बोक्ने गोधुली
हरेक साँझ उदाउँछ
तिम्रो कल्पना बोक्ने मधुर जून
हरेक रात उदाउँछ
तिम्रै झझल्को बोकी हर रात जाग्राम बस्छ ।

तिम्रो कल्पनाको गोधुली र जून
साँझको अनि रातको श्रृङ्खला
हरेक साँझ उदाउँछ
हरेक रात उदाउँछ ।

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *