प्रकाश सपुतको दमाई महाराज- गीतमा नयाँ स्वाद, भिडिओमा सन्देश – Nepal Press

प्रकाश सपुतको दमाई महाराज- गीतमा नयाँ स्वाद, भिडिओमा सन्देश

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुत आफ्नो नयाँ सिर्जनाका साथ उपस्थित भएका छन् । उनको पछिल्लो गीत ‘दमाई महाराज’ यूट्युबबाट सार्वजनिक भएको छ ।

त्यसो त यो गीतमात्र नभएर एउटा कथासहितको भिडिओ हो । ‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रुपमा सपुतले यो भिडिओ ल्याएका हुन् । यद्यपि, भिडिओको कथावस्तु र गीतको धार नितान्त फरक छ । सपुतले धर्मलाई केन्द्रमा राखेर भिडिओको निर्माण गरेका छन्, जसमा जातीय भेदभावको परम्परामाथि प्रहार गरिएको छ ।

सपुत एउटा पुराणवाचक पण्डितको भेषमा देखिएका छन् । मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको एउटा सप्ताहमा उनी पुराण भन्न आउँछन् । सप्ताहकै सेटभित्र सबै दृश्य खिचिएको छ । भिडिओको कथालाई बोलमायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान गरिएको छ ।

विगतका भिडिओमा जस्तै सपुतले यसको पनि मेकिङमा निकै खर्च र मेहनत गरेका छन् । गीतका शब्दहरु सपुत आफैंले लेखेका हुन् भने संगीत पनि उनकै हो । गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् । यद्यपि, शान्तिश्रीको हिस्सामा धेरै परेको छैन ।

भिडिओको कथा र निर्देशन पनि सपुतकै रहेको छ । भिडिओमा मोडलद्वय गरिमा शर्मा र गीता ढुंगानाको उपस्थितिले सुनमा सुगन्ध थपेको छ । अञ्जली अधिकारी भने एक झलकमात्रै देखिन्छिन् ।

यो कमर्सियल गीत होइन, यद्यपि दर्शक-स्रोताले रुचाउन सक्छन् । सपुतले सधैं झैं नयाँ स्वाद पस्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर