शिक्षक संघसंगठनप्रति शिक्षकहरुकै प्रश्न- गुणस्तरीय शिक्षाका लागि के काम गरे ? – Nepal Press

शिक्षक संघसंगठनप्रति शिक्षकहरुकै प्रश्न- गुणस्तरीय शिक्षाका लागि के काम गरे ?

डोटी ।‘शिक्षाको गुणस्तर वृद्धि गर्न भाषण गरेरमात्रै हुँदैन, त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ । स्थानीय तहहरुले शिक्षालाई भाषणमा मात्रै हैन, व्यवहारमै प्राथमिकतामा राख्नुपर्छ ।’

डोटीको पद्म पब्लिक मुक्तिनारायण माविका सहायक प्रधानाध्यापक हिक्मतबहादुर शाहीको भनाइ हो यो । उनी स्थानीय तहहरुले विद्यालयको अनुगमनसम्म पनि गर्न नसकेको आरोप लगाउँछन् ।

उनी भन्छन् ‘विद्यालयको वर्तमान अवस्था के हो ? के कुराको कमी छ ? पढाइको अवस्था कस्तो छ भन्ने कुराको अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको हो । तर, विद्यालयको प्रभावकारी अनुगमन नै हुँदैन ।’

उनले स्थानीय तहहरुले विद्यालयका शिक्षक कर्मचारीहरुलाई सम्मान गर्दा कामका आधारमा नभई चाकरी गर्ने, झोला बोक्नेहरुलाई गरिएको बताए ।

‘के हो शिक्षकलाई सम्मान गर्ने आधार ?’, उनी भन्छन् ‘कुनै मापदण्ड बनाएर गर्नुहुन्छ कि अनुहार हेरेर ?’

विद्यालयमा प्रत्यक्ष राजनीति बन्द गर्नुपर्ने बताउँछन् भैरव मावि बाँझककानीका प्रधानाध्यापक तुलाराम रौतेडा ।
‘सरकारले विद्यालयमा प्रत्यक्ष राजनीति गर्दैछ, गुणस्तरीय शिक्षा भएन भनेर शिक्षकलाई दोष लाउँदैछ’, रौतेडा भन्छन्, ‘शिक्षक भर्नादेखि सम्मान गर्नेसम्म हाम्रालाई हैन राम्रालाई छान्नुपर्छ ।’

शिक्षकहरु पनि पेशाप्रति जिम्मेवार नभएर यो समस्या आएको रौतेडाको भनाइ छ ।

शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउँछन् हरिहर मावि तलकोटका शिक्षक योगेन्द्र मल्ल ।
उनी भन्छन्, ‘अभिभावक शिक्षामा जोड दिनुपर्ने देखिन्छ । अभिभावकहरुले छोराछोरीको शिक्षाप्रति चासो नदिएको देखिन्छ ।’

विद्यालयमा बालमैत्री र प्रविधिमैत्री सिकाइ हुनुपर्ने, विद्यालयको अनुगमन सुपरिवेक्षण हुनुपर्ने मल्लको सुझाव छ ।

विद्यालय कुनै पार्टीका कार्यकर्ता पाल्ने कारखाना नभएको पद्म पव्लिक मुक्तिनारायण माविका सहायक प्रधानाध्यापक शाही बताउँछन् । विद्यालयमा स्थानीय तहले राजनीतिक पूर्वाग्रह राख्न नहुने उनी थप्छन् । शाहीले शिक्षकका संगठनहरुले शैक्षिक गुणस्तर सुधारका लागि कहिल्यै बहस छलफल नगरेको आरोप लगाए ।

‘शिक्षकका कुन संगठनले गुणस्तरीय शिक्षाका लागि के काम गरे ?’, शाहीले भने, ‘राजनीति गर्न खोलिएका संगठनहरुले शिक्षाको गुणस्तर सुधार्न सक्दैनन् ।’

दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मत घले शिक्षाको गुणस्तर सुधारमा सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहने बताउँछन् ।

‘हाम्रो विद्यालयको अवस्था कस्तो छ भन्ने कुरा कसलाई सुनाउनु ?’, दियालय सिलगढी नगरपालिकाप्रति संकेत गर्दै उनले भने, ‘भर्खर माध्यमिक तहको पढाइ सुरु गरेका छौं, भौतिक पूर्वाधार छैन ।’

अमरज्योति विद्यालय दिपायलका प्रधानाध्यापक मुकेश भट्टले सामुदायिक र संस्थागत विद्यालय दुश्मन बन्न नहुने बताए । सामुदायिक विद्यालयले पनि प्रतिस्पर्धात्मक क्षमताको वृद्धि गरी संस्थागत र सामुदायिक दुवै विद्यालयले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रविधिका कारण शिक्षकलाई चुनौती थपिएको र शिक्षक जागिरे मानसिकताबाट माथि उठ्नुपर्ने बताए । यसरी शिक्षकले चाहेमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज हुने उनको विश्वास छ ।

दिपायल एकेडेमीका सञ्चालक दीर्घ नेगीले शिक्षाको गुणस्तर सुधारका लागि सामुदायिक र संस्थागत विद्यालयहरुबीच सहकार्य तथा समन्वय हुनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने शिक्षकहरु बताउँछन् ।

‘विद्यालयको अध्यक्ष उपभोक्ता समितिको अध्यक्ष हैन’, सहायक प्रधानाध्यापक शाही भन्छन्, ‘त्यसैले उसले आफूलाई उपभोक्ता समितिको अध्यक्ष ठान्नुहुँदैन ।’

विद्यालयमा शौचालय बनाउनु पर्दा लोभ गर्ने व्यक्ति विद्यालयको अध्यक्ष हुन नसक्ने उनको भनाइ थियो । उनले शिक्षकहरु स्वयंले पनि आफूमा सुधार ल्याउने पर्ने बताए ।

उनले भने, ‘हामी शिक्षकहरु राजनीतिक दलका कार्यकर्ता होइनौं, हामीले हाम्रो आफ्नो जिम्मेवारी छ, त्यो पूरा गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *