संगीतकार सुरेश अधिकारीका गीत रेडियोमा बहिष्कार ! के हो विवाद ? – Nepal Press

संगीतकार सुरेश अधिकारीका गीत रेडियोमा बहिष्कार ! के हो विवाद ?

काठमाडौं । निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले संगीतकार सुरेश अधिकारीलाई बहिष्कार गरेको घोषणा गरेका छन् । उनीहरुले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।

नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (एक्योर्‍याब) द्वारा जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको मागसमेत गरिएको छ । विज्ञप्तिमा आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोर्‍याबका अध्यक्ष अर्जुन गिरीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा सुरेश अधिकारीले फेसबुकमा लेखेको एउटा स्टाटसलाई लिएर आपत्ति जनाइएको छ । उक्त अभिव्यक्ति अत्यन्त अमर्यादित, गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने खालको भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा समाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै पनि अर्थमा सभ्य समाजमा सहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउनेमात्र नभएर सञ्चारमाध्यमसितको सम्बन्धमा समेत दूरी बडाउने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘संगीत रोयल्टी संकलन समाज’ का नाममा राज्यको चौथो अंगका रुपमा स्थापित आमसञ्चार गृहका उपकरणहरुसमेत उठाउने अभिव्यक्ति दिइएको भन्दै विज्ञप्तिमा खेद व्यक्त गरिएको छ र सरकारसँग सुरक्षा माग गरिएको छ ।

‘समाजले एक संगीत सर्जकद्वारा यसरी सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरीतको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

चार दिनअघि संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो ।

उनले लेखेका थिए,

‘आदरणीय स्रष्टाहरु, रेडियोका संघसंस्थाका टाउको भनाउँदा केही लाउकेहरुलाई रोयल्टीलाई अपारदर्शी भयो भन्दैछन् । म भन्दैछु, आजसम्म विनारोयल्टी श्रष्टाहरुको सम्पत्तिमा तिमीहरुले मच्चाएको लुटमार कायमै राख्न तिमीहरुले गरेका प्रपञ्चका खिच्चा राजनीतिलाई हामी चुनौती दिन चाहन्छौं । खिच्चा आरोपको राजनीतिमा नरमाउ, यथार्थको धरातलमा टेक्ने हिम्मत गर ! कोही एकजना स्रष्टा ल्याउ, जो यो भन्न सकोस् कि मैले आफ्ना सिर्जनाको सार्वजनिक प्रयोग भएबापत रोयल्टी पाउन सदस्यता लिएको छु ।

तर, रोयल्टी आएको ठाउँबाट मैले रोयल्टी पाएको छैन । तोरीहरु तिमीहरु जस्तो फूलको माला लगाएर मञ्चमा आसन ग्रहण गर्नमात्रै हामी यो कठिन अभियानमा आएका हैनौं । हामीले तिमीहरु जस्ता हजारौंखाले लुटेरा लाउकेहरुसँग लडेर रोयल्टी ल्याएका छौं र त्यसलाई वास्तविक हकदार स्रष्टासम्म पुर्‍याएका छौं र मात्र यो रोयल्टी अभियानलाई यहाँसम्म ल्याइपुर्‍याएका छौं । श्रष्टाको बौध्दिक सम्पत्ति विनारोयल्टी आफ्नो रेडियोमा बजाएर स्रष्टा मार्ने तिमीहरु हौ, लाउके हो । सङ्गीत रोयल्टी संकलन समाज स्रष्टाको हितको लागि खुलेको हो, स्रष्टा मार्न हैन । अब तिमीहरुसँगको लडाइँ नयाँ बाटोमा जान्छ । नसोच कोही छैन स्रष्टाको लागि लड्ने भनेर ।’

आफ्नो स्टाटसविरुद्ध रेडियो प्रसारकहरुले विज्ञप्ति जारी गरेपछि संगीतकार अधिकारीले त्यसलाई पनि फेसबुकबाटै जवाफ फर्काएका छन् । आफ्नो गीत नबजाउने निर्णयलाई उनले लज्जास्पद र जंगली घोषणाको संज्ञा दिएका छन् ।

आज उनले लेखेको स्टाटस यस्तो छः

नेपाली एफएम रेडियोका हकहितको लागि खुलेका संघसंस्थाको नेतृत्व पदको दुरुपयोग गर्दै एफएम सञ्चालक केही व्यक्तिहरुले हिजो एक विज्ञप्ति निकालेर मसँग जोडिएका गीत–संगीतलाई सबै एफएममा निषेध गरेको काइते आशयको लज्जास्पद, जङ्गली घोषणा गरेछन् । यसरी घोषणा गर्नुको पछाडि जुनसुकै आरोप वा निहुँ तेर्स्याइएको भए तापनि भित्री इबि भने स्रष्टा कलाकारको विगत सोह्र वर्षदेखिको साङ्गीतिक सिर्जना एफएमबाट प्रशारण गरेबापत प्रशारकले कानूनी दायित्वको रुपमा तिर्नुपर्ने स्रष्टाको कीर्तिश्वको विषयको सङ्घर्ष नै हो ।

म उहाँहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु, वर्तमान संविधानको धारा २५ ले संरक्षण गरेको आफ्नो सम्पत्तिमाथि कसैले मच्चाइरहेको लुट र गैरकानूनी बलात उपभोगलाई रमिते बनेर हेरिरहन आजको लोकतान्त्रिक युगको नेपाली आमनागरिकले कसरी सक्छ ? तपाईंहरुको रेडियोमा यदि हाम्रो सिर्जना बजाउनु छ भने सो सामग्री प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ११ बमोजिम हाम्रा उत्पादकहरुको लगानीको मनासिब भुक्तानी गरेर लिनुस्, जब त्यो सामग्री सार्वजनिक प्रशारण गर्नुहुन्छ सोही ऐनको दफा ३९ ले व्यवस्था गरेको निकायमा गएर सोही ऐनको नियमावली २०६१ को नियम १० ले दिएको अधिकार प्रयोग गरी सो निकायले तोकेबमोजिमको मापदण्डअनुरुप रोयल्टी तिर्नुस् । कि त तपाईं त्यसका उत्पादक, प्रकाशक, प्रस्तोता, गीतकार, सङ्गीतकार सबैसँग हरेक सिर्जनाको सोही ऐनको दफा २५ बमोजिमको अनुमति लिएरमात्रै आफ्नो एफएममा प्रशारण गर्नुस् । यो सीधा र स्पष्ट कानूनी मार्ग हो ।

कुनै बहाना, कसैमाथि चोर औंला, कुनै रुवाबासी र कुनै हुलहुज्जत गरेर अरुको सम्पत्ति तपाईं हडप्न वा उपभोग गर्न पाउनुहुन्न । बौध्दिक सम्पत्तिका मालिक हौं हामी, हाम्रो सम्पत्तिमा हाम्रो राज चल्छ । यसको उपभोग गर्न र रोयल्टी तिर्ने बुझाउने आफ्नै विश्वव्यापी विशिष्ट कानूनी व्यवस्था हुन्छ, त्यो नमानी तपाईं हाम्रो सम्पत्ति भोगचलन गर्न पाउनुहुन्न । जसरी हामी अरुको सम्पत्ति गैरकानूनी भोगचलन गर्न पाउँदैनौं । बस, अब कुनै पनि काइते मार्ग चल्दैन । हामी हाम्रो सम्पत्ति कुनै धम्की, दादागिरी वा शक्तिको आडमा लुट्न दिँदैनौं । अटेर गरेर हाम्रो सम्पत्तिमाथि लुटमार कायम राख्नुहुन्छ भने उपरोक्त ऐनको दफा २७ हेरिराख्नुस् ।

र, अन्तमा स्रष्टासँग मेरो एउटै वाक्य ‘तपाईंको सिपाही सहिद हुन्छ, मैदान छोड्दैन ।

संगीतकर्मी र प्रसारकहरुबीच लामो समयदेखि रोयल्टीको विषयमा द्वन्द्व चल्दै आएको छ । आफूहरुको सिर्जनालाई रेडियो-टेलिभिजनहरुले विनारोयल्टी प्रसारण गरेर पैसा कमाउने गरेको गुनासो स्रष्टाहरुले लगाउँदै आएका छन् ।

संगीतकार अधिकारी रोयल्टी संकलन समाजका अध्यक्ष हुन् । उनी तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । रोयल्टी समाजले आमसञ्चार तथा सार्वजनिक स्थानमा गीत बजाएर रोयल्टी नतिर्ने निकायविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिहेको छ । तर, फेसबुकमा छुद्र भाषा प्रयोग गर्दा अधिकारी स्वयम् रेडियोको बहिष्कारमा परेका छन् ।

अधिकारी चलचित्र तथा आधुनिक संगीतमा स्थापित नाम हुन् । उनका सयौं हिट गीतहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर