विश्वविद्यालय पदाधिकारी र राजदूतमा कार्यकर्ता नियुक्ति गरिनुले पार्टीको छवि बिग्रियो : सरिता प्रसाईं – Nepal Press

विश्वविद्यालय पदाधिकारी र राजदूतमा कार्यकर्ता नियुक्ति गरिनुले पार्टीको छवि बिग्रियो : सरिता प्रसाईं

‘उपनिर्वाचनले कांग्रेसलाई सुध्रिन सुझाव दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले पार्टीको केन्द्रीय समितिको बैठक आफ्ना कुराहरु राख्ने ठाउँ भएकाले लाइभ गरिएकोमा आफ्नो असहमति रहेको बताएकी छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी बैठक लाइभ नगर्न पनि सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् । उनले भनिन्, ‘म व्यक्तिगत रुपमा बैठक लाइभ गर्ने कुरामा सहमत छैन । हामीले बाहिर राख्न नसकेको विषय, अन्य पार्टीका विभिन्न कुराहरु निर्मम ढंगले यता छलफल गर्नुपर्ने भएकोले अर्को बैठक लाइभ नगर्न अनुरोध गर्दछु ।’

उनले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्ति गर्दा राजनीतिकरण नगर्न पनि आग्रह गरेकी छन् ।

‘देश बदल्ने मेरुदण्डको रुपमा रहेको शिक्षाले देशको मुहार फेर्छ । त्यस्तो ठाउँमा राजनीतिक मान्छे नियुक्ति गरेर विश्विद्यालयलाई अस्तव्यस्त बनाउनु हुँदैन । विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्तिमा राजनीतिक कार्यकर्ता नियुक्ति गरिएकोले धेरै छवि बिग्रिएको छ’, उनले भनिन्, ‘पार्टीकै मान्छे भए पनि योग्य, क्षमतावान र देशमा योगदान दिन सक्ने मान्छे नियुक्ति गरियोस् भन्न पनि चाहन्छु ।’

प्रसाईंले उपनिर्वाचनमा कांग्रेसले सुध्रिनुपर्ने सुझाव आएको भन्दै त्यसअनुरुप आफूहरुले जानुपर्ने बताइन् ।

त्यस्तै, उनले सभापति देउवाले कांग्रेसले गुमाएको शक्तिलाई पुनः आर्जन गरी सातै प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाएकोमा प्रशंसा गरेकी थिइन् ।

उनले महामन्त्री गगन थापाले पार्टीको सुदृढीकरणका लागि ल्याएको क्यालेण्डर राम्रो भएको बताइन् ।

प्रसाईले भुटानी शरणार्थी प्रकरण, ललिता निवास तथा सुन प्रकरणमा नेपाली कांग्रेसले अनुसन्धानका लागि सहयोग गर्नुपर्ने पनि बताइन् ।

त्यस्तै, कृषकहरुलाई राहत दिन पनि कृषि विशेषज्ञहरुसँग कांग्रेसले छलफल गरेर विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने पनि उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर