विमानस्थल अनुगमनपछि गृहमन्त्रीले भने- लगेज हेर्न भन्सार प्रतिनिधिसँगै प्रहरीलाई समावेश गर्ने तयारीमा छौं (भिडिओ) – Nepal Press

विमानस्थल अनुगमनपछि गृहमन्त्रीले भने- लगेज हेर्न भन्सार प्रतिनिधिसँगै प्रहरीलाई समावेश गर्ने तयारीमा छौं (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने बताए ।

आज विमानस्थलको स्थलगत अनुगमनपछि मन्त्री श्रेष्ठले पत्रकारहरूलाई उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘यसको नेक्सस र रुटमा पुग्ने गरी कारबाहीको प्रक्रियामा जानुपर्छ भन्नेमा प्रधानमन्त्रीको पनि जोड रहेको छ । मैले सम्बन्धित अधिकारीलाई पनि कडा निर्देशन दिएको छु ।’

राजश्व अनुसन्धान विभागले घटनाको छानबिन गर्न समिति बनाएको भन्दै मन्त्री श्रेष्ठले अहिले सबै निकायले यही समितिलाई सघाउने उल्लेख गरे । आवश्यकता परेमा सीआईबी, अपराध अनुसन्धान शाखाजस्ता निकायले पनि अनुसन्धान गर्नसक्ने उनको भनाइ छ ।

विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गर्ने विषयमा सरकारले सोचिरहेको मन्त्री श्रेष्ठले बताए ।

‘हामीले भन्सारका अधिकारीलाई तपाईंहरूलाई प्रहरी चाहिँदैन ? भनेर सोध्यौं । उहाँहरूले प्रहरी भए राम्रै हुन्छ भन्नुभएको छ । हामीले नै मन्त्रिपरिषदको बैठकमा प्रहरीलाई पनि सामेल गर्नुपर्छ भनेर छलफल गरेका छौं । यसबारे छाँडै आवश्यक निर्णय लिइन्छ ।’

एक पत्रकारले मन्त्री श्रेष्ठलाई सुन तस्करीमा तपाईंको पनि नाम मुछिएको छ नि ? भनेर सोधेका थिए ।

मन्त्री श्रेष्ठले यस्तो प्रश्न नगर्न आग्रह गरे ।

‘उत्तर खोज्नुपर्ने स्तरको प्रश्नै होइन यो । यो देशको भ्रष्टाचारविरोधी सुशासनको अभियानलाई कुनै पनि प्रकारबाट असफल पार्ने वा दिग्भ्रमित पार्ने प्रयासबाट विचलित गर्न सक्छु भनेर कसैले नसोचे हुन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *