ललिता निवास प्रकरण : दीप बस्न्यात भारतबाट पक्राउ परेकै हुन् ? के भन्छन्- सीआइबी र इन्टरपोल ? – Nepal Press

ललिता निवास प्रकरण : दीप बस्न्यात भारतबाट पक्राउ परेकै हुन् ? के भन्छन्- सीआइबी र इन्टरपोल ?

काठमाडौं । साउन ३ गते बुधवार साँझदेखि सामाजिक संजालमा खासगरि सत्तारुढ माओवादी केन्द्रका नेता, सांसददेखि कार्यकर्तासम्मको भाइरल पोस्ट आइरहेको छ–ललिता निवास काण्डमा दीप बस्न्यातलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै छ, धन्यवाद प्रचण्ड सरकार ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन माधव नेपाल नेतृत्वको सरकारको निर्णयमा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव रहेका बस्न्यातले प्रस्ताव पेश गरेकाले उनीविरुद्ध सीआइबीले पक्राउ पुर्जी जारी गरेदेखि उनी फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका बस्न्यात भारतको राजधानी दिल्लीबाट पक्राउ परेको मूलधारबाहिरका केही मिडिया र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । के बस्न्यात पक्राउ परेकै हुन् ? उनलाई विदेशी भूमिबाटै समातेर ल्याउन लागिएको हो ?

अहिलेसम्म कुनै आधिकारिक निकायले यसको पुष्टि गरेका छैनन् । मुलुकभन्दा बाहिर प्रायजसो नेपाल प्रहरीको इन्टरपोलमार्फत नै पक्राउ पर्ने गरेका छन् । तर, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको नेपाल प्रहरीको इन्टरपोल शाखाले यसबारेमा अनभिज्ञता जनायो ।

इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुप शमशेर रानाले भने, ‘यसबारेमा इन्टरपोल शाखालाई कुनै पनि जानकारी छैन ।’

सीआइबीको टोलीले दिल्ली पुगेर गुपचुप रूपमा पक्राउ गरेको भए पनि माथिल्लो निकाय आईजीपी र गृहमन्त्रीलाई अवश्य जानकारी दिन्छ । सीआइबीले पनि बस्न्यात पक्राउबारे अनविज्ञता जनाएको छ । सीआइबीका उच्च अधिकारीले बस्न्यात पक्राउ नपरेको बताए ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको सचिवालयले पनि बस्न्यात पक्राउ नपरेको बतायो ।

सचिवालय स्रोतले भन्यो, ‘पक्राउ परेको बारेमा अहिलेसम्म हामीलाई कतैबाट जानकारी आएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *