मिसन एसिया कप : नेपालको ‘बेञ्च स्ट्रेन्थ’ कति बलियो ? – Nepal Press

मिसन एसिया कप : नेपालको ‘बेञ्च स्ट्रेन्थ’ कति बलियो ?

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स एसिया कपमा मिश्रित परिणामसहित नेपालको यात्रा सकिएको छ । नेपालले भारत र पाकिस्तानका टीमसँग हार व्यहोर्‍याे भने यूएईविरुद्ध जीत निकाल्यो ।

सहभागी सबै देशले आफ्नो ‘ए’ टीम खेलाएको यो प्रतियोगितामा नेपालले भने राष्ट्रिय टीम नै पठाएको थियो । तथापि, राष्ट्रिय टीमका केही नियमित र महत्वपूर्ण खेलाडीहरु विभिन्न कारणले अनुपस्थित थिए । नेपालको बेञ्च स्ट्रेन्थ परीक्षण गर्न केही सिनियर खेलाडीलाई रेस्ट दिएर युवा खेलाडीहरु समावेश गरिएकाे थियो ।

नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा टी-२० लिग खेल्न जानुपर्ने भएकाले इमर्जिङ कपमा सहभागी भएनन् । ज्ञानेन्द्र मल्ल र करण केसीलाई क्रिकेट संघले रेस्ट दियो । आरिफ शेखले पनि अन्तिम समयमा आफ्नो नाम झिके । उनीहरुको स्थानमा युवा खेलाडीहरुले मौका पाए । यी खेलाडीहरुको प्रदर्शन कस्तो रह्यो ? के उनीहरुले आगामी एसिया कपमा आफूलाई पाउलान् ?

फास्ट बलिङमा निराशा

नेपाल लामो समयदेखि स्तरीय फास्ट बलरको खोजीमा छ । टीममा सोमपाल कामी र करण केसीले प्रमुख फास्ट बलरको भूमिका निभाउँदै आए पनि उनीहरु फ्लप हुँदा नेपालसँग विकल्प छैन ।

यो प्रतियोगितामा नेपालले करणलाई बेञ्चमा राखेको थियो । अन्तिम खेलमा सोमपाललाई पनि बेञ्चमा राखेर दुई युवा फास्ट बलर प्रतिश जिसी र किशोर महतोलाई मौका दिइयो । तर, उनीहरु दुवैले आशा जगाउन सकेनन् ।

प्रतिश र किशोर दुवैले दुई-दुई वटा म्याचमा मौका पाए । तर, विकेट लिन असफल रहे । पाकिस्तान ‘ए’ विरुद्ध प्रतिशले ४ ओभर बलिङ गर्दा विनाविकेट २६ रन खर्चिए । उनको बलिङमा गतिको अभाव देखियो । आज यूएईविरुद्ध प्रतिशले किफायती बलिङ गरे पनि विकेटको खाता खोल्न सकेनन् । उनले सुरुवाती पाँच ओभर बलिङ गर्दा १८ रन खर्चिएका थिए । स्पिनरहरु चम्किएपछि प्रतिशलाई कप्तानले बलिङमा फर्काएनन् ।

प्रतिशले बरु ब्याटिङमा आत्मविश्वास देखाएका छन् । उनले पाकिस्तानविरुद्धको म्याचमा १०औं नम्बरमा आएर महत्वपूर्ण २६ रन जोडेका थिए । सोमपाल कामी र प्रतिशको साझेदारीले नै नेपाल दयनीय स्थितिबाट माथि उठेको थियो । आज यूएईविरुद्ध पनि अन्तिम दुई बलमा लगातार चौका हान्दै प्रतिशले विनिङ स्कोर बनाए ।

अर्का बलर किशोर महतोले भारत ‘ए’ र यूएई ‘ए’ विरुद्धको खेलमा अवसर पाए । उनको बलिङले पनि नेपाललाई राहत दिएन । भारतविरुद्ध किशोरले ३ ओभर बलिङ गर्दा ३३ रन खर्चिए । यूएईविरुद्ध पनि उनले ३ ओभरमात्रै बलिङ गर्न पाए, जसमा १३ रन खर्चिए । दुवै म्याचमा उनले विकेट लिन सकेनन् ।

यसरी प्रतिश र किशोर दुवैले एसिया कपमा करण र सोमपाललाई प्रतिस्थापन गर्न सक्ने सम्भावना देखाएनन् । यद्यपि बैकल्पिक खेलाडीका रुपमा रहन सक्छन् ।

स्पिनमा अनेक विकल्प

नेपाली राष्ट्रिय टीमको सबैभन्दा बलियो पक्ष भनेको स्पिन बलिङ नै हो । टीममा स्तरीय स्पिनरहरुको कुनै कमी छैन । लामो समयदेखि नेपालको स्पिन आक्रमणको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन् भने पछिल्लो एक वर्षदेखि ललितसिंह राजवंशीको प्रदर्शन पनि सन्दीपको भन्दा कम छैन ।

टीममा स्पिन बलिङ गर्ने अलराउन्डरहरु बग्रेल्ती छन् । दीपेन्द्रसिंह ऐरी १० ओभर बलिङ गर्न सक्ने भरपर्दा स्पिनर हुन् । पार्ट टाइम स्पिनरका रुपमा कुशल मल्ललाई नेपालले प्रयोग गर्दै आएको छ । आजको म्याचमा ६ विकेट लिँदै कुशल भुर्तेलले आफूमा पनि अलराउन्डर क्षमता रहेको उद्घोष गरिदिए । यतिमात्र होइन, स्वयम् कप्तान रोहित पौडेलले पनि पार्ट टाइम स्पिन गर्न सक्छन् ।

यो प्रतियोगितामा सन्दीप र दीपेन्द्र थिएनन् । नेपालले स्पिन बलिङमा पवन सर्राफ र मौसम ढकाललाई ट्राइ गर्‍याे । पवनले केही हदसम्म प्रभावित तुल्याए । उनले तीनवटै खेलमा किफायती बलिङ गरे । यद्यपि, उनको ‘विकेट कलम’ भने त्यति बलियो भएन । पवनले ३ म्याचमा २३ ओभर बलिङ गर्दा ३.३९ को इकोनोमीमा ७८ रनमात्रै खर्चिए । प्रतियोगितामा सर्वाधिक मितव्ययी बलिङ गर्ने बलरहरुको सूचीमा पवन छैटौं नम्बरमा रहेका छन् ।

पाकिस्तानविरुद्धको म्याचमा पवनले पाँच ओभरमा १५ रनमात्रै खर्चेर दुई विकेट लिएका थिए । भारतविरुद्ध पनि उनी सबैभन्दा किफायती बलर बने । अरु सबै बलरहरुले प्रतिओभर ६ भन्दा माथिको दरमा रन चुहाउँदा पवनले ८ ओभरमा ४४ रन खर्चिएका थिए । यूएईविरुद्ध पनि उनले निकै कसिलो बलिङ गरे । उनले १० ओभरमा केवल १९ रन खर्चेर १ विकेट लिएका छन् ।

पवनबाट नेपालले बलिङमा मात्र नभएर ब्याटिङमा पनि आशा गरेको थियो । अझ भन्नुपर्दा बलिङभन्दा बढी ब्याटिङमा आशा गरेको हो । तर, पवनको ब्याट पूरै फ्लप भयो । उनले ३ म्याचमा जोडेको कुल रन हो ७ । ठूला सटहरु खेल्ने क्षमता भएका पवनले ब्याटिङमा निराश बनाए । यद्यपि, उनलाई ‘बैकल्पिक स्पिनर’ का रुपमा नेपालले एसिया कपको स्क्वाडमा समावेश गर्न सक्छ ।

ब्याटिङमा देव र सन्दीपको सम्भावना कति ?

ब्याटिङको कुरा गर्दा नेपालको सेटअप लगभग स्थिर नै छ । टीमका हरेक ब्याट्सम्यानहरुले फरक फरक खेलमा आफूलाई प्रुफ गर्दै आएका छन् । तर, बलिया टीमविरुद्धको खेलमा नेपालको ब्याटिङले अझै आत्मविश्वास देखाउन सकेको छैन ।

यो प्रतियोगितामा भारत र पाकिस्तानका ‘ए’ टीमविरुद्ध नेपालको ब्याटिङ फ्लप भयो । यद्यपि पाकिस्तानविरुद्ध सोमपाल कामी र प्रतिश जिसीले तथा भारतविरुद्ध रोहित पौडेल र गुल्शन झाले नेपाललाई दयनीय स्कोरबाट जोगाए ।

नेपालले यो प्रतियोगितामा केही युवा ब्याट्सम्यानहरुलाई मौका दिएको थियो । ओपनिङमा आसिफ शेख राम्रो लयमा नरहँदा अर्जुन साउदलाई नेपालले परीक्षण गर्न खोजिरहेको छ । तर, उनले आसिफलाई विस्थापित गर्न सक्ने क्षमता प्रस्तुत गरेका छैनन् ।

यो प्रतियोगितामा दुईवटा खेलमा मौका पाएका अर्जुनले खासै प्रभावित तुल्याउन सकेनन् । पाकिस्तान ‘ए’ विरुद्ध उनलाई तेस्रो नम्बरमा खेलाइएको थियो । उनी २० बलमा १७ रन बनाएर आउट भए । भारतविरुद्धको खेलमा उनी टीममा परेनन् । यूएईविरुद्ध ओपनिङमा पठाइएका अर्जुन पहिलो बलमै आउट भए ।

नेपालले उतारेका अन्य दुई ब्याट्सम्यान देव खनाल र सन्दीप जोराले भने धेरथोर प्रभावित बनाएका छन् । नेपालका लागि तेस्रो नम्बरको पोजिसन यतिबेला अस्थिर बन्दै आएको छ । ज्ञानेन्द्र मल्लले फर्म गुमाएसँगै नेपालले तेस्रो नम्बरमा भीम सार्की, कुशल मल्ल, गुल्शन झालगायतलाई एक्सपेरिमेन्ट गर्‍याे । तर, उनीहरु कसैले पनि यो स्थानमा आफ्नो पकड जमाउन सकेका छैनन् । यस्तोमा देव खनाल त्यो स्थानका लागि ‘सुट’ हुन सक्ने खेलाडी हुन् । सकारात्मक अन्दाजमा ब्याटिङ गर्ने र राम्रा स्ट्रोकहरु खेल्न सक्ने क्षमता देवमा छ ।

देवले भारत ‘ए’ र यूएईविरुद्धको खेलमा मौका पाएका थिए । दुवै म्याचमा तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले उल्लेख्य रन बनाउन नसकेपछि केही सुन्दर सटहरु प्रहार गरे । भारतविरुद्ध २१ बलमा तीन चौकासहित १५ रन बनाएर आउट भए भने यूएईविरुद्ध ३८ बलमा ४ चौकासहित २४ रन बनाए । कुशल भुर्तेलसँग देवले गरेको ९८ रनको साझेदारीले नै नेपालको जीत सुनिश्चित गरेको थियो ।

एसिया कपमा तेस्रो स्थानका लागि भीम सार्की र देव खनालको प्रतिस्पर्धा हुन सक्ने देखिन्छ । भीमको ब्याटिङमा स्थिरता भए पनि बढी रक्षात्मक खेल्दा अर्को ब्याट्सम्यानमाथि प्रेसर बढ्ने गरेको छ । देवसँग भने आक्रमण र डिफेन्सको सन्तुलन भएकाले ओडीआईमा उनी बढी प्रभावकारी बन्न सक्छन् ।

यसैगरी मध्यक्रममा सन्दीप जोरा पनि नेपालका लागि एक विकल्प बन्न सक्नेछन् । नेपालको मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको स्थान सुरक्षित छ । तर, छैटौं वा सातौं नम्बरमा आरिफ शेखको स्थानमा नेपालले सन्दीपलाई रोज्नसक्छ । यद्यपि, आरिफ क्रिजमा टिकेर लामो इनिङ खेल्न सक्ने ब्याट्सम्यान हुन् भने सन्दीप आक्रामक अन्दाजमा खेल्न रुचाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर