कांग्रेस बैठकमा संस्थापन स्वर: शेखरलाई धन्यवाद, गगन र विश्वप्रकाशमाथि प्रहार – Nepal Press

कांग्रेस बैठकमा संस्थापन स्वर: शेखरलाई धन्यवाद, गगन र विश्वप्रकाशमाथि प्रहार

बालकृष्ण खाणको बचाउ, कोशीबारे नामकरण र सरकार गठनबारे धारणा माग

काठमाडौं । नेपाली कांग्रेसको एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा नेताहरुको मिश्रित धारणा आइरहेको छ ।

कांग्रेस बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई दबाबमा राख्ने धेरैको अनुमान थियो । तर, बैठकको परिदृश्य फेरियो । देउवाकै प्रस्तावमा कांग्रेसले सम्भवतः नेपालमै पहिलो पटक पार्टीको बैठक लाइभ गरिरहेको छ ।

शीर्ष तहबाट तय भएको कांग्रेसका १० वटा एजेण्डामा अहिले छलफल भइरहेको छ । छलफलमा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । पार्टी बैठकमा एउटा कुरा गर्ने तर बाहिर महामन्त्री थापाले मिडियामा आफू अनुकूल प्रचार गर्ने आरोप लागिरहेको बेलामा देउवाले बैठक लाइभ गर्ने रणनीति अख्तियार गरेको कतिपयको विश्लेषण छ ।

महामन्त्री थापा देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको एजेण्डा जबरजस्त छलफलमा ल्याउने प्रयासमा थिए । तर, अहिले बैठकमा महामन्त्री थापाले प्रस्तुत गरेको एक वर्षे कार्ययोजनामै केन्द्रित भएर छलफल चलिरहेको छ । महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना पनि कार्यान्वयनमा नेताहरुले उत्तिकै आशंका गरेका छन् ।

तर, बैठकमा गगनले स्थापित गराउन खोजेको नेतृत्व परिवर्तनको एजेण्डालाई इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले नै अंगीकार नगरेपछि गगन अप्ठेरोमा परेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केही युवा नेताहरुको मात्रै साथ छ ।

तर, अहिलेसम्म कांग्रेसमा देउवाकै बलियो पकड छ । कांग्रेसमा गुटको अन्त्य गर्न शेखर कोइरालाले महत्वपूर्ण भूमिका खेलेको भन्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले उनलाई धन्यवाद दिए ।

उनले भने, ‘म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु । चुनावपछि उहाँले संयम राजनीति गरेर पार्टीलाई एक ढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ । गुटका कुरा होइन, पार्टी एक ढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’

नेताहरुले अब गुटभन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न दबाब बढाएका छन् । कोइराला १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए । उनी आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्वमा पुग्ने लक्ष्यका साथ अहिले मौन बसेको कतिपयको बुझाइ छ ।
उनले अहिले पार्टी वरिष्ठ नेताको आकांक्षा राखेका छन् । तर, संस्थापन पक्षका नेताहरुले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने बैठकमै माग गरिरहेका छन् ।

गगन-विश्वप्रकाशको विकल्प खोजी

१४औं महाधिवेशनबाट गगन र विश्वप्रकाश युवा नेताहरु विजयी भएर आएपछि पार्टी रुपान्तरणको ठूलो अपेक्षा तल्लो तहका नेता कार्यकर्तासम्म सञ्चार भएको थियो । तर, अहिले महामन्त्रीद्वयमाथि नै नेताहरुले प्रश्न उठाएका छन् । बैठकमा केन्द्रीय सदस्य सीतादेवी देवकोटाले बर्सेनि लाखौं युवाहरू विदेसिएको उल्लेख गर्दै रोक्ने कुनै योजना नल्याएको गुनासो गरिन् ।

‘अहिले बर्सेनि एक लाख विद्यार्थी विदेश गइरहेका छन् । ती युवा विद्यार्थीलाई स्वदेशमै रोकेर यो देशको उन्नतिमा श्रम गराउन कांग्रेससँग योजना हुनुपर्छ । महामन्त्रीज्यूहरूलाई म सोध्न चाहन्छु- हाम्रै विद्यालय, कलेजमा पढाएर यी युवा विद्यार्थीलाई देशमै राख्ने योजना कहाँ छ ?’, उनले प्रश्न गरिन् ।

यस्तै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

उनले भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा आफ्ना धारणाहरू व्यक्त गर्दैगर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन, तथानाम छ । जे पायो त्यही गरिएको छ ।’

यस्तै अर्की केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिइन् । उनले भनिन्, महामन्त्रीद्वयले पनि दायरा फराकिलो बनाउनुपर्छ । जसरी तपाईंहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउँछ, हेक्का राख्नुहोस् ।’

प्रदेश संरचनामा प्रश्न

त्यसो त बैठकमा कांग्रेसका प्रदेश सभापतिहरूले प्रदेश संरचनामाथि प्रश्न उठाए । आफूहरुलाई बाइपास गरेको भन्दै संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको उनीहरुको गुनासो छ ।

बैठकमा मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेश संरचनालाई पार्टीले हेपेको आरोप लगाए । उनले भने, ‘प्रदेश संरचनालाई हेपिएको छ । केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गरिदिए हुन्छ । जिल्लाको नेतृत्व गरेका थियौं, फेरि पनि गर्छौं । प्रदेश कायम हुन्छ भने उसलाई अधिकार दिनुपर्छ । केन्द्रबाटै शासन गर्ने हो ?’

यस्तै गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सभापतिलाई आमन्त्रित सदस्य बनाइएकोमा आपत्ति जनाए ।

उनले भने, ‘केन्द्रका नेता प्रदेशमा जाँदा हामीलाई जानकारी हुँदैन । केन्द्रबाट जिल्लादेखि पालिकासम्म सीधा सम्पर्क हुँदा प्रदेशको औचित्य घटिरहेको छ । त्यसैले केन्द्रबाट शासन बन्द गरियोस् ।’

महामन्त्रीद्वयले बोलाएको पार्टी सभापति भेलाबारे पनि जिल्ला तहमा परिपत्र हुँदा आफूहरूलाई जानकारीसमेत नभएको उनले गुनासो गरे ।

बालकृष्णको बचाउ

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाणको बचाउमा नेताहरु उत्रिएका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टी नेता पक्राउ गर्दा गृहमन्त्रीलाई धन्यवाद दिन गएकोप्रति आलोचना गरिन् ।

उनले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरु गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन । त्यस्तो अभियोग लागेको अमूक पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरु केही बोल्नुहुन्न, उहाँहरुको मुख फुट्दैन । बोली फुट्दैन ।’

यस्तै अर्की केन्द्रीय सदस्य राधा घलेले दोषी सावित नभएसम्म एउटालाई पर्दा पार्टीका अन्य साथीहरुले साथ दिनुपर्ने बताइन् ।

कोशीबारे धारणा माग

यस्तै कांग्रेसको बैठकमा कोशी प्रदेशको नामकरण र सरकार गठनबारे धारणा माग भएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘कोशी प्रदेशको नामकरण र प्रदेश सरकार गठनको विषयमा सबैले सोध्दा नेपाली कांग्रेसले धारणा के हो, भन्न गाह्रो भइरहेको छ ।’

यस्तै कोशी नामकरणको विषयमा कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीको पछि लागेको केन्द्रीय सदस्य केशव बुढाथोकीले आरोप लगाए ।

‘जनताले कोशी नाम स्वीकारेका छैनन् । आज कोही पनि नेता गाउँमा जान सकेको छैन । महामन्त्रीजी प्रतिवेदनमा के छ कोशीबारे ? हामी यत्तिकै झमेलामा बसिराख्छौं सभापतिज्यू ? प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलन सम्बोधन गर्नेतर्फ नलागे कांग्रेस अर्कोपटक चुनावमा नगए पनि हुन्छ’, उनले भने ।


प्रतिक्रिया

One thought on “कांग्रेस बैठकमा संस्थापन स्वर: शेखरलाई धन्यवाद, गगन र विश्वप्रकाशमाथि प्रहार

  1. ओलिले टोपबहादुरको बचाउ गरे भनेर कराउने दलालहरू अहिले सिङ्गो काँग्रेस खाँडको बचाउमा लाग्दा किन चुईक्क बोल्दैनन ? किनकी तिनलाई त जे कुरामा पनि ओलि र एमालेको विरोध गर्नु भनेर लैनचौरले हण्डी बाँडेको छ । दलालले दलाली गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर