बीमा कम्पनीको पूँजी वृद्धि समय सकियो, नपुग्नेलाई के गर्छ प्राधिकरणले ? – Nepal Press

बीमा कम्पनीको पूँजी वृद्धि समय सकियो, नपुग्नेलाई के गर्छ प्राधिकरणले ?

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी बढाउन दिएको समय सकिएको छ । तर पनि कतिपय कम्पनीहरु मर्जमा गएर पनि तोकिएको पूँजी भने पुर्याउन सकेका छैनन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको थियो । यसअघि जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुने व्यवस्था थियो ।

मर्जरमै नगएका तर पूँजी पनि पुर्याउन नसकेका कम्पनीहरुलाई भने के गर्ने भन्ने विषयमा एक साताभित्र निर्णय लिइने प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल प्रेसलाई जानकारी दिए । अहिले मर्जमा नगएका प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी हुन् ।

नेपाल इन्सुरेन्सले भने सम्पत्ति बिक्री गरेर पूँजी पुर्याउने जानकारी प्राधिकरणलाई दिइसकेको छ । यसका लागि सम्पत्ति बिक्रीको सूचना पनि जारी भइसकेको प्राधिकरणले जनाएको छ । यसको चुक्ता पूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । तोकिएको चुुक्ता पूँजी पुर्याउन कम्पनीले १ अर्ब १ करोड रुपैयाँ पूँजी थप्नुुपर्छ । नेपाल इन्स्योरेन्सको वीरगञ्ज लगायतको प्रमुख शहरी क्षेत्रमा रहेका जग्गा बेच्न लागेको हो ।

यता अजोड इन्सुरेन्ससँग मर्जर भाँडिएर एक्लो बनेको प्रभुलाइफ इन्सुरेन्सले पनि अनेक प्रयास गरिरहेको जानकारी दिएको छ । राष्ट्रिय बीमा कम्पनीको हकमा भने सरकारी निकाय भएकाले सरकारसँगै समन्वय गरेर के गर्ने भन्ने यकिन हुने सिलवालले बताए । विदेशी कम्पनीका शाखाको रूपमा सञ्चालित कम्पनी मेट लाइफ, नेशनल र ओरियन्ट इन्स्योरेन्सले भने पूँजी वृद्धि गर्नु पर्दैन ।

प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो । त्यसको लागि पहिलो पटक २०७९ चैत मसान्तसम्मको म्यााद दिइएको थियो । तर, त्यस अवधिमा अधिकांश कम्पनीले तोकिएको चुक्ता पूँजी नपुर्याएपछि फेरि समय थप गरेर असार मसान्तसम्मको म्याद थपिएको थियो । तर, अझै पनि अधिकांश कम्पनीको चुक्ता पूँजी पुगेको छैन ।

मर्जमा गएर चुक्ता पूँजी नपुगेकालाई भने हकप्रद जारी गर्न दिने तयारी भएको छ । प्राधिकरणका अध्यक्ष सिलवालका अनुसार १५ प्रतिशत देखि ४० प्रतिशतसम्म हकप्रद जारी गर्न दिने तयारी छ । उनले भने, ‘मर्जमा नगएकाका पनि १ अर्ब, २ अर्बका कम्पनी छन उनीहरुको पनि संरक्षण सरकारले गर्नुपर्छ ।’

नेपालमा पहिला २० निर्जीवन र १९ जीवन बीमा कम्पनी थिए । मर्जर पश्चात अहिले १५ जीवन र १४ निर्जीवन बीमा कम्पनी भएका छन् । दुई वटा पुनर्बीमा कम्पनीसहित अहिले नेपालका बीमा कम्पनीको संख्या ३१ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर