कपिलवस्तुमा विश्वकै अग्लो बुद्व मूर्ति किन बनाउन चाहन्छन् माधवकुमार नेपाल ? – Nepal Press

कपिलवस्तुमा विश्वकै अग्लो बुद्व मूर्ति किन बनाउन चाहन्छन् माधवकुमार नेपाल ?

रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्ध मूर्ति बनाउन सक्रिय भएका छन् ।

अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बुद्ध मूर्ति पार्क संग्रहालयसहित तयार गुरुयोजनाको प्रारम्भिक अवधारणा प्रस्तुत गरिएको छ । नेपाल आफैं यो सेन्टरका अध्यक्ष हुन् ।

सेन्टरले यो विषयमा काठमाडौंमा छलफल आयोजना गरेर कार्ययोजनासमेत बनाएको हो । नेपालको तर्फबाट जग्गा प्राप्तिको प्रक्रिया समयमा टुंगिएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ वर्षमा २४५ मिटर अग्लो बुद्ध मूर्तिसहितको पार्क बन्ने कार्ययोजना तय गरिएको सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवर्डले बताए ।

बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुमा संसारकै अग्लो बुद्धमूर्ति निर्माणले विश्वमा नयाँ कीर्तिमान कायम गर्ने पूर्वप्रधानमन्त्री माधव नेपालले बताए । उनले यो सम्पन्न गर्न सकिएमा नेपाल सगरमाथाले मात्र हैन बुद्धको संसारकै अग्लो बुद्ध मूर्तिले पनि चिनिने बताए ।

कार्यक्रममा चिनियाँ मास्टर से डे युनले उक्त परियोजनाका लागि स्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए ।

कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनी मलेसिया र टीआईडीए कन्स्ट«क्सन चाइनाबीच कार्य सम्झौता पनि गरिएको छ ।

कार्यक्रममा कपिलवस्तुका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, कपिलवस्तुका मेयर सुदीप पौडेलसहितको टोली पुगेको थियो ।

२०७९ चैत ३ गते कपिलवस्तु नगरपालिका क्षेत्रभित्र २४५ मिटर अग्लो मूर्ति निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले हस्ताक्षर गरेका थिए ।

मेयर पौडेलले यो क्षेत्रकै नमुना योजना भएकाले जतिसक्दो छिटो जग्गा व्यवस्थापन गर्न योजना बनाइएको र वडा नं ६ र ९ मा पर्ने नदी उकास क्षेत्रको करिब ५० बिगा जग्गा पहिलो चरणमा हेरिएकाले त्यही नै छनोट हुनसक्ने बताए ।

नेता नेपालले कपिलवस्तुमा पहिलेदेखि नै केही लगानी गर्न खोजिरहेका थिए । वाणगंगाको कपिलधाममा केही वर्षअघि उनका पिता मंगलप्रसाद उपाध्यायको सालिक बनाएर राखेका छन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा नेकपा एसका नेता सिद्धिचरण भट्टराईले नेता नेपालले पहिलेदेखि नै कपिलवस्तु र बुद्धका विषयमा धेरै चासो र अध्ययन गरेको र पुरानो पारिवारिक सम्बन्ध पनि भएकाले विशेष ध्यान दिएको हुनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *