केयू कथा: वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको र मेडिकल सम्बन्धनमा गिरिजाको दबाब !
![](https://www.nepalpress.com/wp-content/uploads/2023/07/suresh-raj-sharma-book-riview.jpg)
काठमाडौं । नेपालमा सबैभन्दा राम्रो ‘गुडविल’ भएको विश्वविद्यालय हो काठमाडौं विश्वविद्यालय (केयू) । केयूका पायोनियर हुन् सुरेशराज शर्मा । उनै शर्माले विश्वविद्यालय स्थापनाको इतिहासको कथा किताब बजारमा ल्याएका छन् । ‘अ जर्नी अपहिलः दि मेकिङ अफ काठमाडौं युनिभर्सिटी’को नाममा बजारमा आएको पुस्तक केयूले नै प्रकाशन गरेको हो ।
सन् १९६४ मा भारतको कर्नाटका विश्वविद्यालयबाट शर्माले रसायनशास्त्रमा स्नातकोत्तर गर्दा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय भर्खर वामे सर्दै थियो । त्यो बेला शर्माले आफैं कुन दिन अर्को एक नामी विश्वविद्यालयको संस्थापक हुने कल्पना गरेका थिएनन् । त्रिभुवन विश्वविद्यालयमा लेक्चररको रुपमा सन् १९६४ मा प्रवेश गरेका शर्मा सन् १९८० मा प्राध्यापक भए ।
बेलायतको लण्डन साउथ बैंक विश्वविद्यालयबाट विरुवा रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्माले नेपालको शिक्षा क्षेत्रमा शिक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव भएर काम गरेका छन् । सीटीईभीटीदेखि धरानको केन्द्रीय प्रविधि क्याम्पस स्थापनामा पनि उनको उत्तिकै सक्रिय योगदान छ । शर्माले हालसम्म १५ पुस्तक लेखेका छन् । सबैभन्दा कान्छो पुस्तक यही विश्वविद्यालयको इतिहास कथाको हो ।
पुस्तकमा उनले विश्वविद्यालय स्थापनाको सोचाइ, आर्थिक जोहोदेखि विभिन्न कथाहरु समेटेका छन् । पञ्चायतकालमा विश्वविद्यालय स्थापनाको काम थालनी भएर बहुदलमा कार्यान्वयन भएको थियो । पञ्चायत, कांग्रेसदेखि पहिलो नेपाली कम्युनिष्ट सरकार सबैसँग जोडिएर स्थापना भएको केयू इतिहासका तीतामीठा कथाहरु शर्माले आफ्नो पुस्तकमा इमानदारीपूर्वक अटाएका छन् ।
काठमाडौं भ्याली क्याम्पसबाट जग बसेको केयू
केयू स्थापनामा सुरेशराज शर्मा, डाक्टर सीताराम अधिकारी, भद्रमान तुलाधर र रमेशनाथ ढुंगेल मिलेर नयाँ विश्वविद्यालय खोल्ने योजना बनाए । नेपालका विद्यार्थीहरु प्राविधिक तथा गुणस्तरीय उच्च शिक्षा लिन भारत, सोभियत संघ, बंगलादेश र फिलिपिन्स आदि देश जाने प्रचलन रोक्न नयाँ विश्वविद्यालय स्थापनाको सोच ल्याइएको थियो ।
काठमाडौं भ्याली क्याम्पसको १२० कोटामा भर्ना गर्न सोर्सफोर्स धेरै आयो । यस्तै आउने क्रममा तत्कालीन धुलिखेलका मेयर बेलप्रसाद श्रेष्ठ तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टकहाँ पुगे । विष्टले काठमाडौंमा आएर कोटा माग्नुभन्दा विश्वविद्यालय नै धुलिखेलमा स्थापना गर्न सुझाए । यसमा उनले शर्मालाई पनि मनाए ।
सन् १९८५ तिर एक राम्रो क्याम्पस खोल्ने, त्यसबाट राम्रो छाप छोडेर क्रमशः विश्वविद्यालय खोल्ने योजनामा यो टीम लाग्यो । सन् १९८५ को सेप्टेम्बरमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएर काठमाडौं भ्याली क्याम्पस स्थापना भयो । इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको हातामा बिहान ६ देखि १० बजेसम्म कक्षा सञ्चालन हुने गरी क्याम्पस स्थापना भयो ।
प्रारम्भिक दिनमा १२० कोटामा ९७ जनामात्रै भर्ना भएको क्याम्पसले पछिल्ला दिनहरुमा धेरै ख्याति पायो । १२० कोटाका लागि हजार आवेदन आउन थाल्यो । देशका प्रधानमन्त्री, सभामुखदेखि प्रधानसेनापतिसम्मका लब्ध प्रतिष्ठित सबैले आफ्ना छोराछोरीलाई काठमाडौं भ्याली क्याम्पसमा पढाउन थाले । क्याम्पसमा शर्माको काम सरकारी निकाय र विश्वविद्यालयसँग समन्वय गर्ने थियो । अधिकारीको शैक्षिक कार्यक्रमको नेतृत्व र ढुंगेलको आर्थिक व्यवस्थापन तथा तुलाधरको दैनिक प्रशासन हेर्ने थियो । इञ्जिनियरिङ अध्ययन संस्थानका पुल्चोक क्याम्पस प्रमुखलाई सन् १९८८ को होलीमा काठमाडौं भ्याली क्याम्पसका विद्यार्थीले हानेको लोला लागेपछि भने हाता खालीको उर्दी आएको थियो । तत्कालीन भारतीय नाकाबन्दीले गर्दा भएको बन्दले अर्को स्थान खोज्न सहज भएको भन्दै शर्माले कमलमणि दीक्षित व्यवस्थापन समिति अध्यक्ष भएको मदन स्मारक कन्या हाई स्कुलमा २४० विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको उल्लेख गरेका छन् ।
विश्व सम्पदा क्षेत्रको कारणले गुमेको चाँगुनारायण र अन्तिममा पाएको धुलिखेल
केयूको मुख्यालय चाँगुनारायण क्षेत्रमा बन्ने पक्कापक्की भएको थियो । भक्तपुर जिल्ला पञ्चायतका तत्कालीन प्रधान पञ्च गणेशबहादुर खत्रीले तीन क्षेत्र देखाए । अहिले ठिमीमा बनेको क्षयरोग निवारण केन्द्र भएको क्षेत्र, नलिञ्चोक र चाँगुनारायण देखाए । शर्माको टोलीले चाँगुनारायण क्षेत्र मन परायो । सुरुमा ९७ रोपनी जग्गा पाउने र पछि थप ४० रोपनी पाउने आश्वासन पायो । डेनिस आर्किटेक्ट निल्स एक्सेलले नक्सांकन पनि गरे । गुरुयोजनाअनुसार एक हजार २०० सम्म विद्यार्थी अटाउने गरी तयारी गरियो । अचानक पुरातत्व विभागले एक पत्र पठाएर जंगल क्षेत्र भएको तथा विश्व सम्पदा क्षेत्र भएको भन्दै क्याम्पस बन्न नदिने भन्यो । शर्मालगायतको टोलीले राजा वीरेन्द्रसँग गुहारे । वीरेन्द्रले पनि नयाँ ठाउँ खोज्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए । यसरी चाँगुनारायण क्षेत्रको सम्भावना टर्यो ।
काठमाडौं भ्याली क्याम्पसको १२० कोटामा भर्ना गर्न सोर्सफोर्स धेरै आयो । यस्तै आउने क्रममा तत्कालीन धुलिखेलका मेयर बेलप्रसाद श्रेष्ठ तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टकहाँ पुगे । विष्टले काठमाडौंमा आएर कोटा माग्नुभन्दा विश्वविद्यालय नै धुलिखेलमा स्थापना गर्न सुझाए । यसमा उनले शर्मालाई पनि मनाए । र, धुलिखेलमा विश्वविद्यालय बन्ने बाटो खुल्यो । शर्माको टोलीले जग्गा हेरेर मन परायो । जग्गा २०० रोपनी हुनुपर्ने, अरनिको राजमार्गबाट आठ मिटरको बाटो हुनुपर्ने साथै बिजुली र खानेपानीको राम्रो व्यवस्थापन हुनुपर्नेलगायतका माग विश्वविद्यालय टोलीको भयो । धुलिखेलका मेयर श्रेष्ठले सहमति जनाए । जग्गा पाएपछि भवन बनाउने क्रममा ५० हाराहारी नेपाली सेनाका जवानले योगदान गरे । जग्गा प्राप्तिमा धुलिखेल, बनेपा र पनौती सबै क्षेत्रका स्थानीयले धेरै सहयोग गरेको शर्माले उल्लेख गरेका छन् ।
केयू स्थापना भएपछि नाम फेर्नदेखि मेडिकल सम्बन्धन दिन धेरै दबाब आएको शर्माले खुलाएका छन् । राजा वीरेन्द्रको २५औं राज्याभिषेकको अवसरमा केयूको नाम वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको दबाब आएको शर्माले लेखेका छन् । तर, नाम फेर्दा गलत अर्थ लाग्ने भन्दै त्यो दबाब सामना गरिएको शर्माले लेखेका छन् ।
शान्त क्षेत्र र उत्तरी आकर्षक हिमाली र महाभारत लहरहरु देखिने विश्वविद्यालयको अवस्थिति धेरैले मन पराएको शर्माले लेखेका छन् । नोबेल पुरस्कार विजेताहरु प्राध्यापक टिवाई लि र डाक्टर इलिनोर बस्ट्रोनदेखि भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामसम्मले तारिफ गरेको शर्माले उल्लेख गरेका छन् ।
केयूलाई काठमाडौं फ्लाटको चाबी दिएर भैरहवा सर्ने रणबहादुर शाह
केयू स्थापनामा धेरै सहयोगी मनहरुको हात भएको शर्माले पुस्तकमा खुलाएका छन् । सबैभन्दा रोचक कथा चैं रणबहादुर शाहको छ । राष्ट्रिय पञ्चायत सदस्य शाहले पुस्तकालय भवन बनाउन सुरुमा पाँच लाख र पछि २५ लाख दिए । त्यत्तिमात्रै होइन उनले परिवारको विमति हुँदाहुँदै काठमाडौंको लाजिम्पाटमा रहेको आफ्नो सात रोपनी क्षेत्रफलमा फैलिएको अम्बिका निवास केयूलाई दिएर भैरहवा सरे । केयूको सन् १९९१ मा सम्बन्धन पाएपछिको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कुलपति तथा शर्मा उपकुलपति भएको बैठक पनि त्यही निवासमा बसेको शर्माले लेखेका छन् ।
शाहबाहेक मोहनगोपाल खेतान, गोपाल राजभण्डारी, जुद्धबहादुर श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स, प्याब्सन, बनेपा नगरपालिका, पद्म सःमिल, संकटा प्रिन्टिङ प्रेस, नेपाल आयल निगम, नेपाल फर्माक्युटिल ल्याबोराटरी प्रालिलगायत थुप्रै नेपाली व्यक्ति तथा संस्थाले सहयोग गरेको शर्माले लेखेका छन् ।
विदेशीहरुले पनि विश्वविद्यालयको पुर्वाधार, जनशक्तिदेखि शैक्षिक कार्यक्रममा सहयोग गरेको एकएक जानकारी शर्माले पुस्तकमा अटाएका छन् । जापानी कलाकार यामाजी फुमिकोले भवन बनाउन सहयोग गरिन् । उनकै नाममा राखिएको भवन नै केयूमा पूरा भएको प्रथम भवन थियो । उक्त भवन सन् १९९४ मा उद्घाटन भएको थियो । जापानी नागरिक फुमिकोबाहेक व्यक्तिगत तवरमा सहयोग गर्नेहरुमा युलेन्स स्कुलका संस्थापक स्विस नागरिक गुइ युलेन्स, अस्ट्रेलियाली नागरिक हुस्को नेज्मान, बेलायती नागरिक जोन आइडेन फ्रान्स वार्लो, स्विस नागरिक जिन क्लाउड ब्याडोक्स, भारतीय नागरिक डाक्टर बी सुब्बा राओलगायतका प्रमुख सहयोगी भएको शर्माले लेखेका छन् ।
केयूलाई मेडिकल शिक्षाको लागि सम्बन्धन दिन तत्कालीन कुलपति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजनीतिक दबाब दिएको शर्माले लेखेका छन् । तर, त्यो दबाब कुन कुन कलेजका लागि थिए, दबाब कसरी झेलेको थियो र परिणाम के आयो भन्नेबारे शर्माले केही खुलाएका छैनन् ।
संस्थागत रुपमा भने युनाइटेड मिसन टु नेपाल, स्विस एजेन्सी फर डिभेलपमेन्ट एण्ड कोअपरेसन, फोर्ड फाउण्डेसन, डेनिस दूतावासलगायतले मन खोलेर सहयोग गरेको शर्माले लेखेका छन् । नेपाल सरकारको तर्फबाट सबैभन्दा ठूलो आर्थिक सहयोग मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा आएको शर्माले लेखेका छन् ।
वीरेन्द्र विश्वविद्यालय बनाउनेदेखि मेडिकल सम्बन्धन दिन दबाब
केयू स्थापना भएपछि नाम फेर्नदेखि मेडिकल सम्बन्धन दिन धेरै दबाब आएको शर्माले खुलाएका छन् । राजा वीरेन्द्रको २५औं राज्याभिषेकको अवसरमा केयूको नाम वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको दबाब आएको शर्माले लेखेका छन् । तर, नाम फेर्दा गलत अर्थ लाग्ने भन्दै त्यो दबाब सामना गरिएको शर्माले लेखेका छन् । काठमाडौं नाम हुँदा काठमाडौं उपत्यका जता रहे पनि अर्थ हुने र विश्वभर काठमाडौं चिनिएको नाम भएकाले राखिएको शर्माले लेखेका छन् ।
यस्तै केयूलाई मेडिकल शिक्षाको लागि सम्बन्धन दिन तत्कालीन कुलपति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजनीतिक दबाब दिएको शर्माले लेखेका छन् । तर, त्यो दबाब कुन कुन कलेजका लागि थिए, दबाब कसरी झेलेको थियो र परिणाम के आयो भन्नेबारे शर्माले केही खुलाएका छैनन् । यद्यपि ४० लाखभन्दा धेरै रकम सहयोग गरेका दाता गोपाल राजभण्डारीले एक दन्त कलेजको सम्बन्धन माग गर्दा भने उनलाई मनाएर त्रिभुवन विश्वविद्यालयमा लिन पठाएको शर्माले लेखेका छन् ।
केयूको लक्ष्यः एसियाका सय र विश्वका पाँच सय उत्कृष्ट विश्वविद्यालयको सूचीभित्र पर्ने
हालसम्म केयूमा ५० बढी देशका झन्डै पाँच हजार विदेशी विद्यार्थीहरुले पढेको तथ्यांक शर्माले दिएका छन् । यस्तै विश्वविद्यालयबाट झन्डै ४० हजार नेपाली विद्यार्थीहरुले पढेको भन्दै शर्माले केयू भविष्यमा एसियाका उत्कृष्ट १०० र विश्वका उत्कृष्ट ५०० विश्वविद्यालयको सूचीमा दरिने लक्ष्य भएको उल्लेख गरेका छन् । विश्वविद्यालयको थप बलियो उपस्थिति बनाउन एक शक्तिशाली बोर्ड अफ ट्रस्टी बनाएर विश्वविद्यालयलाई स्वायत्तता दिनुपर्ने बताउँदै शर्माले केयूलाई आगामी दुईतीन दशकमा विश्वस्तरीय बनाउन हरेक वर्ष पाँच हजार विद्यार्थी भर्ना, खोजमूलक आवासीय कक्षाहरुदेखि वर्षको तीन अर्ब लगानी आवश्यक भएको बताएका छन् ।